काठमाडौं: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका छन्। अनेरास्ववियुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् फागुन २ देखि ४ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा महाधिवेशन हुने गरी सबै तयारी पुरा भएको जानकारी गराएको हो। यसका लागि संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षामा रहेको मुल व्यवस्थापन समिती र विभिन्न उपसमितिमार्फत् तयारीको काम अघि बढेको जनाइएको छ। महाधिवेशनमा देशभरका ७७ जिल्लाका मावि कमिटी, पालिका कमिटी र जिल्ला कमिटीको प्रतिनिधित्व हुने गरी जिल्ला तहका सम्पूर्ण कमिटी, आठ वटा विश्वविद्यालय राष्ट्रिय कमिटी, सीटीईभीटी राष्ट्रिय कमिटी र क्लब गरेर ११ वटा विश्वविद्यालयको प्रतिनिधित्व हुने जनाइएको छ। यसैगरी, स्ववियु निर्वाचन हुने ४४१ वटा क्याम्पस कमिटी, विषेश प्रदेश सहित आठ वटा प्रदेश कमिटी, सात वटा भौगोलिक प्रदेश सम्पर्क कमिटी, छ वटा केन्द्रीय सम्पर्क कमिटी र केन्द्रीय कमिटीमा रहेका सम्पूर्ण सदस्य रहेको आयोजक कमिटीसहित विभिन्न कमिटीको प्रतिनिधित्व हुने गरी समावेसी र समानुपातिक हिसाबले सबै प्रतिनिधिको छनोट सर्वसहमतिले भएको छ। अनेरास्ववियुको नीति तथा विधान सन्दर्भमा असोज १ र २ गते काठमाडौंमा देशभरका ८६० प्रतिनिधिको उपस्थितिमा विधान महाधिवेशन चलेको थियो। महाधिवेशनलबाट आगामी एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित हुनेछन्। करिब सात वर्षपछि अनेरास्ववियुको महाधिवेशन सम्पन्न हुन गइरहेको हो।
काठमाडौं :संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रीमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्। महाशिवरात्रीको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै मन्त्री किरातीले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन्। आज “स्वच्छ पशुपति,सफा पशुपति”भन्ने नाराका साथ सुरु भएको सरसफाइ अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा–छुट्टै ‘डस्टिबिन’राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए। उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिएका छन्। पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ । महाशिवरात्री नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रङरोगन,मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए। यो वर्ष फागुन ६ गते महाशिवरात्री परेको छ।
काठमाडौं : सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ परिमार्जन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सावरीका क्रममा चिकित्सक घाइते भएपछि सरकार र चिकित्सकका प्रतिनिधिबीचको वार्ताबाट सरकार ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’परिमार्जन गर्न सहमत भएको हो । विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था,विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन हुने भएको हो । त्यसका लागि सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ । यस्तै,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित )ऐन,२०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने साथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने सहमति पत्रमा उल्लेख छ । सिंहदवारमा आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे,स्वास्थ्यमन्त्रालयका सचिव डा. रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह सहभागी थिए । यस्तै,चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, महासचिव डा बद्री रिजाल, ट्रमासेन्टरका निर्देशक डा. रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी थिए । राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक वरिष्ठ अर्थोपेडिक सर्जन डा.जुनीथलाल सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चिकित्सक आन्दोलनमा उत्रिएपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार भएको हो। भीआईपी आवतजावतमा सर्वसाधारण निकै मारमा पर्ने गरेका छन् । आवतजावत नै अवरुद्ध हुने गरी भीआइपी सवारी हुने गरेपछि त्यसको मारमा आमसर्वसाधारण पर्ने गरेका हुन्।
काठमाडौं: नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौँ झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारहरूको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो। मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भन्नुभयो, “विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीज्यूले चासो राख्दै हेल्पडेस्क राख्न भन्नुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि हामीले आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौँ। सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेसागत हकहित, सुरक्षा र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ। निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने छौँ।” विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्कको व्यवस्थासम्बन्धी माघ २५ गतेको निर्णयमा भनिएको छ, “विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्न तथा समस्या समाधानमा थप सहजीकरण गर्नका लागि विदेशस्थित सबै नेपाली नियोगमा श्रमिकका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा प्रतिवेदन गर्न सबै नियोगहरूमा श्रम डेस्क स्थापना गर्ने सम्बन्धमा यही मिति २०७९।१०।२५ गते सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको छ। त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै “डेडिकेटेड फोकल प्वाइन्ट” तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ। यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ।”
काठमाडौं: सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता ६ बुँदे सहमतिपछि टुंगिएको छ । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।
म्याग्दी: म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमवार भोलिदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा गाडी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आउँदो फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ बजेर ३० मिनेटदेखि १ बजेर ३० मिनेटसम्म र राति ८ बजेर ३० मिनेटदेखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिनुभयो । एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई सहज आवतजावत र साना गाडी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाइएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले बेनी–जोमसोम(कोरला सडक आयोजनामार्फत् प्रशासनमा समयतालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाले दुई किलोमिटर एक सय दुई मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मङ्गलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार चार सय ३६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । पचासी जना मजदुरका साथै तीनवटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा आठ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । बेनी नगरपालिकाको ८, ६ र ९ नं वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको यो सडक २०५३ सालमा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशबिन्दु हो । चारदेखि छ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।
पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए। यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन् । संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चयन भएका हुन् ।
पोखरा: गण्डकी प्रदेशका कृषि उर्जा तथा जलश्रोत मन्त्री बेद वहादुर गुरुङले बास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागी प्रदेश सरकारले निती बनाएर अगाडि वढ्ने वताएका छन । गण्डकी प्रदेशका किसानहरुको संरक्षणका लागि संघ र स्थानीय तह संग समन्वय गरेर अगाडि वढ्ने उनको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा वताएका हुन । मन्त्री गुरुङले किसानहरुको संरक्षणका लागि प्रदेश सरकारको मुख्यमन्त्री सहित सिंगो मन्त्रीपरिषदको ध्यान केन्द्रीत भएको समेत वताए । किसानहरुले बजारमा भाउ पाउन नसक्नुको मुख्य कारण बजार नियन्त्रण गर्ने संयन्त्र निर्माण हुन नसक्नु रहेको वताउदै त्यसका लागी छिट्टै संयन्त्र निर्माण गरी अगाडि वढ्ने उनको भनाइ रहेको थियो । खुल्ला नाकाका कारण स्थानिय उत्पादनले भाउ पाउन नसकेको वताउदै गण्डकी प्रदेश मासु र दुधमा आत्मनिर्भर भनिएको भएतापनि बाहिरी उत्पादन संग प्रतिस्पर्धा गर्न नसक्दा आफ्नो उत्पादनले बजार नपाएको र नाकामा बाहिरबाट उत्पादन भएको बस्तु रोक्नलाई संविधानमा उल्लेख नभएकाले यसबारेमा आफुले मुद्धा उठाएर गण्डकी प्रदेशको मुख्य नाका पाल्पा र आंबुखैरेनीमा चेकपोष्टको ब्यवस्था गरी कृषक र उत्पादनलाई संरक्षण गर्ने गरी विष्तृत अध्ययन गर्ने समेत वताए । संघ, प्रदेश र स्थानिय तहबीच समन्वय र सहकार्य भनिएतापनि त्यसअनुरुप हुन नसक्दा कर्मचारी दरबन्दी पुरा हुन नसकेको वताउदै मन्त्री गुरुङले कृषि अनुदानबाट कृषकहरुले राहत पाउन नसकेको र त्यसलाई परिवर्तन गरेर अगाडि वढ्ने उनको भनाइ रहेको थियो । कृषि उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले कृषि अनुदानको मोडालिटि परिवर्तन गर्न आफुहरु लागिरहेको वताए । कर्मचारी दरवन्दी ठुलो समस्याको रुपमा आउनुको मुख्य कारण प्रदेश नियमावली आउन नसक्नु भएको वताउदै हुमागाइले कर्मचारी दरबन्दीका लागि प्रदेश लोक सेवा आयोगले काम गर्न नसकेको र फागुन भित्र यसको किनारा लाग्ने उनको भनाइ रहेको थियो । त्यसैगरी स्थानिय तहको पदपूर्ति प्रदेश सरकारको बसमा नरहेकाले यसलाई विधि बनाएर अगाडि वढाउन आवश्यक रहेको समेत वताए । दुरदराजका तहहरुमा दरवन्दी पूर्ती गर्न नसकिरहरदा प्राविधिक सेवालाई गाउगाउमा पुर्याउन नसक्दा समयमा रोगको पहिचान गराउन नसकेकै कारण रोगको न्युनिकरण भन्दापनि नया रोगहरु चुनौतीको रुपमा आइरहेको समेत उनको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय अध्यक्ष डाक्टर शितलकाजी श्रेष्ठले कर्मचारी दरबन्दी तोकिएको भएतापनि कर्मचारी अभावका कारण कृषि र पशुपालनको क्षेत्रमा उल्लेख्य परिवर्तन हुन नसकेको वताउदै प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । कृषि प्रधान देश भनिएतापनि तीन तहको सरकारले पांच वर्ष विताइसक्दापनि यसबारेमा कुनैपनि सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो रहेको थियो । नेपाल ह्याचरि संघ गण्डकीका अध्यक्ष मोति प्रसाद पौडेलले खुल्ला सिमाका कारण बास्तबिक किसानको उत्पादनले बजारमा मुल्य नपाएको वताउदै यस्तै प्रकृया अगाडि बढे कृषकहरुले पनि आत्मदाह गर्ने अवस्था आउने वताए । त्यसैगरी बास्तबिक किसानहरुले भन्दापनि नया किसानहरुलाई मात्र सरकारले कृषि अनुदान दिइरहेकाले बास्तबिक किसानहरु मारमा परिरहेको र बास्तबिक किसानहरु अझैपनि अनुदानको बारेमा अनविज्ञ रहेको उनको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डाक्टर केदार राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. प्रेरणा सेढाई भट्टराई र पशु चिकित्सक डा. राजेश चौधरीले एशोसिएसनले गरेको कार्यप्रगति चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिएभने कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. शोभा शर्माले स्वागत मन्तब्य राखेकी थिइनभने कार्यक्रमको सञ्चालन डाक्टर सोनिया गुरुङले गरेकी थिइन ।
काठमाडौं: प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । आफ्ना आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंह लगायत अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले भोलि देशभरका सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको सुरक्षाका नाममा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्नु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन र बिरामीको जीवनसँगको खेलबाड भएको चिकित्सक संघले जनाएको छ । लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीको नाममा घण्टौँ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्ने जस्ता कार्य न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ । सरकारी लापरबाहीको विरोध र भीभीआईपीको सुरक्षाको नाममा नागरिकलाई दुख नदिन माग गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले जनाएको छ । यस कदमबाट नागरिकलाई पर्न गरेको अप्ठेरोप्रति क्षमा माग्दै चिकित्सक संघले यो अवस्थाको जिम्मेवार सरकार नै भएको पनि दाबी गरेको छ ।

