काठमाडौं : आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । कीर्तिपुर खेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो । यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्याण्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षणमा नेपाललले पहिलो पटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियामाथि दुई विकेटले पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको हो । लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र आठ खेलमा हार बेहोरेको छ । स्कटल्याड ४८ अङ्कका साथ शिर्ष स्थानम छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी कूल तीन खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्षस्थानमा रहनेछ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् । त्यस्तै लिग–२ मा नेपालले अब ११ खेल्न बाँकी छ । २५ खेलमा नौ मा जित र १४ खेलमा मा हार बेहोरेको नेपाल २० अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । एकदिवशीय मान्यता पाएका विभिन्न सात एशोसिएट राष्ट सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवशीय मान्यता बनाई रहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ । नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवशीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ । यसैगरी लिग २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्कका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अङ्कका साथ पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अङ्क जोड्दै अन्तिम स्थानमा छ ।
पोखरा: नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुुन्छ पात्रो हेरेर भन्न नसक्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले यस्तो बताएका हुन् । ‘पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ भन्ने प्रश्न समर्ग पोखरेली र गण्डकी प्रदेशका जनताको प्रश्न हो, मन्त्री किराँतीले भने, ‘आजको मितिदेखि अझ तिव्र रुपले नागरिक उड्डयन प्राधिकरणसँग छलफल र परामर्श गरेर यो विषयमा अगाडी बढ्छौं, पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिन ।’ पोखरा विमानस्थलबाट कहिले अन्र्तराष्ट्रिय उडान हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफुले पात्रो हेरेर भन्न नसक्ने प्रतिक्रिया दिएका छन् । ‘पोखरा विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न अत्याधिक प्रयास भएको छ, यथासक्य छिटो हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’ उनले भने । माघ १ गते पोखराको सेती खोँचमा भएको यती विमान दुर्घटनाले देश र मन्त्रालय शोकमा भएको समयमा आफुले खादा र माला लगाएर नबस्ने घोषणा गरेको हो मन्त्री किराँतीले बताए । ‘देश र मन्त्रालय यती विमान दुर्घटनाबाट शोकमा थियो , शोकमा खाँदा र माला लगाएर मन्त्रालय नबस्ने घोषणा गरे लगाएन, उनले भने, ‘खाँदामाला प्रति सम्मान छ, एउटै व्यक्तिलाई ५ सय केजीसम्मको माला पहिराएको पनि देखिन्छ यो राम्रो होइन, यो संस्कृतिको नाममा विकृति हो ।’ मन्त्री किरातीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरा पृथ्वीचोकसम्म विमानस्थलकै मातहतमा सवारी संचालन गर्ने आश्वासन समेत दिएका छन् ।‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यात्रु आएपछि ट्याक्सी लगायत अन्य सवारी प्रयोग गरेर जाने प्रचलन रहेछ, सम्बन्धित निकायसँग कुराकानी गरेर विमानस्थलकै पक्षबाट पृथ्वीचोकसम्म सेवा दिन छलफल अगाडी बढाउछु ।’ उनले भने । मन्त्री किराँतीले आज (बिहीबार) पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अनुगमन समेत गरेका छन् ।
नेपालगन्ज: पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठूलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ । प्रहरीले ठूलो परिमाणको नक्कली नोट र नोट छाप्ने मेसिन नै बरामद गरेपछि सो आशङ्का गरिएको हो । पछिल्लो पटक बाँके प्रहरीले नक्कली एक हजार रुपियाँका पाँच लाख ६९ हजार रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । एकै पटक यति धेरै नक्कली रुपियाँ बरामद गरिएपछि जिल्लामा नक्कली नोट धेरै बढी हुनसक्ने अनुमान प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२ न्यूरोडमा शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गर्दा तीन जनाबाट नक्कली एक हजारका ५६९ वटा नक्कली नोट बरामद भएको हो । कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाईं, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३० वर्षीय दीपक बिसी र सल्यानको नवगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानाको खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट सो नक्कली रुपियाँ बरामद गरेर उनीहरूलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । पक्राउ परेका मोहन रानाका साथबाट ४१८ ओटा नक्कली नेपाली एक हजारको नोट (४ लाख १८ हजार) र मोहन कुमाईंको साथबाट १५१ ओटा नक्कली नेपाली एक हजारको (एक लाख ५१ हजार) गरी कुल ५६९ ओटा एक हजारका नक्कली नेपाली रुपियाँ बरामद गरेको छ । प्रहरीले कुल पाँच लाख ६९ हजार नक्कली नेपाली रुपियाँ बरामद गरेको हो । नक्कली नेपाली रुपियाँ बोकेर हिँडी रहेका उनीहरूलाई गोप्य सूचनाको अधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता डिएसपी घर्तीमगरले यति धेरै नक्कली नोट कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे प्रहरीले विशेष टिम नै खटाएर थप अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसअघि गत माघको पहिलो साता नेपालगन्जको धम्बोझीस्थित पाहुना घर होटेलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो । पुस २९ गतेदेखि होटेलमा बसेका एक व्यक्तिले होटेलमा बसेर नक्कली नोट छपाइ गरेको भेटिएको थियो । ३० गतेसम्म होटेलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपियाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो । फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको बेला फेरि नक्कली नोट फेला परेको हो ।
काठमाडौं: खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते भएका छन् । गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा हरिकला भण्डारी घाइते भएका हुन्। घाइते दुवै जनाको अहिले काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गएराति अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र भण्डारीको झण्डै २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीर जलेको डाक्टरले जानकारी दिएका बताए । खाना खाएर सुतिसकेपछि गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ । ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
काठमाडौं: यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ । साथै पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउनुहुँदैछ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी बिहीबार पशुपति मन्दिर आइपुग्नुहुने जानकारी दिएको हो । यस वर्ष फागुन ५, ६ र ७ गते पशुपति शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएकाले उहाँ सो कार्यक्रममा सहभागी हुन पशुपतिनाथ आउन लाग्नुभएको कोषले जनाएको छ । भोलि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म उहाँले आशिर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रीको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो । त्यस्तै, सो अवसरमा फागुन १ गतेदेखि नै लिङ्ग पुराणको कथा वाचनसहित विकास सन्तहरुको विशेष कार्यक्रम भइरहेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन विभिन्न समितिहरु बनाएर तयारी तीव्र बनाएको छ । महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्री पर्वलाई व्यवस्थित गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनु भयो । पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने पनि उहाँले बताउनुभयो । उहाँले मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सीसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने बताउनुभयो । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका चार हजार स्वयंसेवकहरु रहने छन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेन छन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ । त्यस्तै, जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग एक, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि एक, बज्रघर दक्षिणतर्फ एक, राममन्दिर नजिक बागमती पारी एक गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । यसैगरी, चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ । कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रुपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट—१ लाइन, मित्रपार्क— जयवागेश्वरी—इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तिसपुतली—गौशाला, एयरपोर्ट—तिलगंगा भएर पिंगलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय— पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन् । तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ । त्यस्तै, पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागि तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ । यसैगरी, एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवम् सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रीमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।
काठमाडौं: उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज (बुधबार) उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा कमला नदी स्टेट अफ दी बेसिन प्लानको विविध विषयमा छलफल भएको थियो । कमला नदी स्टेट अफ दी बेसिन प्लान जलस्रोत व्यवस्थापनमा नमुना योग्य कार्य हुने बताउनुहुँदै राजदूत जाने भोल्कले जल तथा उर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको बताउनुभयो । नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतीकसम्बन्ध रहेको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री लिङ्देनले कमला नदी बेसिनले कृषि क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नति र चुरेको क्षेत्रमा व्यवस्थापन गर्ने बताउनुभयो । व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझादारी भएको थियो । सो सम्झौताअनुसार कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ । कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्ने र चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी स्टेट अफ दी बेसिन प्लान कार्यान्वयनको चरणमा रहेको छ । नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेकी भूमिकाको प्रशंसा गर्दै उपप्रधानमन्त्री लिङ्देनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले पचाँस हजार बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्नुहुँदै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन र अन्य समस्याममा सकारात्मक भूमिका खेल्दिन आग्रह गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानव अधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन्। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानव अधिकार आयोगको स्थितिबाट नापिन्छ। आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधन स्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानव अधिकारको स्थिति के छ? भन्ने कुरा मापन हुन्छ। तसर्थ, आयोगलाई शक्तिशाली र साधन स्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ।’ प्रधानमन्त्री प्रचण्डले यो सरकार मानव अधिकारप्रति संवेदनशील रहेको बताए। ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पूरै गम्भीर छु। आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने। बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधनस्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको भन्दै मानव अधिकार आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनावद्ध रूपमा पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।
मुस्ताङ: मुस्ताङको थासाङ गाउँपालिका ३ धम्पु सडकमा आज बिहान बस दुर्घटना घाइते भएका १३ जनालाई पोखरा रिफर गरिएको छ । बसमा सवार १७ जनामध्ये १३ जनालाई पोखरा रिफर गरिरहेको र ४ जनाको लेते प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा दुई भारतिय नागरिक सहित १२ जना पुरुष, ४ जना महिला र १ जना नाबालक रहेको मुस्ताङ प्रहरीले जनाएको छ । मुस्ताङ प्रहरीका अनुसार म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान ८ः३० बजे बेनी–जोमसोम सडकबाट कालिगण्डकी नदीमा खसेको हो। दुर्घटनामा बिमती परियार, शर्मिला परियार, लक्ष्मी परियार, सुनिल परियार, राजकुमार बुढाथोकी, उमेश सापकोटा, पेमा छेतेन बिक, सुग्रिब परियार (नाबालक) र भारतीय नागरिक सुनिल पटेल, अपिता गोगय गम्भीर घाइते भएका हुन् । बस दुर्घटनामा घाइते भएका पेमा छेतेन बिक र सुनिल परियार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौं हिडेका थिए । बस दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र लेते प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीयबासी उद्दारमा खटिएका थिए । बस दुर्घटना कसरी भयो भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
काठमाडौं: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताउनुभएको छ । अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नका लागि भए पनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताउनुभएको हो । अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नका लागि मुलुकको आर्थिक नीतिकै पुनरावलोकन नजिक रहेको बताउनुभयो । उहाँले वर्तमान सरकार आर्थिक नीतिको पुनरावलोकन गर्न सम्पूर्ण ध्यान केन्द्रित भएको जानकारी दिनुभयो । सरकारले मुलुकको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्ने भन्दै आए पनि अपेक्षा अनुसार नतिजा आउन नसकेको अर्थमन्त्री पौडेलले स्वीकार गर्नुभयो । विगतमा नेपाल कतिपय वस्तुहरुमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरुमा पनि परनिर्भरता बढ्दै गएको उहाँको भनाइ छ । ‘‘मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय आयमा वृद्धि, आयात प्रतिस्थापन गरी निर्यात वृद्धिमा कसरी केन्द्रित हुने मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण विषय हो । यही प्रश्नको पेरिफेरिमा रहेर समाधान खोज्दा अर्थतन्त्रको रि–हल गर्न के गर्नुपर्छ भन्ने कुरा भेटिन्छ । सरकार त्यसतर्फ उन्मुख छ ।, ’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्ने भन्दै आएका विषयहरु हुन् । तर, अपेक्षा अनुसार नतिजा आएको छैन ।’’ उहाँले वर्ततमा अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले नीतिहरु परिमार्जन गर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएको बताउनुभयो । उहाँले आगामी वर्षको बजेट ल्याउने समयसम्म आर्थिक नीतिलाई पुनरावलोकनका काम सक्ने पक्षमा रहेको धारणा व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘नेपाल एउटा समयमा कतिपय वस्तुहरुमा आत्मनिर्भर रहेको विषय थिए । ती वस्तुहरुमा पनि अहिले परनिर्भरताका प्रवृतिहरु रहेका छन् । सबै समस्या समाधानको सन्दर्भमा सरकारले नीतिहरु परिमार्जन गर्ने, चाल्नुपर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएका छौं । आगामी बजेट ल्याउने समयसम्म सरकारले यो दिशामा सार्थक पहलकदमी लिन्छौं ।’’ त्यस्तै, अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमलाई सरकारको कार्यक्रमको रुपमा लिएको बताउनुभयो । उहाँले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानको विषयमा समेटिएको जानकारी दिनुभयो । ‘‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम मस्यौदा गर्ने कार्यदलमा म थिएँ । मेरो नै नेतृत्वमा मस्यौदा भएको हो । जसलाई सरकारले आफ्नो कार्यक्रमको रुपमा लिएको छ । साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या के हुन् र समाधान के हुन् भन्ने विषयमा केन्द्रिकृत हुनु नै पर्ने थियो । नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम जस्ता कुराहरु समेटिएका छन् । ती विषयको कार्यान्वयनको सन्दर्भमा अहिलेको सरकारको सामथ्र्यले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने हो भने सम्भव छैन ।,’’ उहाँले भन्नुभयो । साझा कार्यक्रम कार्यान्वयनको चालु आर्थिक वर्षभित्र नै कार्यान्वयन गर्न सम्भव नभएको उहाँको भनाइ छ । वर्तमान अवस्थामा मुलुक आर्थिक सामथ्र्यमा कार्यान्वयन गर्न सम्भव नभएकाले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको समय सीमा पाँच वर्षको रहेको छ । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमको समय सीमा पाँच वर्ष हो । यो सहकार्य सरकार भएका दलहरुको सहकार्य पाँच वर्षका लागि हो । यो पाँच वर्षको कार्यक्रममा सरकारले अर्थतन्त्रका चुनौतिहरु पनि सामना गर्छौं । अर्थतन्त्रलाई सबल पनि तुल्याउँछौं । नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम समावेश गरेका कार्यक्रमलाई कार्यान्वयन गर्ने सामर्थ्य आर्जन गर्छौं ।’’ अर्थमन्त्री पौडेलले वर्तमान सरकारमा भएका दलहरुको सहकार्य पाँच वर्षका लागि भएको बताउनुभयो ।

