पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

मुस्ताङ:    मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो । “उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्न पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ,” उहाँले भन्नुभयो, “शुल्कसमेत अत्यधिक बढी भएकाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका हौँ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र वन तथा वातावरणमन्त्री डा। वीरेन्द्रकुमार महतोसँग तीन स्थानीय तहका अध्यक्षले निषेधित क्षेत्र हटाउनका लागि स्थानीयवासी, होटल व्यवसायी र गाउँपालिकाको निर्णयसहितको निवेदन बुझाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज र कात्तिकमा उहाँहरू मुस्ताङ आएका समयमा ज्ञापनपत्र बुझाइएको हो ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा समेटिएको उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ । मुस्ताङका साथै मनाङ र गोरखाका केही भूगोललाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र कायम गरेका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा मुस्ताङमा ७१ हजार सात सय सातजना विदेशी पर्यटक आएकामा अर्ध निषेधित क्षेत्रका रूपमा रहेको उपल्लो मुस्ताङमा तीन हजार तीन सय ८८ पर्यटकले भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन आयोजनाले जनाएको छ । सन् २०२३ को नौ महिनाको अवधिमा पनि उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या तीन हजारभन्दा बढी रहेको एक्याप जोमसोमले जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको उपल्लो मुस्ताङलाई सरकारले अर्ध निषेधित क्षेत्र घोषणा गरेको छ । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् ।

काठमाडौं:    बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन् ।  सोही प्रदर्शनले उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो । उक्त प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफ.एम.९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ । सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी सधान जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ । 

काठमाडौं:    नेपाल विद्युत् प्राधिकरणले पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज सूचना निकालेर विभिन्न केन्द्रहरुबाट पालिकाले सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न र बिना मिटर प्रयोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न अनुरोध गरेको छ । प्राधिकरणले भुक्तानीका लागि पालिकालाई यसअघि असोज ६ गते ४५ दिनको समयसीमा दिएको थियो । त्यस्तै मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरुका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी ७ दिनभित्र मिटर जडान गरी ग्राहक कायम गराउन पनि भनिएको छ । यो अवधिभित्र मिटर लिइ ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरु सम्बन्धित वितरण केन्द्रबाट हटाउने उल्लेख छ । साथै सडक बत्तीको बक्यौता महशुल नबुझाउने पालिकाको हकमा प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।  

काठमाडौं:    नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले भिपिएन र डिएनएस असुरक्षित र अवैध भएको जनाएको हो।  ‘पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएसजस्‍ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ। यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्‍याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्युरोले जनाएको छ। ‘महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्‍याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ ब्युरोले भनेको छ। यसको प्रयोगले कति जनाको आर्थिक दुरूपयोग वा डाटा चोरी भएको भन्नेबारे ब्‍युरोले विज्ञप्तिमा खुलाएको छैन। गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ। 

काठमाडौं:   हिमालय रोडिज सिजन–५ को उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने भएका छन् । सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट सन्देश राई र एसु खड्का बाहिरिए । रोचक कुरा के छ भने, दुबै फाइनलिस्टले टीम ग्रीन अर्थात आशिष राना ‘लाउरे’को ग्याङको प्रतिनिधित्व गर्छन् । एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न लागेको यो हिमालय रोडिजमा पहिलोपटक हो । अनुपविक्रम शाही र दीया मास्केको ग्याङबाट एक÷एकजना सदस्य सेमिफाइनलमा भिडेका थिए । तर, प्रियंका कार्कीको ग्याङबाट कुनै एक पनि सेमिफाइनलमा पुग्न सकेनन् । सेमिफाइनल प्रतिस्पर्धामा चारै प्रतिस्पर्धीले कठिन टास्क पुरा गरेका थिए । होस्ट सुरजसिंह ठकुरीले फाइनलिस्टको नाम घोषणा गर्दा टीम ग्रीनको उत्साह थामिएन । अब सन्जिप र विश्वले आउने सोमबार बेलुका ८ बजे प्रसारण हुने सिजन पाँचको फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । साउन १५ गतेदेखि सुरु भएको पाँचौ सिजनमा २० प्रतिस्पर्धी सहभागि थिए ।

चितवन:    चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका-२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेलापरेको हो । अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ छन् । 

काठमाडौं:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र  सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेल २०२३’ शुभारम्भ गर्दै उहाँले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गर्नुभयो  । “आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर्जना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द्व सिर्जना गर्छ, तसर्थ द्वन्द्वको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौँ”, मन्त्री किरातीले भन्नुभयो । पूर्वदेखि पश्चिमसम्म हाम्रा बहुधार्मिक तिर्थस्थल छन् भन्दै उहाँले हाम्रो वैद्धिक परम्परा र भौगोलिक बनावट पनि द्वन्द्व सिर्जना गर्ने खालको नभएको उहाँले बताउनुभयो । समाजलाई विज्ञानको सापेक्षताअनुसार  विकास गर्न नसक्नु नै हामीले दुःख पाउनु हो भन्ने धारणा व्यक्त गर्दै मन्त्री किरातीले संवादका माध्यमबाट शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग, समन्वय तथा सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । विसं २०६२/२०६३ मा भएको एतिहासिक परिवर्तनको प्रसङ्ग निकाल्दै मन्त्री किरातीले संवादका माध्यमबाट १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रियामा पुगिएको र जनतासँग संवाद गर्दै संविधानसभाका माध्यमबाट संविधान निर्माण गरिएको चर्चा गर्नुभयो । उहाँले अहिले नेपालमा सामाजिक सञ्जालबाट हिंसा भड्काउने माध्यम बन्न थालेको छ भन्दै सामाजिक सद्भाव बिग्रिन लागेकाले केही समयका लागि टिकटक बन्द गरिएको बताउनुभयो । मन्त्री किरातीले भन्नुभयो, “टिकटक बन्द हुँदा केहीका सिर्जनात्मक कुरा म¥र्यो भन्ने कुरा छ, त्यो स्वीकार्छु, त्यसका लागि क्षमा चाहन्छु, तर त्योभन्दा एक हातमा माल र अर्को हातमा भाला लिएर सामाजिक सञ्जालमा अराजकता र गलत सन्देश फैलाउने काम भएको  र यसबाट सामाजिक सद्भाव बिग्रिन लागेकाले टिकटक बन्द गरिएकोे हो ।” सो अवसरमा फिलिपिन्सकी प्राध्यापक मिरियम कोरोनेल फेररेर र  युनेस्कोका देशीय प्रतिनिधि माइकल क्रोफ्टलगायतले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । नेपाल संवाद पहलका संयोजक राम तिवारीले सन् २०१८ देखि क्रियाशील भई हरेक वर्ष हुँदै आएको नेपाल संवाद महासम्मेल असमझदारीलाई संवादका माध्यमबाट सहजीकरण गरेर दिगो शान्ति काम गर्नेतिर केन्द्रीय भएको बताउनुभयो । आजदेखि सुरु भएको महासम्मेलन तीन दिनसम्म चल्नेछ ।

रुकुम पश्चिम:    रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए । उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए । आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

बझाङ:   बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।