दोलखा: दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो । यो पनि पढ्नुहोस सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते सोहि बसमा सवार दुलाहाको अवस्था सामान्य रहेको र घाइते २५ जनालाइ खाडिचौरस्थित सदाबहार अस्पताल लगिएको छ । बाँकीको अवस्था सामान्य रहेको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिनुभयो । पिस्करको मुलाबारीस्थित गोकुल थामीको छोरीको बिबाहमा जन्ति लिइ आएको बस बेहुलीको घर देखि आधा घन्टाको दुरी नजिक आइपुग्दा दुर्घटना भएको हो । बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।
सिन्धुपाल्चोकः चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं पुग्नेछ ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो। सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताउनुभयो।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ ।
चितवन: मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।
धनुषा: जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको जीवितै उद्धार गरिएको थियो । “स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ”, उनले भने । उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीया प्रियंका महतोको रहेको डिएसपी अवाले बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।
काठमाडौं: सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो । गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो । परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकैपर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतालमा राखिएको छ ।
ताप्लेजुङः ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा चार वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसै गरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङ्वा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुतगतिमा अघि बढाएको छ ।
दाङ: सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । यो पनि पढ्नुहोस सल्यान बस दुर्घटना अपडेट: १४ जना घाइते दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको थियो । बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

