झापाः झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् । घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्याएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । जङ्गली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका–९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ । हात्तीले गोठमा रहेको धानसमेत खाएको छ । हात्तीले यसअघि मङ्गलबार कमल गाउँपालिका–५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो । हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टङ्कप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उहाँलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो । “उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उहाँको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताउनुभयो ।
तनहुँ: बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो । अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ । भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुन: २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उदयपुरः उदयपुर गाइघाटकको त्रियुगा नगरपालिका वडा नं–१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव फेला परेको छ। आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र ९ वर्षीय रिदम मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो। मंगलबार साँझ रिदम र बुधबार लोकबहादुर र रेखाको शव भेटिएको उहाँले बताउनुभयो। साउनेस्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रेखा, कक्षा ४ मा अध्ययनरत रिदम र कक्षा ५ मा अध्ययनरत लोकबहादुर होली खेलेर नुहाउन गएको बेला दिउँसो ३ बजेतिर सुनकोसी नदीमा डुबेर बेपत्ता भएका थिए । त्यसलगत्तै उनीहरूको खोजी भइरहेको थियो। रेखा मगर र लोकबहादुर मगरको शव उनीहरू हराएको स्थानभन्दा करिब चार किलोमिटर तल बुधबार भेटिएको हो। उपरीक्षक चौधरीका अनुसार बालबालिका बेपत्ता भएको स्थानदेखि करिब दुई किलोमिटर तल रिदमको शव बग्दै गरेको अवस्थामा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त वस्नेतसहितको टोलीले मंगलबार साँझ फेला पारेको हो।
उदयपुर: होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रेखाको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए ।मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । तीन दिनअघि त्रिनपा–१४ साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र ८ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा नदीमा बेपत्ता भएका थिए । बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन् । हराएकामध्ये मङ्गलबार साँझ रिदम मगरको शव फेला परेको थियो । अर्का बेपत्ता १० वर्षीय लोकबहादुर मगरको शव फेला पर्न नसकेको पनि प्रहरीले जनाएको छ ।
पाल्पा: पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी छन् । रिब्दीकोट गाउँपालिका वडा नं। १ ख्याहाकी १८ वर्षीया पद्यमा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् । बिहान नौ बजेतिर नुहाउन भनी घरबाट हिडेकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए । वडाध्यक्ष पोखरेलकाअनुसार उनको हातको औला, पाखुरा र अन्य स्थानमा पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनाबारे अनुसन्धानका लागि जिल्लास्थित प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेका छन् । घटनास्थल पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले पनि धारितो हतियार प्रयोग भएको हुँदा हत्या भएको हुने सक्ने बताए । अनुसन्धान जारी रहेको हुँदा घटनाको पूर्ण विवरण आउन बाँकी रहेको श्रेष्ठको भनाइ छ ।
पाल्पा: पाल्पामा अवैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध भरुवा बन्दुक बोकेर हिंडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्ग्ढीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रैनादेवी छहरा(७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका(५, का ३८ वर्षीय सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै सोही गाउँपालिकाको अर्को वडाबाट एक जनालाई पनि प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।
तनहुँ: तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताउनुभएको छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उहाँले बताउनुभयो । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।
काठमाडौंः इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ । पाँचथर तथा ताप्लेजुङ जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाउँपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको छ । २०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको हो। यो आयोजना निर्माण सम्पन्न गर्नका लागि एक सय ९४ करोड रुपियाँ लागत लागेको छ । जसमध्ये संस्थापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नविल बैङ्क लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाउँपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावर हाउसमा पानी खसाली विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावर हाउसको काम लटिनाथ कन्स्ट्रक्सन कम्पनी प्रालि र इन्टेक तथा पाइप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो । यसको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरू युरोपियन प्रविधिको छनोट गरी जेपट हाइड्रो अस्ट्रियाबाट खरिद गरिएको कम्पनीका कार्यकारी सञ्चालक सतिस न्यौपानेले जानकारी दिनुभयो । जेपट हाइड्रो अस्ट्रियाबाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनबाट आयात गरिएको जेनेरेटर राखिएको छ । कन्ट्रोल रुममा राखिएका प्यानल वोर्डहरु क्रोएसियाको प्रो–इन्ट्रीगिस कम्पनीबाट आयात गरिएको समेत न्यौपानेले बताउनुभयो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ । गुरुप्रसाद न्यौपानेको अगुवाइमा प्रवर्द्धन गरिएका न्यौपाने समूहको अगुवाइमा रहेका आयोजनाको सङ्ख्या १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सबस्टेशनमा जडान गरी आरपुर–दमक १३२ केभि ट्रान्समिसन लाइनमार्फत नेपालभर आपूर्ति भएको छ ।

