चितवन: भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताउनुभयो । दुर्घटनामा तीनजना घाइते यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था मध्यम छ । उहाँका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ । यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।
सङ्खुवासभा: पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो । प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
चितवन: गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिनुभयो । यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन । घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताउनुभयो । यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।
दैलेख: दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उहाँले जानकारी दिनुभयो । गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । “अकालमा ज्यान जान दिनु भएन, त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । अत्यधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
खोटाङ: गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ । तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय एेंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिनुभयो । “चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्”, उहाँले भन्नुभयो, “उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ ।” चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो । “चट्याङबाट घाइते बनेकाहरुको अवस्था सामान्य बन्दै गएको छ । हामी अहिले घाइतेहरुको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ”, उहाँले भन्नुभयो, “चट्याङले विद्युत्को मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ । अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौं ।” चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
काठमाडौं: मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
काठमाडौं: शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । शुक्रबार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कामय भएको छ । आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ नौ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको छ । आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८० पैसा रहेको छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।
धादिङ: बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौँ पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् । आज दिउँसो नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौँ पुर्याइएको छ । पानी परेको समयमा पहिरो खस्ने जोखिम त छँदैछ सुक्खा पहिराले छिनछिनमै राजमार्ग अवरुद्ध भइरहने भएकाले महँगो शुल्क तिरेर हेलिकप्टर प्रयोग गर्नुपरेको हो । राजमार्ग विस्तारको कामले धुलाम्मे, हिलाम्मे र खाल्डोखुल्डी पार गर्न साबिकभन्दा दोब्बर समय लाग्ने भएपछि सुत्केरी बिरामीलाई काठमाडौँ पुर्याउन हेलिकप्टर प्रयोग गर्न सुझाव दिइएको धादिङ अस्पतालका डा मधुकर दाहालले बताउनुभयो । “जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्छ । समयमै थप उपचार नपाए बिरामीको ज्यान खतरामा पनि जान सक्छ । त्यसैले काठमाडौँ लैजान सुझाव दियौँ, बाटोकै समस्याले हेलिकप्टर प्रयोग गर्न बिरामीका आफन्त बाध्य हुनुभयो”, डा दाहालले भन्नुभयो । धादिङबेँसीबाट काठमाडौँ कलङ्कीसम्म पुग्न सामान्यतय लाग्ने समय दुई घण्टा हो । हिजोआज सार्वजनिक यातायातलाई कति घण्टा लाग्छ अनुमान गर्न सकिँदैन । एम्बुलेन्सलाई धादिङबेँसीबाट काठमाडौँ पुग्न वा काठमाडौँबाट धादिङबेँसी आइपुग्न पाँच घण्टासम्म लाग्छ । बर्खाको बेला पानी र पहिराले सडक अवरुद्ध भयो । कुनै कारण जाममा परियो भने त समयको सिमै रहँदैन । राजमार्ग लथालिङ्ग नहुँदा एक घण्टा ४५ मिनेटदेखि बढीमा दुई घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले चार घण्टाभन्दा बढी नै समय लाग्ने एम्बुलेन्स चालक भेषराज ठकुरीको भनाइ छ । वर्षौदेखि यही बाटोमा एम्बुलेन्स चलाइरहेका ठकुरी भन्नुहुन्छ, “सामान्य जाम त जसोतसो खुलाउँदै पार गरिन्छ, पहिरो, हिलो र खाल्डोखुल्डीसँग हाम्रो केही चल्दैन । अहिले हामीलाई धादिङवेसी–काठमाडौँ गर्न सामान्यतया चारदेखि पाँच घण्टा लाग्छ ।” धादिङबाट मात्रै होइन गोरखा, तनहुँ, चितवनलगायतबाट काठमाडौँ भित्रिन एम्बुलेन्सको समस्या पनि यस्तै छ । यात्रुहरु त जोखिम मोल्न बाध्य छन् नै बिरामी बोकेर हिँड्नुपर्ने एम्बुलेन्सलाई पनि गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने गरेको छ । राजमार्गको दुरावस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरी यो बर्खाको समय र चाडपर्व अवधिभर राजमार्ग विस्तारको काम नगर्न र अवरोध भएका स्थानलाई तत्काल सफा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।

