एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकलसहित दुई पक्राउ

काठमाडाैं | भदौ २१, २०८१

एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकलसहित दुई पक्राउ

काठमाडौं:    काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो ।

    
खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो । 

    
मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिनुभयो । कार्यालयले आज घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेको छ ।

    
उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौँस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो ।  


रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा सङ्लग्न कुँवरबाट खुलेपछि उक्त मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिइएको हो । 

    
अनुसन्धानका क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुङ्गाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

    
थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशङ्कामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

    
थप अनुसन्धान गर्दै जाँदा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको थियो ।  वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । 

    
थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से ७ प ८५६२ भएको भन्सार पठाइएकोमा उक्त मोटरसाइकल आरोपी खत्रीको रहेको तथ्य खुलेको छ । उनले उक्त मोटरसाइकलको वास्तविक कागजात प्रयोग गरी अन्य मोटरसाइकलसमेत त्यही नम्बर राखेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । 

पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो।  &lsq...

थप पढ्नुहोस्

पोखरा:  विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गाम...

थप पढ्नुहोस्