मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

काठमाण्डैँ :       शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।   लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ ।    सङ्घीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा  शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएकोे छ । सङ्घीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीका बारेमा पनि सम्बोधन हुने जनाइएको छ ।   मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै सङ्घीय संसद्मा प्रस्तुत हुने अपेक्षा रहेको बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा विधेयक छिटो सदनमा ल्याउन यसअघि निर्देशन दिइसकेको थियो ।

काठमाण्डौँ :       आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।   आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने पनि विभागले जनाएको छ ।    वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन र  यातायात क्षेत्रमासमेत असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन  सबैमा अनुरोध गरिएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।    बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डग्री र अधिकतम तापक्रम २८  दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

रोल्पा :      अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो ।   गत मङ्गलबार राति परेको अविलरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन् ।   लुङ्ग्रीका अध्यक्ष भरत थापाले भन्नुभयो, “पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ  । ” सो गाउँपालिकाको रु २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमितिता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएको थियो । 

    धरान :      धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् ।  पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र  ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् ।    शनिबार सोही क्षेत्रमा  वृक्षरोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ ।   खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिनुभएको छ  । पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।  विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वातन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उहाँले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहनु भएको  छ ।

  पोखरा :       नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट वर्ष खेलाडी ( महिला ) अवार्ड नेपाल महिला भलिबलका क्याप्टेन अरुणा शाहीले प्राप्त गरेका छन् ।    शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी ( महिला ) मनोनयनमा परेका दुई खेलाडीलाई पछि पार्दै नेपाल महिला भलिबलका क्या. अरुणा शाहीले अवार्ड प्राप्त गरिन् । उनले वर्ष खेलाडी महिलाको अवार्डसँगै इलेक्ट्रिक स्कुटर समेत प्राप्त गरिन् ।    उनीसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमालले ट्रफी प्राप्त गरे ।

  पोखरा :    खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट खेलकुद पत्रकार अवार्ड दिपक परियारले प्राप्त गरेका छन् ।    शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उत्कृष्ट खेलकुद पत्रकारको अवार्ड बिमल परियारले प्राप्त गरे ।

पोखरा :     नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।    शनिबार  पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।    पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।   भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।   राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए ।   फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।   यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा। वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । 

  पोखरा :     खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ  स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरे ।    शनिबार  पोखरा सभागृहमा आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरेको हुन् । उनले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट तीन मनोनयनमा परेका क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बुले ट्रफी प्राप्त गरे ।

  काठमाडौं :     राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले दुई पटक बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनको भेलालाई सम्बोधन गर्नुहुँदै थापाले यस्तो बताउनुभएको हो। पार्टीको स्वार्थका लागि ६ ६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ।   ‘‘पार्टीको स्वार्थ परिपूर्तिको निमित्त ६र६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्तिले अस्थिरताको सिर्जना भइरहेको छ। यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ भनेको छ’’, थापाले भन्नुभयो, ‘मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन। दुई पटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ।’’     अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हित गर्न नसकेको बताउनुभयो। उहाँले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभयो। अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगती हुन थालेको बताउनुभयो।