काठमाडौं: सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोबल भिलेजको रुपमा परिणत भएको छ, सूचना र सञ्चार प्रविधिलाई हामीले विकास गरेर अब त्यसबाट मुलुकलाई अधिकतम लाभ दिलाउने दिशामा अग्रसर हुनु जरुरी छ ।” सूचना र प्रविधि क्षेत्रको महत्वलाई बुझेर विदेशीएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आइसीटिभित्र मुलुकको भविष्य खोज्नुपर्ने उहाँको भनाइ छ । मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आइटीको क्षेत्रमा पनि स्वर्णिम भविष्य रहेको बताउनुभयो । आइटीको क्षेत्रमा रहेको सम्भावनालाई आगामी दिनमा व्यावहारिक रुपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य अनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि सुरु गरेको थियो । चालु आर्थिक वर्षमा ९२७ पत्रपत्रिका, ३८ टेलिभिजन, २५१ रेडियो र १४ ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । हालसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको सङ्ख्या ३१ हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालु आवमा दर्ता ६६२ र नवीकरण ६७७ गरी हालसम्म तीन हजार ४६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिनुभयो । सञ्चार सचिव डा बैकुण्ठ अर्यालले डिजिटल नेपालको आकाक्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिष्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, सङ्ग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवर्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको छ । सोही अवसरमा सञ्चारमन्त्री कार्कीले विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।
काठमाण्डौँ : अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार शिष्टाचार भेट भएको छ। सो भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन्। उनले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन्। फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा हुँदैछन्। प्रतियोगितामा भाग लिने ३२ वटै टिमको टुंगो लागिसकेको छ।
पोखरा : पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन भए । त्यसैगरी सदस्यहरुमा इश्वरमान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भए । अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हकहितको बारेमा धारणाा राखेका थिए । दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचाँदी व्यवसायी संघमा ४४ जना सदस्यहरु रहेका छन् भने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नयाँ सदस्यता लिएको संघले जनाएको छ ।
चितवन : चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो । प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ । सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए । त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
पाँचथर : शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो । रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए । पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल हुनुभएको थियो । घरभन्दा करिब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन् । वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ ।
काठमाडौँ : राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् । हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलले संयोजक गौतमलाई पार्टीबाट निष्काशन गरेको भनी विज्ञप्ती निकालेका थिए । हिजोको सचिवालय बैठकमार्फत गौतमले उनीहरुविरुद्ध जवाफी कारबाही गरेर माफी माग्नुपर्ने निर्णय गरेका छन् । उक्त बैठकले युवराज सफललाई कुनै पनि हालतमा पार्टीमा नफर्काउने निर्णय गरेको छ भने अन्य ४ जनालाई भने आत्मालोचना गरेर माफी मागेमा पुनः पार्टीमा फर्कन सक्ने विकल्पसहित निष्काशन गरिएको छ । उक्त बैठकमा पार्टीका ९ जना सचिवालय सदस्यमध्ये ७ जना सहभागी रहेको जनाइएको छ । युवराजले आफूसँग बहुमत सचिवालय सदस्य रहेको भनी दाबी गरे पनि उक्त दाबी झुटो देखिएको छ । किनभने ९ मध्ये ८ जना सदस्य वामदेवसँगै रहेको बताइएको छ । युवराजको साथमा भने केही केन्द्रीय सदस्य रहेको जनाइएको छ ।
काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ । गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो । महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुहुने भएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ । फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ । राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।
लमजङ् : यहाँ बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो । गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताउनुभयो । “उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । उक्त भवनमाथि सडकबाट पहिरो खस्दा वडाको भित्तासम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गामुढा र माटो थुप्रिएको छ भने वर्षा भइरहेमा भवन नै बगाउने स्थितिमा पुगेको छ, उहाँले भन्नुभयो, “वर्षा भएपछि पहिराले जताततै लेदो माटो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएको छ ।” वडाध्यक्ष गुरुङका अनुसार असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरा पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएकोे वडाका कर्मचारीहरुले बताए । पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ । उक्त विद्यालयको कक्षाकोठासम्म भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ । लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ भने केही दिनअघि गएको पहिरोले विद्यालयको तारजाली पुरेको छ । वडाध्यक्ष गुरुङले भन्नुभयो, “पहिरा निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सर्फा गर्दै काम गछौँ ।” वडा कार्यालयको करिब २० मिटर माथि सडकबाट आएको पहिरो रोक्नलाई पहिलो पटक यही असार ५ गते गाउँपालिकाबाट रु दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो तर पटक–पटक आएको पहिराले थप क्षति पुर्याउनाका साथै अन्य दुईस्थानका सडक नै बगाएपछि आपत्कालिन परिस्थितिमा दुईघण्टासम्म हिँडेर छोटे खोलासम्म पुग्नुपर्ने बाध्यता भएकोे उहाँको भनाइ थियो । पहिरो गएयता कुलो सफा गर्ने क्रममा सर्पले टोकेर दुई जना घाइते भइसकेका छन् । त्यस्तै वडा कार्यालयभन्दा करिब २० मिटर परको निर्माणाधीन वडाको स्वास्थ्य चौकी भवन पनि आएको पहिराले आधा पुरेको छ । बस्तीमा पनि १० घर पहिराले जोखिममा पारेको छ । यही असार १ गतेको पहिरो र त्यसपछि बेला–बेलामा खसेको पहिराले कोषलाल गुरुङ, प्रेम गुरुङलगायत अन्य व्यक्तिको घर जोखिममा पु¥याएकोे वडासदस्य लालबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिममा रहेका स्थानीयवासी दिउँसोभन्दा रातको समयमा पानी पर्दा डराइडराइ सुत्दै आएका छन् ।

