तुलसीपुर: कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैहुनुहुन्छ । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उहाँले सत्य सावित गर्नुभएको छ । रिमबहादुर सानोमा विद्यालय जान पाउनु भएन । विद्यालय जाने उमेरमा उहाँलाई घरको कामले फुर्सद भएन । उहाँले विद्यालयको अनुभूति गर्न पाउनु भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहनुभएको छ । “मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो”, उहाँले भन्नुभयो, “बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।” आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउनुहुन्छ । “अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, उहाँले विगत सुनाउनुभयो । रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना हुनुभएको हो । त्यसयता उहाँ नियमितरुपमा विद्यालय गइरहनुभएको छ । उहाँले बिहान र बेलुकाको समयमा घरको काम भ्याउनुहुन्छ । उहाँले दिउँसोको समयको सदुपयोग गरिरहनुभएको छ । “घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु”, रिमबहादुरले भन्नुभयो, “दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।” आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उहाँ बताउनुहुन्छ । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । “उमेरले पढ्न छेक्दो रहेनछ”, रिमबहादुरले भन्नुभयो, “त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।” रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी हुनुहन्छ । श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उहाँले बताउनुभयो । “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु”, लालमतीले भन्नुभयो । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उहाँको भनाइ छ । रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । “यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ”, उहाँले भन्नुभयो । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउनुहुन्छ । अहिले विस्तारै सबै बानी परेका छन् । “रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो”, प्रधानाध्यापक खत्रीले भन्नुभयो, “अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।”
भक्तपुर: भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ ।
काठमाण्डौँ: आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷ चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशको प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदलीका साथै सोही प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्का वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही र बाँकी प्रदेशमा आङ्शिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
सुर्खेत: उज्यालो र सुरक्षित सहर बनाउने उद्देश्यले वीरेन्द्रनगरका नौ स्थानमा हाइमार्स लाइट (बढी उज्यालो शक्ति भएको बत्ती) जडान गर्न थालिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा यहाँका नौ स्थानमा सो लाइट जडान गर्न लागिएको हो । नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको बजेटअन्तर्गत रेडियो नेपाल, मूलपानी, शिवालय, सहकारी र वीरेन्द्रनगर–१२ को सत्यनारायण, कुमाइ, तीनकुने चोक, मुख्यमन्त्री निवास, बाङ्गेसिमल प्रहरीचौकी क्षेत्रमा बत्ती जडानको काम सुरु भइसकेको छ । नगर प्रमुख मोहनमाया ढकालले थप बत्ती जडानले रात्रिकालीन सहरी सौन्दर्यता, शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन प्रभावकारी हुने बताउनुभयो । नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले निर्माण व्यवसायी कम्पनी कोभाल्ट इन्टरनेशनल काठमाडौँले जडानको काम सुरु गरिसकेको जानकारी दिनुभयो । प्रदेश सरकारले बजेट पठाउन ढिलाइ गर्दा बल्ल काम सुरु भएको उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले रु एक करोड रकम पठाएको छ । नगरपालिकाले बत्ती जडानका लागि रु एक करोड नौ लाख लागत स्टिमेट गरी ठेक्का आह्वान गरेको थियो । कोभाल्ट इन्टरनेशनलले घटेर रु ६५ लाख ८९ हजारमा बत्ती जडान गर्न ठेक्का पाएको हो । वीरेन्द्रनगर नगरपालिकाले यसै वर्ष १२ स्थानमा रु एक करोड २० लाख लागतमा ‘हाइमार्स लाइट’ जडान गरिसकेको छ ।
बाजुरा: बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाका साथ निर्वाचन सम्पन्न भएको छ। बूढीगङ्गा नगरपालिकाको वडा नम्बर ३ र ९ मा फर्जीमतको विषयलाई लिएर केही समय मतदान गर्ने कार्य रोकिएको थियो। मतदान रोकिएको सो वडामा केही समयपछि पुनः मतदान कार्य सुरु गरिएको थियो। बूढीगङ्गा नगरपालिकाको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले केही वडामा कार्यकर्ता बीच फर्जीमतको विषयमा सामान्य विवाद भए पनि बेलुका पाँच बजे सबै वडामा मतदान गर्ने काम सम्पन्न भएको बताउनुभयो। गत वैशाख ३० गते भएको स्थानीय सदस्यको निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदानस्थलमा धाँधली हुँदा त्यहाँको मतगणना रोकिएपछि असार २३ गते पुन मतदान भएको हो। बूढीगङ्गाको वडा नम्बर १ मा एक हजार ३२६ वडा नम्बर २ मा एक हजार ४४३ वडा नम्बर ३ मा एक हजार ३२० वडा नम्बर ४ मा एक हजार ७०९ वडा नम्बर वडा नम्बर ५ मा एक हजार १४२ वडा नम्बर ६ मा एक हजार ९२ वडा नम्बर ७ मा एक हजार ३०७ वडा नम्बर ८ मा एक हजार ५९ वडा नम्बर ९ मा एक हजार ४८३ र वडा नम्बर १० मा एक हजार ७७८ गरी १३ हजार ६५९ मतदाता सङख्या रहेको थियो। वडा १ मा ८३१ वडा २ मा एक हजार १ हजार ११९ वडा ३ मा ७६७ वडा नम्बर ४ मा ९७१ वडा नम्बर ५ मा ८१८ वडा नम्बर ६ मा ७९० वडा नम्बर ७ मा ८८१ वडा नम्बर ८ मा ७०० वडा नम्बर ९ मा ९०३ वडा नम्बर १० मा एक हजार १०९ मत खसेको छ। १० मतदान केन्द्र र १९ वटा उप केन्द्रमा कडा सुरुक्षाका बीच मतदान गर्ने काम सम्पन्न भएको छ। जसमा ६६।७५ प्रतिशत मत खसेको बूढीगङ्गा नगरपालिकाको निर्वाचन अधिकृत कडायतले बताउनुभयो। बूढीगङ्गा नगरपालिकाको मेयर पदमा उमेदवार नेपाली काँग्रेसबाट रङ्ग खाती उपमेयर रिता शाही र नेकपा एमालेबाट मेयर रामबहादुर बाँनीया उपमेयर माया कुँवर उम्मेदवार हुनुहुन्छ।
काठमाण्डौँ: कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार २२ गते ११३ जनामा सङ्क्रमण देखिएको थियो । सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ जना रहेका छन् । विगत २४ घण्टामा २३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५९८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । अहिलेसम्म होमआइसोलेसनमा ५०१, संस्थागत आइसोलेसनमा सात, भेन्टिलेटरमा एक र सघन उपचार कक्ष (आइसियु)मा सात जना उपचार भइरहेको छ ।
काठमाण्डौँ: प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा ९कोइराला०ले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते अपराह्न १४ बजे बस्नेछ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गर्नुभएको हो । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँका अनुसार नाम वाचनका क्रममा केही प्राविधिक त्रुटि देखिए पनि बैठक नियमित रुपमा चलिरहेको जानकारी दिनुभयो । माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई पोलिटब्यूरोमा समावेश गरेको छ । माओवादी केन्द्रीय समिति ३७७ सदस्यीय रहेको छ । त्यसको एक तिहाई अर्थात् १२५ जनाको पोलिटब्यूरो रहने व्यवस्था गरिएको छ । केहीलाई भने वैकल्पिक पोलिटब्यूरो सदस्यका रुपमा समेट्ने प्रयास गरिएको छ । स्थायी समितिमा अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेललगायत समेटिनु भएको छ । केन्द्रीय कार्यालय सचिव, पार्र्टी मातहतका आयोगका अध्यक्षलगायत पनि सो समितिमा रहनेछन् ।
काठमाडौँ: उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौँ–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उहाँले बताउनुभयो । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । उहाँका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् ।

