काठमाण्डौँ: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिण क्षेत्र अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । गत वर्षमाभन्दा यस वर्ष काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको छ । उहाँका अनुसार मङ्गलबारदेखि उक्त रेखामाथि अर्थात् नेपालतिर सर्ने भएकाले विस्तारै पानी पर्नेक्रम सुरु भई गर्मी कम हुने अवस्था रहेको छ । विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनका साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
काठमाण्डौँ: राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट रहेको छ । यस्तै चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद् गरिएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए । डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ । यसमा बरडाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ । खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढीमात्रामा चोरी हुने गरेको छ । यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत बन पैदावार चोरीतस्करी हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु तीन करोड ६९ लाख छ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा दुई लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको छ । खनालका अनुसार बिरुवा असार १४ गतेदेखि वितरणको प्रक्रिया सुरु गरिएको हो । शीतल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ । अन्य बिरुवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ ।
काठमाण्डौँ: सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो । जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट उपभोक्ता सदस्यलाई बिरुवा वितरण गरिएको छ । पूर्वी पाल्पामा आँप, लिची, कागती, अम्रिसो र बाँसको बिरुवा गरी करिब तीन हजार बिरुवा वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
दार्चुला: अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । उहाँ वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउनुहुन्छ । पढाइ सामान्य साक्षर मात्र गर्नुभएका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउनुुहुन्छ । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उहाँ सुनाउनुहुन्छ । “एक महिना यार्सागुम्बा गरेर झण्डै रु चार लाख कमाइ भयो”, उहाँले भन्नभयो, “जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपर्यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ ।” यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन् । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर पर्यो । यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो । सङ्कलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् । अपिहिमाल–१ का ललित जाग्रीले भन्नुभयो, “एक महिना मेहनत गर्यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्यो ? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन् ।” यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफैँ घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यस वर्ष व्यापारीले प्रतिकिलो रु १५ हजारदेखि रु १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन् । विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् । यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ । स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको बताउनुहुन्छ । जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउनुहुन्छ । यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा सङ्कलन भएको हो । जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो रु ३० हजारका दरले कूल दुई करोड १६ लाख ६० हजार राजस्व सङ्कलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिनुभयो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो । यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ६६९ किलो, २०७४÷७५ मा ७६४ किलो, २०७५÷७६ मा ५४५ किलो, २०७६र७७ मा ३२७ किलो र २०७७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो ।
काठमाण्डौैँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।
काठमाण्डौँ: बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो ।
काठमाण्डौँ: अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उहाँको भनाइ छ । लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मस्र्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ । सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन । डुम्रे बेँसीसहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्ष समेत पहिरा गएपछि वैकल्पिकरुपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत पहिरो हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएपछि उक्त सेनाको सडक हुँदै सवारी सञ्चालन हुन थालेको छ । सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन । यसअघि समेत गत असार २८ गते सोही स्थानमा सडक अवरुद्ध भएको थियो भने, सो अघि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । ४२ किलोमिटर दूरी रहेको यस सडकमा पहिराले यात्रुलाई समस्या उत्पन्न गराउँदै आएको छ ।
बाठमाण्डौँ: देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गर्नुभयो । ती जिल्लामा प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन् । यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन् । यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।
काठमाण्डौँ: नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उहाँले भन्नुभयो, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।” यसअघि आजै उहाँलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे । उहाँ १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

