काठमाडौं: आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा ९ रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।
काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो। यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले। त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए। सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्। उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए। उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए। शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।
पोखरा: पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्र्तराष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ । त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ । १३ आंै वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरुविच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । रिसोर्ट सञ्चालन समितिमा बसन्त गौतम अध्यक्ष, चन्दन कायस्थ प्रवन्ध निर्देशक तथा निर्देशकहरुमा मोनिका ज्यान्तीले, रञ्जन कायस्थ, प्रेम श्रेष्ठ र विमल नहर्की रहनुभएको छ । रिसोर्टमा हाल सय बढी कर्मचारीहरु कार्यरत छन् । यसै अवसरमा रिसोर्टले कर्मचारीहरुमा उत्प्रेरणा जगाउन भेटघाट तथा छलफल एवं समिक्षात्मक कार्यक्रम पनि गरेको छ ।
बुधबार सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ। मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्य कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।
जाजरकोट : जाजरकोटमा आमाछोरी एकैपटक स्थायी जागिरे भएका छन्। भेरी नगरपालिका–२ रिसाङ निवासी आमा निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन्। आमाछोरी एकैसाथ स्थायी जागिरे भएका छन्। आमाभन्दा २१ वर्ष कान्छी छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन्। आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। उनले नियुक्ति भने लिइसकेकी छैनन्। आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन्। २०३९ जेठ २३ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका कोटजहारीमा जन्मिएकी निर्मलाको २०५९ सालमा जाजरकोट भेरी–२ रिसाङ निवासी महादेव कार्कीसँग विवाह भयो। २०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी उनको अथक प्रयासपछि उमेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निस्किएको हो। ‘लामो समयको अथक प्रयासपछि सफलता मिल्यो। खुसी लागेको छ। आफू ठुलो पदमा पुग्न नसके पनि छोरीले पहिलो प्रयासमै सफलता प्राप्त गरिन्। यसैमा सन्तुष्ट छु’, निर्मलाले भनिन्। छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्। सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट २०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्। सानै उमेरमा पढाइमा निकै रुची राख्ने उनले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन्। भन्छिन्, ‘एक वर्ष जति तयारी गरेकी हुँ। पहिलो प्रयासमै सफल भएँ। खुसी छु। जागिर खाए पनि सिभिल इन्जिनियरको पढाइ पनि सँगसँगै लैजाने उनको योजना छ।’ उनले आमाले स्थायी जागिरमा नाम निमालेको खुसी भएको बताइन् ।
काठमाडौं : चीनले नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ। सन् २०१९ को कोभिड कहरपछि पहिलो पटक चीनले औपचारिक रूपमा नेपालमा पर्यटक गन्तव्य मुलुकमा समावेश गरेको हो। चैत्र १ गते अर्थात् मार्च १५ बाट चिनियाँ पर्यटक घुम्ने देशमा नेपाललाई पनि राखिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए। चिनियाँ पर्यटन मन्त्रालयले अप्रुभड डेस्टिनेसन स्ट्याटस (एडीएस) दिएको पछिल्लो २० देशमा नेपाल पनि परेको छ। यसअघि २०२३ जनवरीमा पनि चिनियाँ मन्त्रालयले एडीएसमा २० देशको नाम सार्वजनिक गरेको थियो। तर, नेपालको नाम थिएन। त्यसपछि बोर्डले चिनियाँ राजदूतावासलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो। बोर्ड र पर्यटन व्यवसायीको पहलले चीनको गन्तव्य मुलुकमा नेपाल पर्न सफल भएको प्रवक्ता लामिछानेले सुनाए। चीनको एडीएसमा नेपाल परेपछि मार्च महिनाबाट नै चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा व्यवसायीको छ। सन् २०२३ को जनवरीमा १ हजार ४ सय ३६ र फेबु्रअरीमा २ हजार २ सय २२ चिनियाँ नेपाल घुम्न आएका छन्। सन् २०१९ को भन्दा करिब ७५ प्रतिशत र अब मार्चमा करिब ८५ प्रतिशतले पर्यटन क्षेत्र सुध्रिने आकलन गरिएको छ। फेब्रुअरीमा नेपाल आउने पर्यटको सूचीमा चीन सातौं स्थानमा परेको छ। पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रमा चीनको लगानी पनि बढिरहेको छ। सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा पनि चीनको लगानी छ। चिनियाँ पर्यटक लक्षित धेरै व्यापार–व्यवसाय पनि सञ्चालनमा आएका छन्। बोर्डका अनुसार करिब पाँच सय होटल तथा रेस्टुँरा चिनियाँ पर्यटक लक्षित खुलेका छन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत सांस्कृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, छोटो दूरीका पदयात्रामा चिनियाँ पर्यटक रमाउँछन्। चीनका धेरै सहरमा नेपालबाट सिधा उडानले पनि पर्यटक बढाउन सघाउने व्यवसायी बताउँछन्। अहिले हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङकिङ र कुनमिङमा सिधा उडान गरिहेको छ।
उपराष्ट्रपति पदका उम्मेदवार तथा जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग भेटवार्ता गरेका छन्। जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार चौधरीलाई उम्मेदवार यादवले आज भेटेका हुन्। सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेका छन्। चौधरीले आफूहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका सांसद प्रदीप यादवले बताए। 'रेशमजीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई यसबारे भन्छु भन्नुभएको छ,' उनले भने। जनमत पार्टी, नागरिक उन्मुक्ति र लोसपाले सहकार्य गर्ने भन्दै गठबन्धनसमेत गरेका थिए। जनमतले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाएको छ। यसैबीच उपराष्ट्रपतिका उमेदवार यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि भेटेका छन्। महतोले यसबारे पार्टीमा छलफल गरिने जवाफ दिएको सांसद प्रदीपले बताए। यही चैत ३ मा उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव, जनमतलगायत दलबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्नुहुँदै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने स्मरण समेत गराउनुभयो । उहाँले सांसद, मन्त्री भईसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणा समेत राख्नु भयो । ‘‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो । डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक सपथ ग्रहण गर्नु भयो । र अहिले आएर रामचन्द्र पौडेल हुनुभयो ।,’’ महामन्त्री शर्माले भन्नुभयो, ‘‘राजनीतिमा रुपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस् । तीन पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’’ महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो । महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहको छनौट गर्न नहुने पनि पटक–पटक दोहोर्याउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘‘हामीले त्यसलाई एउटा राष्ट्रिय रुपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रुपमा पनि आकर्षण गराउँछ । हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका आयोजनाहरु बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ ।’’ महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रुपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नु भयो ।

