सहिदको चिहानमा आफन्त पुग्दा...

पाेखरा | चैत २, २०७९

सहिदको चिहानमा आफन्त पुग्दा...

गण्डकी:   सबराज छन्त्याल ३९ वर्षको हुनुभयो । एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै हुनुहुन्थ्यो । जनयुद्धको रापताप चलेको थियो । देशमा सङ्कटकाल घोषणा भयो । यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो ।


युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो । साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पु¥याए । 


अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे । उक्त आतातयी घटना भएको २१ वर्षपछि बुवाको चिहान खोज्दै सबराज र उहाँका भाइ भीषण बुधबार अर्गल पुग्नुभएको थियो ।


रोशनध्वजकी धर्मपत्नी गौमला, छोराहरु गामु, सुगम, डोरबहादुरकी धर्मपत्नी फूलमाया र छोरी सपना पनि सँगसँगै जानुभएको थियो । घटना भएकै दिन पारेर उहाँहरु निसीखोलाको देवीस्थानदेखि ताराखोलाको अर्गल पुग्नुभएको हो ।


“घटना भएकै ठाउँमा सानो शोकसभा ग¥यौँ, बुवाको स्मृतिमा धुपबत्ती बाल्यौँ”, सबराजले भन्नुभयो, “सहिद परिवारका हिसाबले पहिलोपटक त्यहाँ पुग्दा हामी सबै भावुक पनि भयौँ, नरमाइलो अनुभूति पनि भयो ।” परिवारजनले सहिदको चिहान भएको ठाउँमा पहिलेदेखि नै जाने इच्छा देखाउनुभएको थियो ।


यसपालि बेला जु¥यो । वार्षिक पुण्यतिथि पारेर उहाँहरू गयार पुग्नुभयो । निरापराध मारिएका आफ्ना प्रियजनको चिहान छेउ उभिएर मौनधारण गरे, सहिदको सम्मानमा श्रद्धाका फूल चढाए र पार्टीको झण्डा गाडे । सहिदको स्मृतिलाई चीरस्थायी बनाउन गयारमा केही गर्ने सङ्कल्प पनि लिए ।


“परिवारजनका तर्फबाट त्यहाँ स्मृति स्तम्भ या अरु कुनै संरचना बनाउने सोच बनाएका छौँ”, सबराजले भन्नुभयो, “गाउँपालिकाले पनि गयारमै सहिद उद्यान बनाउन थालेको रहेछ, त्यो सुखद् कुरा हो ।” उहाँले युद्धमा आफन्त गुमाएका परिवारले न्याय र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभयो ।

 

गाउँकै मान्छेले माओवादीका सुराकी भनेर गलत सूचना दिएपछि रोशनध्वज, टीका र डोरबहादुर सुरक्षाकर्मीको निशानामा पर्नुभएको थियो । माओवादीको सहयोगी बनेको आरोपमा ज्यानै गुमाउन पुगेका उहाँहरू खासमा भने राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुहुन्थ्यो ।


राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले रोशनध्वज तत्कालीन जिल्ला सदस्य र अन्य दुई सक्रिय कार्यकर्ता रहेको बताउनुभयो । “माओवादीलाई खाना, बास दिएको भन्ने शङ्कामा निर्मम यातना दिएर उहाँहरूको हत्या गरिएको थियो”, सचिव पोखरेलले भन्नुभयो ।


हेलिकोप्टरबाट भातखाने डाँडामा ओरालेपछि सुरक्षाकर्मीले कुट्दै गयार भन्ने ठाउँमा लगेर हत्या गरी गाडेको उहाँले बताउनुभयो । ताराखोलाको केन्द्र भातखाने डाँडाबाट अझै उकालो चढेपछि गयार आइपुग्छ । गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रूपमा प्रयोग गरेको थियो । 


त्यहाँ एकैसाथ मारिएका तीनै जनालाई माओवादी र जनमोर्चा दुवैले सहिदका रूपमा सम्मान दिँदै आएका छन् । सहिद रोशनध्वजकी धर्मपत्नी गौमला र टीकाका छोरा सबराज निसीखोलाको कार्यपालिका सदस्यसमेत रहनुभएको छ । 


जनमोर्चाका कार्यकर्ता भए पनि जनयुद्धका सहिदकै रूपमा सूचीकृत गरिएको नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे बताउनुभयो । “उहाँहरूको हत्या भएको ठाउँमै गाउँपालिकाले सहिद उद्यान बनाइरहेको छ, पार्टीले पनि त्यसमा पहल लिइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसबेला जनमोर्चामा सक्रिय रहे पनि माओवादी आन्दोलनप्रति उहाँहरुको सदासयता र समर्थन थियो ।”


युद्ध पर्यटनको नमूना योजनाका रूपमा गयारको सहिद उद्यानलाई अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसअघि त्यहाँ गण्डकी प्रदेश सरकारको बजेटबाट पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको थियो । संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाको बनाइएको छ । 


लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार दुई सय ९१ वर्गमिटरमा उद्यानका संरचना बन्नेछन् । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अरु पूर्वाधार बन्न बाँकी नै छ । 


बजेटको स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । जनयुद्धमा ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धबाट बढी प्रभावित ठाउँ हो । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । युद्धबाट उठेको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । RSS

पोखरा:  गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ ।    बुधबार  गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ...

थप पढ्नुहोस्

डोटीः  डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।   कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको ...

थप पढ्नुहोस्

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले हिट एण्ड रनमा फरार व्यक्तिलाई ५ दिनपछि पक्राउ गरेको छ ।   कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा ...

थप पढ्नुहोस्