पोखरा: कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले इमोस्नल ईन्टेलीजेन्स वर्कसप सम्पन्न गरेको छ । कास्की जिल्लका सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि मनोदर्शन साइकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा एक दिने कार्यशाला सम्पन्न गरेको हो । कुल ३२ जनाको उपस्थिती रहेको सो कार्यशालामा मनोदर्शन साइकोलोजिकल कन्सर्नका प्रमुख प्रशिक्षक प्रज्वल आचार्य र प्रशिक्षक दिलिप श्रेष्ठले प्रशिक्षण दिएको मित्रमिलन वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण अधिकारीले जानकारी दिए । उनका अुनसार सो कार्यक्रम वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको हो । उक्त कार्यशालाबाट वित्तिय क्षेत्रमा काम गर्न थप उर्जा मिलेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । क्लबका सचिव मोहन प्रसाद अधिकारीले कार्यक्रम सञ्चमलन गरेका थिए भने रियल ईभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशिल पोख्रेल तथा पहल ग्रुपका निर्देशक अशोक पौडेलले कार्यशालाको समन्वयन गरेका थिए ।
काठमाडाैं, वैशाख १४ गते । विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि असार मसान्तसम्मकाे लागि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक लगाएको हो । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, खेलौनाहरु र तास आयातमा रोक लगाएको छ। कूटनीतिक नियोगका अधिकारीकाे लागि प्रयाेजनार्थ ती वस्तु ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू हुनेछैन ।
काठमाडौं, वैशाख १३ गते । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा दुई हजार ७१८ किलो सालमन माछा आयात भएको देखिन्छ । त्यस्तै, विभागको विवरण अनुसार सोही माछाको अन्य प्रकारसमेत गरी पाँच हजार ९५० किलो नेपाल भित्रिएको छ । अमेरिकी डलरको सञ्चिति कम भइरहेको बेला विदेशी नियोग वा होटल रेष्टुरेन्टले माछा आयात गरेको अनुमान गर्न सकिन्छ । ती माछाको आयात मूल्य एक करोड ९१ लाख ५४ हजार बराबर छ । उक्त माछाको आयातबाट सरकारले रु ५९ लाख १३ हजार बराबरको राजश्व प्राप्त गरेको छ । त्यस्तै, नेपाल आयात गरिने वस्तुमा एक रमाइलो विवरण हो गङ्गटा । चालु आवको नौ महिनामा एक हजार ८०० किलो गङ्गटा नेपाल भित्रिएको छ । गाउँ घरका खेतबारीमा पाइने र नेपालीको खास पहिचानसमेत नगरेको गङ्गटालाई डरलाग्दो प्राणीका रुपमा लिइन्छ । उक्त जलप्राणीको आयात मूल्य १२ लाख ८२ हजार बराबर छ । त्यसबाट सरकारले रु तीन लाख ८४ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । गङ्गटा, सर्पको टाउको पनि नेपाल भित्रिएको छ । विभागका अनुसार नौ महिनाको अवधिमा ६२ किलो पैठारी भएको छ । त्यसको लागत मूल्य एक लाख २९ हजार बराबर छ । सरकारले रु ३९ हजार राजश्व सङ्कलन गरेको छ । सुक्खा माछाको आयातको विवरण पनि त्यस्तै छ । विभागका अनुसार दुई लाख ९५ हजार ६१ किलो सुक्खा माछा आायत गर्दा सरकारले रु दुई करोड ९५ लाख दुई हजार बराबर राजश्व सङ्कलन गरेको छ । त्यस्तो माछाको आयात मूल्य नौ करोड ६६ लाख ८१ हजार बराबर छ । नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिससमेत देखिएको छ । नौ महिनाको अवधिमा तीन लाख ४८ हजार ७५० किलो क्याटफिसको आयात मूल्य आठ करोड ३९ लाख सात हजार बराबर छ । त्यसबाट सरकारले रु दुई करोड ५६ लाख पाँच हजार बराबर राजश्व सङ्कलन गरेको छ । माछाको मासु मात्रै पनि आयात भएको विभागको विवरणमा उल्लेख छ । नौ महिनाको अवधिमा आठ हजार किलो त्यस्तो मासु आयात भएको छ । त्यसको आयात मूल्य १८ लाख ८७ हजार रहँदा सरकारले रु पाँच लाख ७६ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । टुनाफिस ९१० किलो नेपाल भित्रिँदा आयातकर्ताले रु २१ लाख ९९ हजार बराबर लागत मूल्य तिरेका छन् । त्यसबाट सरकारले रु ६ लाख ७१ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । विभागका अनुसार ५७ हजार १६८ किलो प्राउन नेपालमा पैठारी भएको छ । त्यसको लागत मूल्य तीन करोड ४८ लाख ६१ हजार छ । सरकारले राजश्व मात्रै रु एक करोड पाँच लाख २९ हजार सङ्कलन गरेको छ । झिङ्गेमाछा मात्रै तीन हजार २०० किलो आयात भएको छ । त्यसको लागत मूल्य एक करोड ३७ लाख एक हजार बराबर रहँदा रु ४१ लाख आठ हजार बराबरको राजश्व सङ्कलन भएको छ । अर्को रमाइलो विवरण पनि छ । नेपालमा वैधानिक तवरबाटै २०० वटा कछुवा आयात भएको छ । त्यसको लागत मूल्य ८३ हजार छ र सरकारले रु २५ हजार राजश्वसमेत उठाएको छ । महीसमेत किनेर खाए घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही महीसमेत विदेशबाट आयात गरेर पिउने गरेको छन् । गाउँमा कुनै युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसैकारण हुनसक्छ महीसमेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो । भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर मही खरिद गरेर पिएका छन् । नेपाल कृषि प्रधान देश भनिँदै आएको छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्याङ्क पनि छ । कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर महीसमेत किनेर सेवन गर्नुपर्ने चरम परनिर्भर अवस्थामा नेपाली पुगेका छन् । विभागका अनुसार महीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार बराबर छ । त्यसबाट सरकारले रु एक करोड आठ लाख ९० हजार बराबर राजश्व सङ्कलन गरेको छ । बटर मिल्क मात्रै ११ हजार ८७५ लिटर आयात भएको छ । गोङ्ग हर्ट १६ हजार २०९ लिटर आयात भएको छ । स्वादजन्य दूध र क्रिम मात्रै दुई हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर नेपालमा पैठारी भएको छ । दूध पाउडर पाँच लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध दुई लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरक फरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको छ । त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार सो अवधिमा रु एक अर्ब सात करोड १९ लाख ३० हजार बराबरको दूध तथा दुग्धजन्य पदार्थको आयात भएको देखिन्छ । नेपालमा नै व्यावसायिक रुपमा पशुपालन गर्न सकिए मात्रै पनि ठूलो धनराशि विदेशिनबाट जोगिन सक्थ्यो । सरकारले विभिन्न जोन नै तय गरेर कृषि उपजको उत्पादनमा वृद्धि तथा चौपाया पालनमा प्रेरित गरे पनि त्यसको सकारात्मक नतिजा आएको देखिँदैन । सरकारले आगामी आवमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने बताइसक्नुभएको छ । तर, कार्यान्वयनको पाटो के कस्तो हुने हो भन्ने कुराले सबै कुरा निर्धारण गर्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन । रासस
काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अङ्कले उकालो लागेर दुई हजार ४२०.९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७.७४ अङ्कले उकालो लागेर ४६०.८८ मा पुगेको छ । नेप्से उच्च अङ्कले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । कूल २३० कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ४२.१२, व्यापार २२.७९, होटल तथा पर्यटन ८४.९३, विकास बैंक २६२.३७, जलविद्युत् १८९.१७, वित्त १४३.६७, निर्जीवन बीमा ४३४.३७, उत्पादन १५६.४६, अन्य ८८.७६, लघुवित्त १७९.४२, जीवन बीमा ४२३.३७, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.३३ अङ्कले उकालो लागेको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४३ अर्ब ८१ करोड १७ लाख ९६ हजार ५६६ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु २२ करोड बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट रु ११ करोड ७६ लाख २२ हजार ७३३, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड १२ लाख २० हजार १५७, हिमालयन डिस्टिलरी रु आठ करोड ४१ लाख १७ हजार ९३८ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख २९ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । शेयरमा सर्किट लामो समयपछि एक दर्जन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको मूल्य बढेपछि सकारात्मक सर्किट लागेको छ । नेप्सेमा अनुसार नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ९.८९, नेष्डो समृद्धि लघुवित्त २.८५, लक्ष्मी बैंकको ऋणपत्र २ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं- चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट रु २८ अर्ब ५४ करोड ९० लाख चार हजार बाहिरिएको हो । तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले रु तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व सङ्कलन गरेको छ । सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि रु २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले रु दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । युएईपछि टर्कीबाट रु पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ । केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ । गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ ।
इलामः इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रुपमा लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् । ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिला आत्मनिर्भर मात्र होइन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत पाइएको छ । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् । इलामकी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिनुभएको छ । सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिलालाई उहाँ रोजगारी दिन सफल हुनुभएको छ । इलाम तिल्केनीकी गुरुङको दैनिकी अहिले निकै व्यस्त छ । आठ वर्ष पहिले उहाँले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाउनुभएको छ । बिहान ४ बजेदेखि राति अबेरसम्म उहाँ काममा नै व्यस्त रहनुहुन्छ । उहाँको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको छ । छ जनाबाट सुरु भएको उहाँको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन् । रु पाँच लाखबाट सुरु भएको उहाँको उद्योगले अहिले वार्षिक रु ३५ लाखसम्म कमाइ हुँदै आएको छ । त्यस्तै इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गर्नुभएको हो । उहाँले पनि ३४ जना कामदार राखेर सो उद्योग सञ्चालन गर्दै आउनु भएको छ । रु चार लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उहाँहरु आत्मनिर्भरसमेत बन्दै जानुभएको छ । उद्योगमा सबैलाई कामको बाँडफाँड गरिएको छ । मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने काममा महिलाहरुले रोजगारी पाउनु भएको छ । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै जानुभएको छ । उहाँहरुले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताउनुभएको छ । उहाँहरुले बरु उल्टै परिवारमा पैसा सहयोग गर्न पाएको भन्दै खुसीसमेत व्यक्त गर्नुभएको छ । दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । पन्ध्र वर्ष पहिले सामान्य रुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुलो बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो समय विद्युतीय प्रविधिबाटसमेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरी लगायतका परिकार बनाइन्छ । हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ ।
काठमाडौँ, ८ वैशाख (रासस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छाँै ।” महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिनुभयो । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।” यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ । गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् । आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ । बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४सँै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्ने नीतिको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग प्रवद्र्धन गर्ने नीतिको अभाव छ, कतिपय नीति भएर पनि कार्यान्वयन हुन सकेको छैन ।” वार्षिक एक खर्ब बढीको कारोबार हुने औषधिमा अहिलेसम्म ५० प्रतिशत मात्रै नेपाली उत्पादनको हिस्सा रहेको उहाँको भनाई छ । औषधि उद्योगलाई प्रवद्र्धन गर्न सके विदेशी मुद्रा सञ्चिति र देशभित्र आर्थिक गतिविधिमा बढोत्तरी हुने क्षेत्रीको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा उत्पादन हुने औषधि विदेशबाट आयात रोक्नुपर्छ ।” नेपाललाई आवश्यक पर्ने खोपलगायतका औषधिजन्य वस्तुमध्ये २० प्रतिशत तत्काल उत्पादन गर्न नसक्ने भए पनि ८० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सकिने क्षेत्रीको भनाइ छ । उहाँले भन्नुभयो, “प्रविधि हस्तान्तरणका कारण खोप लगायतका केही औषधिबाहेक सबै औषधि नेपालमै उत्पादन गर्न सकिन्छ ।” नेपाली औषधि उद्योगमा रु ७० अर्ब हाराहारी लगानी भएको भन्दै उहाँले त्यसको ५० प्रतिशत बैंकिङ लगानी रहेको जानकारी दिनुभयो । पछिल्लो समय एउटै कम्पनी सञ्चालन गर्न कम्तीमा रु ५० करोड आवश्यक पर्ने बताउँदै उहाँले भन्नुभयो, “सरकारले नीतिगत रुपमा सहजता दियो भने व्यवसायी लगानी गर्न तयार छन् ।” नेपालमा हाल ८५ उद्योगले औषधि उत्पादन गरिरहेका छन् भने केही उद्योग सञ्चालनको तयारीमा रहेका छन् । सङ्घका उपाध्यक्ष सन्तोष बरालले २५ वर्षअघि बङ्गलादेश अहिलेको हाम्रो हालतमा रहेको भन्दै भन्नुभयो, “अहिले बङ्गलादेशमा ९९ प्रतिशत औषधि स्वदेशमी उत्पादन हुन्छ ।” स्वदेशमा उत्पादन हुने औषधि आयातमा प्रतिबन्ध लगाउँदा बङ्गलादेशले औषधि उद्योगमा ठूलो सफलता पाएको उदाहरण दिँदै बरालले नेपालमा पनि त्यो नीति लागू गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा धेरैथरिका औषधि उत्पादन हुने बताउँदै बरालले भन्नुभयो, “अहिले पनि नेपालमा २०० थरिका औषधि बाहिरबाट आयात गर्न रोक्नुपर्छ । हामी उत्पादन गर्न सक्षम छौँ ।” कस्तुरी फर्मास्युटिकल्सका निर्देशक ईश्वर भण्डारी नेपाली औषधि उद्योग विभिन्न समस्यामा रहेको बताउनुहुन्छ । उहाँको भनाइमा बैंकको चर्काे व्याज, औषधि व्यवस्था विभागमा हुने ढिलासुस्ती, कच्चा पदार्थ आयातका समस्या, जनशक्तिको अभावसँगै नीतिगत समस्या रहेका छन् । नेपाली उद्योगलाई राज्यले हेर्न नसकेको भन्दै उहाँले नीतिगत सुधार गर्न सकेमा झण्डै आत्मनिर्भर अवस्थामा पुग्न सकिने भण्डारी बताउनुहुन्छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपाली औषधि उद्योगका समस्या समाधान गर्न धेरै वर्षअघिदेखि गृहकार्य हुँदै आएको बताउनुभयो । उहाँले उद्योगका समस्या समाधानका लागि प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “समस्या समाधानका लागि हामी सकारात्मक छौँ, सबैको सहयोग भयो भने समस्या समाधान गर्न सक्छौँ ।” १० वर्षदेखि औषधि उद्योगका नीति कार्यक्रम आउन नसकेको उहाँको भनाइ छ ।
रामपुर, ४ वैशाख (रासस): कालीपारे दाइ कति राम्रो ढाका टोपी काँधमा गलबन्दी(किरण खरेल, तारादेवी) पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन तानबाट ढाका बुन्ने कला र सीपमा निखारता आउँदा यतिखेर आफ्नो काममा जोस र जाँगर थपिएको छ नै, स्वरोजगार बनेकामा आत्मसम्मानको महसुस पनि भएको छ । उहाँ तानसेन बजारको सिल्खानटोलमा रहेको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्ने गर्नुहुन्छ । छ वर्षदेखि नै सो काममा संलग्न उहाँले दुई छोराछोरीसहित कोठा भाडा लिएर कारखानामा ढाका बुन्दै आउनुभएको छ । “श्रीमान् भारतमा मजदुरी गर्नुहुन्छ, एक जनाको कमाइले परिवारको पालनपोषण, छोराछोरीको पढाइ खर्च धान्न सकस हुन्छ, अर्कातर्फ दिनभर खाली समय काममा सदुपयोग भएको छ, काम गरेपछि हातमा दाम परिहाल्छ”, उहाँले भन्नुभयो । छोराछोरी पढ्न गएपछि घरायसी काम सकाएर ढाका बुन्ने उहाँले साथीहरूसँगै काम गर्दा दिन बितेको पत्तो नै नहुने अनुभव सुनाउनुभयो । फुर्सदका समय बिहान ७ बजेदेखि साँझसम्म पनि उहाँ निरन्तर ढाका बुन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “काम जति धेरै गर्न सक्यो, उति नै धेरै कमाउन सकिने रहेछ, धेरै समय खटिएर काम गर्नेले राम्रै कमाउन सक्छ, दिउँसो चार÷पाँच घण्टाको समय काम गरियो भने महिनामा १२÷१५ हजार रुपियाँ त सजिलै कमाउन सकिने रहेछ, महिलाहरूलाई आयआर्जन गर्न यो व्यवसाय धेरै राम्रो छ ।” साँझ बिहानको घरायसी काममा मात्रै सीमित रहने र दुई÷चार पैसाका लागि अरूका भरमा बसेका महिलालाई सीप सिकेर आफैँ स्वरोजगार बन्न उहाँ सुझाव दिनुहुन्छ । आफ्नो हातमा कमाइ भएपछि अरूको अपहेलना खेप्नु नपरेको र आफूलाई आत्मनिर्भर बन्ने बाटो मिलेको नेपाली बताउनुहुन्छ । रिब्दिकोट गाउँपालिका–८ फेक बस्ने सीमा बगालेलाई आजभन्दा पन्ध्र वर्षअघि पढेलेखेको छैन, जागिर पाउने आसै भएन, आयआर्जन कसरी गर्ने भन्ने समस्याले निकै पिरोल्थ्यो । रोजगारीका खोजीमा तानसेन बजारमा आउनुभएका बगाले यहाँको कारखानामा ढाका बुन्ने अवसर पाएपछि भने अहिले स्वावलम्बी बन्दै जानुभएको छ । तानमा बसेर ढाका बुन्न थालेको डेढ दशक भयो । काम गर्ने क्रममा सीप विकास हुँदै गर्दा अहिले उहाँलाई आफ्नो खर्चका निम्ति अरूका भरमा बस्नुपर्ने अवस्था छैन । “पढ्न नसक्दा जागिर पाउने आसै थिएन, कारखानामा काम पाउँदा धेरै खुसी लागेको छ, ढाका बुनेर आफ्नो खर्च चलेकै छ, काम नपाएर खाली बस्नु पनि परेन, अरूसँग दुईचार पैसाका निम्ति हात थाप्नु परेको छैन”, बगालेले भन्नुभयो । मिटरको हिसाबले ज्याला पाउने हुँदा यसैमा मात्रै ध्यान दिएर काम गर्नेले राम्रो कमाइ गरिरहेको व्यवसायमा संलग्न महिला बताउँछन् । पाल्पाली ढाका बुनाइ नेपाली र बगाले जस्तै यहाँका धेरै महिलाको आयआर्जन गर्ने बलियो माध्यम बनेको छ । श्रीमान्का भरमा मात्र बस्दा जीविका चलाउन धौधौ भएपछि धेरै महिलाले व्यावसायिक रूपमा तानमा बसेर ढाका बुनी दैनिक जीविकोपार्जन गरिरहेका छन् । ढाका उद्योग महिलाका निम्ति रोजगारको बलियो स्रोतका रूपमा स्थापित बनेको छ । ढाका उद्योगबाट धेरैलाई रोजगारी दिन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझी बताउनुहुन्छ, । उहाँको उद्योगमा अहिले दैनिक बिहानदेखि साँझसम्म ३० कामदार ढाका बुन्ने कार्यमा संलग्न छन् । यहाँ छोराछोरीलाई स्कुल, क्याम्पस पठाएर फुर्सदको समय ढाका बुनेर आफ्नो जीविका चलाउने गरेको पाइन्छ । “एउटा उद्योगबाट दैनिक ३० जनाले रोजगार पाएका छन्, धेरैजसो छोराछोरी पढाउन कोठा भाडामा बस्ने महिलाहरू हुनुहुन्छ, स्कुल पठाएपछि यहाँ आएर तानमा बसी ढाका बुन्ने गर्नुहुन्छ, यो देख्दा पनि आनन्द लाग्छ”, उहाँले भन्नुभयो । तानसेन बजारमा फेन्सी पसल चलाउनुभएका रायमाझीले विसं २०४८ देखि ढाका कपडाको व्यापार सुरु गर्नुभएको हो । विस्तारै उद्योगका रूपमा विकास गर्दै गएपछि अहिले उहाँ धेरैलाई यसैबाट रोजगार दिने एक सफल उद्योगीका रुपमा स्थापित हुनुभएको छ । द्वन्द्वकाल र कोभिड –१९ को प्रभावले व्यवसायलाई असर पु¥याए पनि ढाका सम्मानजनक व्यापार भएकाले उद्योगीलाई राम्रो पहिचान दिएको उहाँको अनुभव छ । उहाँ एक वर्षमा सरदरमा रु २० देखि २५ लाखसम्मको ढाका कपडाको कारोबार गर्नुहुन्छ । ब्राण्डमा गएपछि ठगिने क्रम हटेको र उद्योग थप हुँदै गएकाले ढाका कपडाको व्यापार फस्टाउँदै जाने आशा उहाँ व्यक्त गर्नुहुन्छ । पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष पूर्णमाया महर्जन आफूले चलाएको कारखानामा हाल १६ महिलालाई दैनिक रोजगारी दिएको बताउनुहुन्छ । पाल्पाको पहिलो ढाका व्यवसायी महर्जन आठ दशक पार गरे पनि अझै बिहानै उठेर कारखानामा खटिएका कामदारसँंगै काम गर्नुुहुन्छ । महर्जनका श्रीमान् गणेशमानले विसं २०१५ मा पाल्पामा पहिलो ढाका उद्योग स्थापना गरी यहाँका विपन्न, गरिब र महिलालाई रोजगारीको सिर्जना गर्नुभएको थियो । “उद्योग स्थापनाका तत्कालीन समयमा सडकमा मजदुरी गर्ने, गिट्टी कुट्ने, ढुङ्गा, माटो, बालुवा बोक्ने र भारी बोक्ने महिलालाई डो¥याएर उद्योगमा ल्याई ढाका बुन्न लगाइयो, उहाँहरू पनि धेरै मेहनत गरेर ढाका बुन्नुहुन्थ्यो”, उहाँले थप्नुभयो,“मेरो उद्योगमा ढाका बुन्ने महिलाहरू अहिले सीप विकास गरी आफैँ उद्यमी बनेर व्यवसाय चलाएको देख्न पाउँदा सन्तुष्ट छु ।” महर्जनले हालसम्म एक हजारभन्दा बढी महिलालाई आफ्ना कारखानाबाट आयआर्जनको अवसर दिनुभएको छ । बुढ्यौली लागे पनि उहाँ विशेषगरी एकल महिला, गरिब, विपन्न, दलित, जनजाति, घरपरिवार– समुदायबाट अपहेलित महिलालाई प्राथमिकता दिँदै ढाका बुन्ने कार्यमा सीप तथा हौसला दिने गर्नुहुन्छ । पहिला मासिक रूपमा तलब दिएर कामदार खटाउने महर्जनले अहिले भने मिटरको हिसाबले पारिश्रमिक दिने गरेको बताउनुहुन्छ । महर्जन भन्नुहुन्छ, “मिटरको हिसाबले पारिश्रमिक दिन थालेपछि कामदारले राम्रै कमाइ गर्नुभएको छ, नयाँ नयाँ डिजाइन, बुट्टा भर्नेलाई थप सुविधा उपलब्ध छ, निरन्तर काममा खटिएर काम गर्नेले महिनामा रु पन्धदेखि रु बीस हजारसम्म त सजिलै कमाइ गर्नुहुन्छ” । काठमाडौँ, गोरखपुरलगायत विभिन्न स्थानमा उत्पादित ढाका आयात गरी केही व्यापारीले पाल्पाली ढाकाको नाम बेचेर नक्कली ढाका बेच्ने गर्दा व्यवसाय धराप अवस्थामा पनि पुग्यो । सङ्घले बाहिरबाट भित्रिएका ढाका पाल्पाली ढाकाको नाम राखेर बिक्री नगर्न निर्देशन दिए पनि केही व्यापारीको अटेरका कारण पाल्पाली ढाका उद्योग सङ्कटमा प¥यो । पाल्पाली ढाकाबाट उपभोक्ता नठगिन ब्राण्डका रूपमा ढाका कपडा बजारमा ल्याउन थालेको अध्यक्ष महर्जनको भनाइ छ । महर्जनका श्रीमान् गणेशमानले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गर्नुभएको हो । अहिले यो देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा तिनलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उहाँकी श्रीमती पूर्णमाया हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउनुहुन्छ । उमेरले ८४ वर्ष पुगे पनि उहाँले व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारीको ढोका खोलिदिनुभएको छ । पूर्वदेखि पश्चिम सम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उहाँको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी करिब ९० थरिका सामान उहाँ उत्पादन गर्नुहुन्छ । सुरुमा परिवारले मात्रै धानेको व्यवसायलाई बढाउँदै जाँदा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि उहाँले निरन्तरता दिनुभएको छ । पाल्पामा हाल १५ ढाका कारखाना सञ्चालित छन् । पाल्पाली ढाकाका नाममा छल गरेर बाहिर उत्पादन भएका ढाका यहाँ भित्रन थालेपछि दुई ढाका कारखाना बन्द हुन पुग्यो । अहिले पुनः बन्द रहेका कारखानालाई सञ्चालनमा ल्याइएको छ । सात मात्रै कारखाना सञ्चालनमा रहेकामा यसै आर्थिक वर्षदेखि बन्द रहेका दुई कारखानासहित आठ कारखाना थपिएको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताउनुभयो । “सङ्घले ढाका कपडासम्बन्धी सीप विकास तालिम, नयाँ कारखाना स्थापना गर्ने व्यवसायीलाई विभिन्न बैंकसँग समन्वय गरी ऋण सहयो र सहज रूपमा धागो उपलब्ध गराएको छ, कोभिड –१९ को अवस्था सहज बन्दै जाँदा कारखाना विस्तार हँुदै गएको छ”, उहाँले भन्नुभयो । सङ्घले ढाकाको सामग्री बिक्री नभएमा व्यवसायीबाट खरिद गरी तानसेनमा रहेको कोसेली घरबाट बिक्री गर्ने व्यवस्था मिलाएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक पालिका एक कोसेली’ कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकाका समन्वयमा ढाका कपडा बिक्रीका लागि कोसेली घरको व्यवस्था गरिएको हो । गत असोज १ गते तानसेनमा कोसेली घर स्थापना गरी ढाका कपडाको व्यापार भइरहेको छ । गत फागुन १९ गते पाल्पाली ढाकालाई ‘ब्राण्ड’ घोषणा र चैत १२ गते पाल्पालाई ‘ढाका कपडाको राजधानी’ घोषणा गरियो । हरेक वर्ष चैत १२ का दिन ढाका महोत्सव मनाउने सङ्घको योजना छ । बजारमा ढाकाको माग बढ्दो रहेकाले सङ्घले अबको दुई वर्षभित्र एक हजार ५०० जनालाई सीप विकास तालिम दिने भएको छ । हाल यहाँका कारखानाबाट ५०० भन्दा बढीलाई प्रत्यक्ष रोजगार गर्ने अवसर मिलेको छ । उद्योगमा काम गर्ने कामदारमध्ये ९८ प्रतिशत महिला छन् । यहाँ सञ्चालित उद्योगबाट महिलाले राम्रो रोजगार गर्ने अवसर पाएका छन् । न्यूनतम तीनदेखि बढीमा एक सयभन्दा बढी तान राखेर कारखाना सञ्चालन गरिएको छ । एक सयभन्दा बढी तान भएका चार कारखाना छन् । रु पाँच÷सात लाखका लगानीमा व्यवसाय चलाउन सकिने हुँदा ढाका उद्योगबाटै राम्रै लाभ लिन सकिनेछ । पाल्पाली ढाकाको माग अहिले बजारमा बढ्दो छ । पहिला ढाका भन्नेबित्तिकै चोली, टोपी र भोटोमा मात्रै सीमित भएकामा हिजोआज ग्राहकको रोजाइअनुसार कमिज, साडी, ब्लाउज, झोला, कुर्ता, पछ्यौरा, आस्कोट, पर्दालगायत विभिन्न सामग्री तयार पारिन्छ । अहिले कोभिडको अवस्था सामान्य हँुदै जाँदा यहाँ सञ्चालित उद्योगबाट वार्षिक रु दुई करोडसम्मको कारोबार हुने लक्ष्य लिइएको छ । पाल्पाली ढाका सङ्घले ढाका उत्पादन बढाउन जिल्लाका दशवटै पालिकाका समन्वयमा ढाका कपडाको तालिम चलाइने जनाएको छ । बाहिरबाट भित्रिएका यन्त्रबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डमा लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग, व्यापार फस्टाउने अवस्थामा छन् भने थपिने क्रम पनि जारी छ । जिल्ला सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा र अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ ।