राष्ट्रिय महिला फुटबललाई युनिलिभरको २५ लाख प्रायोजन
काठमाडाैं | साउन २, २०८०

काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।
प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मङ्गलबार युनिलिभर नेपालका कार्यकारी निर्देशक आमलाल मुखर्जी र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि गरिएको हो । सम्झौता अनुसार युनिलिभरले एन्फामार्फ महिला फुटबल टोलीलाई आर्थिक सहयोग प्रदान गर्ने र एन्फाले युनिलिभरको बजार प्रवर्द्धनमा सहयोग गर्नेछ ।
दुई पक्षबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले युनिलिभरले महिला फुटबलमा गरेको सहयोगको लागि उच्च सम्मान रहेको बताए ।
‘‘महिला खेलाडीले सीमित स्रोत साधनबीच देशको नाम उच्च बनाउन कडा मिहेनत गरेका छन् । सरकारले खेलाडीलाई पर्याप्त सहयोग गर्न सकिरहेको अवस्था छैन । खेलकुदको विकासका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहयोगको आवश्यकता छ । युनिलिभर जस्तै निजी क्षेत्रको सहयोगले खेलकुद माथि जाने हो । खेलकुदको सुधार र विकासका लागि सरकारले खेलाडीको बीमा, भौतिक संरचना निर्माण र चुस्त व्यवस्थापन जस्ता कार्यमा विशेष ध्यान दिनेछ,’’ मन्त्री लिम्बूले भने ।
यस्तै राष्ट्रिय टोलीकी कप्तान एञ्जीला तुम्बापो सुब्बाले युनिलिभरको सहयोगले महिला फुटबल खेलाडीमा उत्साह थपेको बताए । उनले यस्तो सहयोगले महिला सशक्तीकरण र भविष्यमा फुटबल खेल्न चाहने नयाँ महिला खेलाडीलाई पनि प्रेरणा मिल्ने बताईन् ।
एन्फाका अध्यक्ष नेम्बाङले युनिलिभरको सहयोग नेपाली महिला फुटबलका लागि ऐतिहासिक क्षण भएको बताए । उनले महिला विश्वकप अगाडि गरिएको सहयोगले महिला टोलीमा नयाँ जोस थपेको बताए । उनले भने , ‘‘ एन्फाले नेपाली महिला फुटबलले सकेसम्म सन् २०२७ को विश्वकप र नसके २०३१ को विश्वकप खेल्ने गरी योजना बनाएको छ । यस सहयोगले महिला टोलीले विश्वकप खेल्ने लक्ष्यमा सहयोग गर्नेछ ।’’
युनिलिभरका कार्यकारी निर्देशक मुखर्जीले नेपाली महिला फुटबल टोलीसँग जोडिन पाउनु खुसीको क्षण भएको बताए । उनले यस सहयोगले महिला टोलीको प्रदर्शनमा सुधार आउने विश्वास समेत गरे।
नेपालले सन् १९८० मा पहिलो पटक महिला टोली तयार गरेको थियो । सन् १९८६ मा हङकङसँग पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको नेपाली टोली अहिले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको छ ।
एसियाड तयारीकै लागि महिला टोलीले हालैमात्र बङ्गलादेशसँग दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेर स्वदेश फर्किएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।
म्याग्दी: जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस ...
पोखरा: रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...