शीर्ष नेताबीच भएको सहमति २ घण्टा पनि टिकेन
काठमाडाैं | असार २४, २०८०
काठमाडौं: प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच संसद् बैठक सञ्चालन गर्न भएको सहमति दुई घण्टा नबित्दै तोडिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिंहदरबारमा बोलाएर छलफल गरेपछि संसद् चलाउनेबारे सहमति भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले भारतीय व्यापारी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनका क्रममा बोलेको कुरा फिर्ता लिने र एमालेले संसद् चल्न दिने नेताहरूले सहमति गरेका थिए । दिउँसो १ बजे सहमति भएपछि ३ बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक सञ्चालनको तयारी थियो । तर नेकपा एमालेले केही सर्त थपेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक भोलि सोमवारका लागि आह्वान भएको छ ।
सिंहदरबारबाट बाहिरिएपछि संसद् भवन पुग्नुभएका एमाले अध्यक्ष ओलीले यसअघि माओवादीका नेताहरू र प्रधानमन्त्री प्रचण्डले एमालेमाथि लगाएका आरोप फिर्ता हुनुपर्ने, प्रचण्डको सचिवालयले निकालेको विज्ञप्ति खारेज हुनुपर्ने लगायतका माग थपेपछि सहमति तोडिएको माओवादीका नेताहरूले बताएका छन् ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि गएको बुधवारदेखि नै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरोध गरिरहेको छ । आज पनि एमालेका सांसदले राष्ट्रियसभाको बैठक चल्न नदिएपछि भोलिसम्मका लागि स्थगित भएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

