बलात्कारपछि जन्मिएको छोरा लिएर ३ दिनदेखि न्याय माग्दै अनशनमा निहारिका
काठमाडाैं | जेठ २९, २०७९
०७६ साल कात्तिकमा दाइको साथीले बलात्कार गरेर गर्भवती भएपछि न्यायप्राप्तीको लडाईमा निस्किएकी धनुषाकी निहारिका राजपुत अहिले बच्चा जन्मिएको २१ महिनापछि पुनः आन्दोलनमा उत्रिएकी छिन् ।
बलात्कारीलाई कार्वाही गर्न धनुषा जिल्ला अदालत पुगेकी राजपुत अन्ततः बलात्कारीकै पक्षमा फैसला भएको भन्दै अहिले राजधानीमा अनशन बसेकी छिन् । आज अनशनको तेस्रो दिन हो ।
यसअघि जिल्ला अदालत धनुषाले आरोपिलाई सफाइ दिएपछि उनले उच्च अदालत धनुषामा पुनरावेदन गरेकी थिइन् । तर चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि उनले काठमाण्डौंको माइतीघरमा आमरण अनशन सुरु गरेकी हुन् । बलात्कार हुँदा राजपुत १७ वर्षकी थिइन् ।
अनशनको पहिलो दिन राजपुतलाई प्रहरीले अनशनस्थलबाट हटाउन बल प्रयोग गर्दा सामान्य घाइते भएकी छिन् । प्रहरीद्वारा पुनः बल प्रयोग हुने बुझेर पनि उनले बच्चाकोक डीएनए परीक्षण गर्नुपर्ने, बलात्कारीलाई कारवाही हुनुपर्ने र आफुले न्याय पाउनुपर्ने मागसहित अनशन जारी राखेकी छिन् ।
राजपुत भन्छिन् ‘थप पीडा त मलाई त्यतिबेला हुन्छ, जब बलात्कारीलाई म यो समाजमा खुलेआम हिँडिरहेको देख्छु ।’

न्याय माग्दै राजपुतले गरेको अपीलः
नमस्कार, म कुमारी आमा निहारिका राजपुत । म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले २१ महिनाको भइसकेको छ ।
म बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला । जहाँ जहाँ पुगे पनि मलाई नै गलत देखाइयो । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो । जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ । म मेरै घर परिवारबाट तिरस्कृत हुनुप¥यो । जसको परिणति आजका दिनमा साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेकी छु ।
म न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रभलोपन पनि दिए । तर, म आफ्नो लडाइँमा अडिग थिएँ । जसका लागि राष्ट्रिय महिला आयोगको ढोका ढकढकाउन पनि पुगेँ । तर, कुनै सहयोग पाइनँ । उल्टै मलाई कमजोर बनाउने व्यवहार पाएँ ।
परिवार, समाजबाट तिरस्कृत हुँदाहुँदै पनि मैले हिम्मत हारेकी थिइनँ । मलाई विस्वास थियो, अन्तिममा न्यायलयबाट मैले न्याय पाउनेछु । तर, अन्त्यमा राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण न्यायलय अपराधीको पक्षमा उभियो । धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको बाहेक अर्को विकल्प थिएन ।
जिल्ला अदालतको फैसला उपर मैले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेँ । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन । मेरो मुद्दालाई अदालतले लिंगरिङ मात्रै गरिरहेको छ । मेरो कुनै जागिर छैन । आफू र बच्चा बाँच्नु छ । अनि मैले अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ?
मलाई न्यायलायको फैसलाप्रति फिटिक्क विस्वास छैन । न्यायलयले पीडितको पक्षमा फैसला गर्छ भन्ने विस्वास नै ममाथि उडेको छ । अहिले दिमागमा मर्ने सोच मात्रै आइरहन्छ । तर, यो लडाइँ म एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौं निहारिकाहरुको हो भन्ने भएपछि म आमरण अनसनमा बस्ने निर्णयमा पुगेकी छु । म मर्न तयार छु, तर मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउनेछ भन्ने विस्वास छ ।
मेरो आमरण अनसनको उद्देश्य मैले न्याय पाउनुप¥यो । मजस्ता हजारौं निहारिकाहरुले न्याय पाउनुप¥यो । मेरा मागहरु मैले बूँदागत रुपमा पेश गरेकी छु ।
१, मेरो बच्चाको डिएनए टेस्ट गरिनुप¥यो । काखमा बच्चाा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुप¥यो ।
२, उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुप¥यो ।
३, मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुप¥यो ।
४, घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुप¥यो । हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुप¥यो । उनीहरुमाथि पनि छानबिन हुनुप¥यो ।
५, मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुप¥यो ।
जबसम्म मेरा यी मागहरु पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन । त्यतिन्जेलसम्म म मेरो अनसन तोड्ने छैन ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

