पुस्तौँको प्रतीक्षापछि सङ्करपोखरीमा खानेपानी

काठमाडाैं | माघ १५, २०७९

पुस्तौँको प्रतीक्षापछि सङ्करपोखरीमा खानेपानी तस्बिर साभार

पर्वत:  पुस्तौँदेखि खानेपानीको लागि कष्ट भोग्दैआएका पर्वतको फलेवास नगरपालिका –३ सङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या अहिले आएर पूरा हुनेभएको छ । गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या समाधान भएको हो । 


लमाय खोलाबाट करिब १७ सय मिटर उचाइमाथि लिफ्टिङ गरी मैदानस्थित लिमिकोटमा पानी पुर्‍याइएको आयोजनाका सचिव कमल भुसालले जानकारी दिनुभयो । यसरी ल्याइएको पानी फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । 


गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सहयोगमा उक्त आयोजना सञ्चालन भएको हो । आयोजनाको ट्याङकी निर्माण, विद्युतीकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भइसकेको र वितरण पाइप जडान पछि घर–घरमा खानेपानी वितरण गरिने सचिव भुसालले जानकारी दिनुभयो । 


उपभोक्ता समितिका अनुसार आयोजनाको परीक्षण सफल भइसकेकाले पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत वितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरी उपभोक्तामा विद्युत मिटरसहितको धारा जडान गर्न अझै केही समय लाग्ने भुसालले बताउनुभयो ।


आर्थिक वर्ष २०७५–७६ देखि सुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपियाँ लागत स्टिमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । 


उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपियाँ मात्र खर्च भएको छ । आयोजनाको भौतिक प्रगति धेरै भए पनि मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वित्तीय प्रगति २१.३४ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ । बाँकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो । 


उहाँका अनुसार धेरै जनसङ्ख्या लाभान्वित आयोजना भएकाले प्रदेश सरकारले समेत विशेष महत्त्वका साथ हेरेको र आवश्यक बजेट समयमै विनियोजन गर्ने प्रतिबद्धता आएकाले छिटो काम सम्पन्न गर्नेगरी बजेट विनियोजन हुने गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले बताउनुभयो । 


उहाँले आयोजनाको काम छिटो सक्नेगरी कार्यविधिले मिल्नेसम्म बजेट थप गर्ने प्रतिबद्धता जनाउनुभयो । संवैधानिक अधिकारभित्रै पर्ने स्वच्छ खानेपानीको पहुँच आम सर्वसाधारणसम्म पुर्‍याउन मन्त्रालयले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्रालयले २०७५ फागुनमा लमाय खोला लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी बस्तीसम्म ल्याउन समस्या परेको थियो । 


आयोजनामा आवश्यक पर्ने विद्युत ल्याउन विद्युत प्राधिकरण लगायतका विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम अघि बढाउनुपर्ने भएकाले आयोजनाको काम केही ढिलाइ भएको उपभोक्ता समितिले जनाएको छ । लमाय खोलाको पानी मैदानमा ल्याएर घरघरै वितरण हुने भएपछि पुस्तौँदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरू खुसी भएका छन् । 


सङ्करपोखरीको डाँडामा पानीको समस्याका कारण यहाँका स्थानीयहरू १ घण्टा लगाएर एक गाग्री पानी बोक्न बाध्य थिए । खानेपानी समस्या समाधानका लागि डहरे लेकबाट पनि पानी ल्याएको भए पनि दिगो रूपमा सञ्चालन हुन नसक्दा आकाशे पानीको भरमा बस्नुपरेको स्थानीय चित्राकुमारी क्षेत्रीले बताउनुभयो । 

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्

वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ।    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...

थप पढ्नुहोस्

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

थप पढ्नुहोस्