म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु
म्याग्दी | पुस २९, २०७९

म्याग्दी (बनी): म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । बिहीबारदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ सुरु भएको हो ।
पर्यटन, कृषि, कला संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी जिल्लाको विकासमा टेवा पु¥याउन महोत्सव आयोजना गरिएको हो । महोत्सवले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास गरिएको छ । बेनीको खुलामञ्चमा आयोजना गरिएको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले मेला पर्वले कला संस्कृतिको संरक्षण गर्नुका साथै जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कोरोनाका कारण प्रभावित बनेको पर्यटन र उद्योग व्यवसायलाई उकास्न महोत्सव सफल हुने आशा व्यक्त गर्नुभयो । म्याग्दी जलविद्युत्, कृषि र पर्यटन विकासको राम्रो सम्भावना भएकाले निजी क्षेत्रले सरकारसँग सहकार्य गर्नसकेमा समृद्धिको ढोका खुल्ने भनाइ उहाँको थियो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजाति र धर्म समुदायका सङ्घसंस्थाहरूले आआफ्नो कला संस्कृति, भेषभूषा, विभिन्न जातजातिहरूको पुर्ख्यौली नाच र बाजागाजासहित बजारमा झाँकी प्रस्तुत गरेका थिए ।
महोत्सवका अवसरमा स्थानीयले तुल, ब्यानर, स्वागतद्वाराले बजारलाई झकिझकाउ बनाएका छन् । बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय, पर्यटन प्रवर्द्धन र सम्भावनाहरूको उजागर गर्न महोत्सवको आयोजना गरिएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । महोत्सवले जिल्लामा रहेको सम्भावनाहरूको उजागर गर्ने र यहाँका उत्पादनहरूको बजारीकरण र प्रचारप्रसारमा समेत सघाउ पुग्ने प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरूमा हेलिकप्टरमार्फत दृश्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङसमेत सञ्चालन गरिएको छ । महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलका रूपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबललगायतका प्रतियोगितासमेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामग्रीहरूकोस्टलसमेत राखिएका छन् ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २५८ वटा व्यावसायिक स्टलहरू राखिएका छन् । स्थानीय उत्पादनलाई बिक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
महोत्सवमा करिब डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि बेनीमा महोत्सवको आयोजना हुँदै आएको छ ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...