बागलुङको ऐतिहासिक गढी संरक्षणको पर्खाइमा

बाग्लुङ | पुस २४, २०७९

बागलुङको ऐतिहासिक गढी संरक्षणको पर्खाइमा तस्बिर साभार

बागलुङ:  बागलुङको जैमिनी नगरपालिकाका तीनवटा वडाको संगमस्थल माईकोस्थान मन्दिर क्षेत्र हो। जैमिनी नगरपालिका वडा नं.–१० राङखानी, वडा नं.–४ सर्कुवा र वडा नं.–७ जैदीको माथिल्लो भागमा अवस्थित माईकोस्थान मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ। 


माईकोस्थान मन्दिरदेखि करिब दुई किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत तथा गढी भवन संरक्षणको अभावमा भताभुङ्ग भएको छ। तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाका लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रूपमा परिणत भएको हो। 


तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्राम स्थल, रानीको शयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरादिने संरचना कतै पूर्ण रूपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको सर्कुवाका स्थानीय नरवीर थापाले बताउनुभयो। 


त्यो समयमा सत्रु पक्षबाट बच्नका लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेष मात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ। तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिनुभयो। माईकोस्थान क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालीन सेनाले निर्माण गरेका बङ्करहरू केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन्। सेनाले ओतका लागि निर्माण गरेका सत्तलको भग्नावशेष देख्न सकिने सचिव थापाको भनाइ छ। ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्रीहरू मासिँदै गएका छन्। हातहतियार चोरी भएको छ। “कोत क्षेत्र ऐतिहासिक स्थल हो,” सचिव थापाले भन्नुभयो, “अहिले एउटा तोप मात्रै बाँकी छ। तोप संरक्षण पनि चुनौती पूर्ण भयो।”


तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लाहरू छैनन्। बाहिर प्रदर्शन गरेर राख्दा चोरी हुने डर भएपछि मन्दिर बनाएर राखिएको सचिव थापाको भनाइ छ। राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, ऐँसेलुलगायतका बिरुवाको झाडी बनेको छ। दरबार, चौपारी जीर्ण भएका छन्। 


सो दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टी रानीले घाम ताप्दै कपाल कोर्न निर्माण गरेको सत्तल जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान गर्छन् त्यो संरचना पनि आधा भत्किएको थापाले बताउनुभयो। 


उक्त ढुङ्गामा करिब पाँच जना आरामसँग बस्न मिल्ने छ। आफ्नो क्षेत्रमा अतिनै महìवपूर्ण ऐतिहासिक पूर्वाधार भए पनि त्यसको संरक्षण र प्रचारप्रसार अभावले गर्दा ओझेलमा परेको थापाको भनाइ छ। राज्यले ऐतिहासिक गढीको संरक्षण गरेर पर्यटन विकासमा ध्यान दिनुपर्ने थापाको जोड छ। 


तीन वर्षअघि गण्डकी प्रदेश सरकारले साढे छ लाख रुपियाँ र वडा कार्यालयको दुई लाख रुपियाँ सहयोगमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको थियो। कोतमा बडादशैँ र चैतदशैँमा विशेप पूजा हुन्छ। 


अझै पनि खानेपानी, तारबार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनर्निर्माण तथा उत्थानको काम बाँकी छन्। गढी क्षेत्रको संरक्षण, पुनर्निर्माण, उत्थानका लागि राज्यले विशेष ध्यान दिन सके पर्यटन विकास हुनुका साथै इतिहासको अध्ययन स्थलका रूपमा विकास हुने स्थानीय जनप्रतिनिधि चक्रबहादुर थापाले बताउनुभयो।    

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्