सार्वजनिक शौचालयका लागि महानगरपालिका र एनआरएनएबीच सम्झौता
पाेखरा | पुस २०, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच मङ्गलवार सम्झौता भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो ।
पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो । स्तनपान कक्ष सहित निर्माण गर्न लागिएको शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध हुनेछ ।
एनआरएनएका कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्र पुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको समेत बताउनुभयो ।
सम्झौता अनुसार महेन्द्र पुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गरिने छ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा ३ महिना भित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ ।
सम्झौता कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगी र पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीको पनि सहभागिता रहेको थियो । पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।
महेन्द्र पुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको झन्डा समेत राखिनेछन् । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिनेछ ।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवा...
काठमाडौं: वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी ...
पाल्पा: पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी समेत रहेका बगनासकाली गाउँपालिका वडा नं। १ गाप्टुङ घर भई हाल बुटवल उप महानगरपालिका ११ मझुवा ब...