बागलुङको पौँदीमा न्वागी मेलाको रौनक

बाग्लुङ | मंसिर १२, २०७९

बागलुङको पौँदीमा न्वागी मेलाको रौनक

बागलुङः   गएको सोमबार बिहान ९ः३१ को साइतमा पौँदेलीले न्वागी खाए । धानबाली भित्र्याएपछि बर्सेनि मङ्सिरको पहिलो साता पौँदीमा न्वागी खाने चलन छ । भर्खर भित्र्याइएको नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर खाइन्छ न्वागी ।


पौँदीवासी न्वागीको संस्कृतिलाई पर्वका रुपमा मान्छन् । न्वागी खाएलगत्तै मेला लगाउने परम्परा छ । यसपाली भने चुनावले मेला पछाडि धकेलिएर शनिबारदेखि सुरु भएको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले जानकारी दिनुभयो ।


“न्वागी खाएको दिनदेखि नै मेला सुरु गर्ने तयारी भए पनि चुनावका कारण केही दिनपछि सार्नुप¥यो”, उहाँले भन्नुभयो, “न्वागी पौँदी क्षेत्रको एतिहासिक पर्व हो, यसको परम्परा जोगियोस् भनेर मेलालाई संस्थागत रुप दिएका छौँ ।”


बागलुङ(गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा सयौँ वर्षदेखि न्वागी पर्व मनाइँदै आएको छ । मङ्सिर १ देखि ७ सम्ममा ज्योतिषले निकालेको शुभमूहर्त अनुसार न्वागी खाने चलन रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । त्यसपछि दुई÷तीन दिनसम्मै न्वागी खाने गरिएको उहाँको भनाइ छ । गुल्मीको मुसिकोट नगरपालिकाको नेटा, पौँदी अमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे ।


कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ । “यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, अध्यक्ष घिमिरेले भन्नुभयो, “पौँदी क्षेत्रमा धान खेती धेरै हुने भएकाले तत्कालीन राजा÷रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।”


स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रुपमा रहेको उक्त खेतमा उब्जाउ भएको धान भित्र्याएपछि पहिलो परिकारका रुपमा न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । त्यसपछि उक्त क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन छ । 


पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धान खेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन् । न्वागी खाएपछि मात्र नयाँ चामल प्रयोगमा ल्याउन पाइने मान्यता छ । 


समितिका सचिव विष्णुप्रसाद आचार्यका अनुसार पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रुपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । मेला भर्न बागलुङ र गुल्मीका गाउँगाउँबाट मानिस पौँदी झर्थे । पछिल्लो समय बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा मेला लाग्दै आएको छ । समयानुकूल मेलाकोस्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझैपनि मौलिकता जोगाउन लागिपरेका छन् ।


खेल, कला, संस्कृतिको उत्थान र व्यापार प्रवद्र्धनमा मेलाले टेवा पु¥याइरहेको आयोजकको भनाइ छ । लोकभजन, सोरठी, दोहोरी, सराय, लाखे नाचलगायत पम्परागत संस्कृति झल्काउने नाच र झाँकी यसपालिको मेलाका आकर्षण हुन् । 


दर्शक तान्न भलिबल जस्ता लोकप्रिय खेलदेखि राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिलाई पनि जोडिएको छ । कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमलाई मेलामा समेटिएको छ । मेला शुक्रबारसम्म चल्नेछ ।

पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

थप पढ्नुहोस्

पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...

थप पढ्नुहोस्

पोखरा:   छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...

थप पढ्नुहोस्