कास्कीका अध्यक्षबीच ‘खोस्ने’ र ‘जोगाउने’ भीडन्त

कास्की | कात्तिक १६, २०७९

कास्कीका अध्यक्षबीच ‘खोस्ने’ र ‘जोगाउने’ भीडन्त

कास्कीको क्षेत्र नम्बर १ मा दुबै उम्मेदवार दोहोरो भूमिकामा छन् । जसमध्ये मनबहादुर गुरुङ नेकपा एमाले र किशोरदत्त बराल नेपाली कांग्रेसका जिल्ला अध्यक्ष हुन् । 

 

यस चुनावमा दुबैले पहिलोपटक सांसद हुने दौडमा होमिएका छन् । जिल्लामा कत्तिको पकड छ । र, संगठन निर्माणमा को अगाडी छ भन्ने परीक्षा पनि हो प्रतिनिधिसभाको चुनाव । यसअघि वाम गठबन्धनको ताकतमा यस क्षेत्रबाट नेकपा एमालेका खगराज अधिकारीले जितेका हुन् । 

 

अहिले अधिकारीको सट्टा मनबहादुर छन् । जसको विरुद्ध छ सत्ता गठबन्धन । अधिकारीले ३९ हजार दुई सय ४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । थापाले २५ हजार आठ सय २६ मत ल्याउँदा १३ हजार चार सय १६ मतले हार व्यहोरेका हुन्।

 

एमालेले जितेको यस क्षेत्र खोसेर बराल आफ्नो धाक जमाउन दिनरात खटिरहेका छन् । हरेक चुनावी कार्यक्रमलाई सकेसम्म प्रत्यक्ष प्रशारण गरेर आम जनतासमक्ष पु¥याइरहेका छन् बराल । जसरी पनि एमालेबाट कास्की – १ खोस्न लागिरहँदा एमालेका मनबहादुर पनि विरासत जोगाउन उस्तै स्तरमा लागिरहेका छन् । 

 

असली अर्थमा यसपटकको चुनाव खोस्ने र जोगाउनेबीचको भीडन्त हो । 

 

अधिकारी प्रदेशसभा सदस्यमा उम्मेदवार हुने भएपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधिसभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ ।

 

तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ ।

 

यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बरालले बताए। स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की–१ मा आफूले जित्नेमा उनी ढुक्क छन्। “मूल प्रसार–प्रसारको काम भइरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौँ”, उनले भने, “जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौँ ।”

 

एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागिपरिरहेको छ । कास्की क्षेत्र नं १ का जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए। “कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ”, उनले भने, “मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु ।”

 

यस निर्वाचन क्षेत्रमा मादी र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो ।

 

क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ । गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ ।

 

स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार आठ सय ३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार एक सय ९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार दुई सय ७८ पाएका थिए ।

 

सो क्षेत्रमा कुल एक लाख १० हजार सात सय १५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। यस क्षेत्रमा प्रदेशसभा (क)मा ५८ हजार चार सय ४५ र प्रदेशसभा (ख) मा ५२ हजार दुई सय ७० मतदाता छन् ।

 

सूचना अधिकारी न्यौपानेअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् ।

 

- राससको सहयोगमा

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्