तीन महिनामा तीन अर्बभन्दा धेरैको फलफूल आयात

काठमाडाैं | कात्तिक १४, २०७९

तीन महिनामा  तीन अर्बभन्दा धेरैको फलफूल आयात तस्बिर फाइल

काठमाडौं : नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । 

 

बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ । 

 

सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन ।  

 

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै रु दुई अर्बभन्दा बढी खर्च गरेका छन् ।  विभागका अनुसार चालू आवको असोज मसान्तसम्म रु दुई अर्ब २४ करोड ९६ लाख ३९ हजार मूल्य बराबरको तीन करोड चार लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु २८ करोड पाँच लाख ८५ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । 

 

उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र रु एक अर्ब ४९ करोड २४ लाख ४९ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट रु ७५ करोड ७१ लाख ८९ हजार मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ । 

 

विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा रु तीन अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 


 
यस्तै चालू आवको असोज मसान्तसम्म रु २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु तीन करोड ७२ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ । 

 

केरा आयातमा १६ करोड बाहिरियो

 

नेपालीले तीन महिनाको अवधिमा रु १६ करोड २३ लाख ५९ हजार बराबरको केरा आयात गरेको छ । चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कूल एक करोड १३ लाख सात हजार चार सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु सात करोड दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ । 

 

विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै रु १४ करोड ८७ लाख ९२ हजार बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म रु ११ करोड आठ लाख १४ हजार मूल्य बराबरको खरबुुजा, रु १० करोड ८० लाख १५ हजार बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ । 

 

पछिल्लो तीन महिनामा रु दुई करोड ९१ लाख ७१ हजारको किबी, रु एक करोड ४९ लाख आठ हजार मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा रु १८ करोड ७४ लाख बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्