जल र सूर्यको पूजाआराधना गरिने पर्व: छठ

काठमाडाैं | कात्तिक ११, २०७९

जल र सूर्यको पूजाआराधना गरिने पर्व: छठ

 

काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२:२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ ।


सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई  अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत  गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो । 

 
विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने गरिन्थ्यो ।

 
रानीपोखरीमा भूकम्पपछि पुन:निर्माणका क्रममा पानी नभएकाले केही वर्ष छठ मनाउन रोकिएको थियो । विसं २०७७ असोजमा रानीपोखरी पुन:निर्माण सकिएपछि पनि त्यहाँ छठ मनाउन थालिएको छैन । यस वर्ष रानीपोखरीमा छठ मनाउन माग भएकाले दिने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।  

 
व्रतको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा  निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाएर  चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका रमेश झाले बताउनुभयो ।


“षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गर्छन्, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो । 


षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा पुग्ने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताउने गरिन्छ  ।

   
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएर बिसर्जन गरिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । 

 
बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको गुह्येश्वरीस्थित छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताउनुभयो । 
 

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो ।

   
कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 
   

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।


सूर्यको पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पतिपत्नीको दीर्घायु एवम् अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।
  

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो ।
  

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकाथरीको मत छ ।         
        
  
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकीले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरुआत भएको अर्काथरीको भनाइ छ । 

 
राजधानीको गुह्येश्वरीदेखि गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १३ गते बेलुकी राष्ट्रपतिले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

 
यस वर्ष कात्तिक १३ गते बेलुकी अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको जनाइएको छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीका दिन रातभर नदी किनारमै बस्छन् । नदी किनार एवं तलाउमा सूर्यका भजन एवं भक्ति सङ्गीतले वातावरण रमाइलो बनाउँछ ।

काठमाडौं:    वेष्ट इण्डिज ए ले दोस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी–२० सिरिज १/१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याए...

थप पढ्नुहोस्

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी ...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताउनुभएको छ ।   आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लग...

थप पढ्नुहोस्