कास्की निर्वाचनमा एमालेः बलशाली विद्या, खगराज र जगतको सम्भावना कम

पाेखरा | भदौ २१, २०७९

कास्की निर्वाचनमा एमालेः बलशाली विद्या, खगराज र जगतको सम्भावना कम

कास्कीः आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनकालागि नेकपा एमाले कास्कीले उम्मेदवार सिफारिशको टुंगोे लगाएको छ । 

 

आइतबार अबेर सिफारिशका सूचि निकालेको एमाले कास्कीले कूल २८ जनालाई अटाएको छ । जसमध्ये क्षेत्र नम्बर १ बाट १५, २ बाट ४ र ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । सिफारिशमध्ये कतिपय नामको तुलना गर्दा कुनैपनि कोणबाट उनीहरुको सम्भावना छैन । 

 

पार्टीले सिफारिश गरेको आधारलाई मुल्यांकन गर्दा हालसम्म क्षेत्र नम्बर २ बाट सिफारिश गरिएकी विद्या भट्टराईको सम्भावना बलियो छ । ‘उहाँको नाम कन्फर्मजस्तै हो’ एमाले जिल्ला कमिटीका एक सदस्य भन्छन् ‘धेरै हिसाबले उहाँ बलियो उम्मेदवार हो ।’ उनका अनुसार भट्टराईको नाममा कसैले विवाद गर्ने छैनन् । 

 

त्यसो त अर्की महिला उम्मेदवार प्रभा कोइरालाको सम्भावना पनि उत्तिकै रहेको जानकार बताउँछन् । ‘मेरा नामै त नखुलाउनोस्’ मजदुर फाँटका एक नेता भन्छन् ‘कोइरालाले कास्कीमै लामो राजनीति गर्नुभएको छ, उहाँलाई मौका दिनुपर्छ भन्नेहरुको पार्टीपंक्तिमा ठूलै समूह छ ।’ 

 

कास्की २ मा भट्टराई र कोइरालासँगै भुपेन्द्र गिरी र केशव आचार्यलाई सिफारिश गरिएको छ । यद्यपि, गिरी र आचार्यको सम्भावना नभएको बताइन्छ । 

 

कास्की १ बाट सिफाशि गरिएकामध्ये खगराज अधिकारी ‘हेभिवेट’ उम्मेदवारमा पर्छन् । पूर्व स्वास्थ्य र गृहमन्त्री अधिकारी यसपटक पनि दोहोरिने दाउमा छन् । पछिल्लो पटक १८ दिन गृहको बागडोर सम्हालेका अधिकारी हाल पार्टीको संगठन विभागको नेतृत्वमा छन् । 

 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिएका अधिकारीलाई पहिलेजस्तो स्वतः उम्मेदवार पाउन वा हुन सजिलो छैन । पछिल्लो पटक एमाले कास्कीभित्र मौलाएको गूट–उपगूटको कारक मानिएका अधिकारीलाई सिफारिशमा परेका युवा नेता दिलिप न्यौपाने, पुष्पज्योति ढुंगाना चुनौतिकारुपमा रहेका छन् । अधिकारीको नाम कास्की १ ‘क’बाट प्रदेश सभामासमेत सिफारिसमा परेको छ । 

 

त्यस्तै, जिल्लामा अहोरात्र खटिएका मनबहादुर गुरुङ र बौद्धिक छवि बनाएका झलक सुवेदी अधिकारीको आकांक्षामाथि तगारो बन्न सक्छन् । क्षेत्र नम्बर १ का केही मतदातासँग गरिएको कुराकानीलाई आधार मान्दा न्यौपाने वा ढुंगाना उनीहरुको रोजाई छन् । युवा उम्मेदवारको माग भएपनि यसपटक न्यौपाने र ढुंगानाको सम्भावना भने न्यून छ । 

 

तर जनजातिको आँखामा भने गुरुङ सम्भावित उम्मेदवार हुन् । साथै कास्कीको अन्य क्षेत्रमा पनि बलिया जनजाति उम्मेदवार नभएकाले यहाँ मनबहादुरले बाजी मार्ने सम्भावना छ । झलक सुवेदीलाई भने पार्टीले सांसद भन्दा ‘थिंक ट्यांक’कारुपमा काम गरुन् भन्ने चाहना राखेको छ । 

 

अधिकारीले पनि नछाड्ने र युवानेता पनि पछि नहट्ने सम्भावना रहेकाले यस क्षेत्रमा कसलाई टिकट दिने भन्नेमा नेतृत्वलाई निकै सकस पर्ने बताउँदै पार्टीका बुद्धिजीवि फाँटका नेता भन्छन्, ‘दुई पुस्ताबीच रस्साकस्सी प¥यो भने जिल्ला समन्वय समितिको जिम्मेवारी सम्हालिसकेका बैनबहादुर अधिकारीको नाम फाइनल हुने सम्भावना बढी छ ।’

 

यहाँ सिफारिशमा परेका अन्य नाममा पदमप्रसाद पौडेल, कालिदास सुवेदी, बालासिंह काउछामगर, उमा सिंह, रामराज अधिकारी, पुष्प अधिकारी, मिलन सुवेदी, शंकरनाथ पौडेल र हिमालय बख्रेल रहेका छन् । 

 

त्यस्तै, क्षेत्र नम्बर ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । जसमध्ये पूर्वमन्त्री जगत विश्वकर्मा पनि रहेका छन् । सांसदमा पुनः दोहोरिन चाहेका विश्वकर्माको सम्भावना पनि खगराज अधिकारीकैजस्तो ‘झिनो’ रहेको जिल्लाका केही नेताको भनाई छ । 

 

‘विश्वकर्माजीले पहिलै नै एक्कासी पाएको अवसर हो, त्यतिबेला अरुलाई माइनस गरेर उहाँलाई दिइएको हो नी’ एमाले कास्कीका एक पुराना नेता भन्छन् ‘अब हामीले प्वाक्क भन्न मिलेन, पार्टीले मूल्यांकन गर्ला ।’

 

सिफारिशमा परेकामध्ये भरत पराजुली, देविप्रसाद सुवेदी, विवेक त्रिपाठीको कुनै पनि सम्भावना नरहेको एक उच्चतहका कार्यकर्ता ठोकुवा गर्छन् । उनले भने, ‘नामै पर्नुमा पनि उहाँहरुको जीत हो ।’

 

विश्वकर्मालाई चुनौती दिने नाम हो, पुण्प्रसाद पौडेल र गणेशमान गुरुङ । तीन नामलाई विश्लेषण गर्दा पौडेलले अवसर पाइसकेका छन् । यसर्थ, गुरुङको नाम फाइनल हुन पनि सक्छ । तर, पछिल्लो समयमा आफुलाई सुधार गर्दै ल्याएका जगन्नाथ बाँस्तोला पनि सशक्त उम्मेदवार हुन् । निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्ने बाँस्तोलाको लबिङ्मा साथ दिनेहरुको समूह पनि रहेको छ । 

 

यसर्थ, कास्की ३ मा टिकटकालागि गुरुङ र बाँस्तोलाकै सम्भावना रहेको बुझाई छ । उल्लेखित नामहरुको बढी चर्चा भएपनि प्रतिष्पर्धी दलहरुले कस्ता उम्मेदवारलाई अघि सार्ने सम्भावना छ सोही अनुसार केन्द्रमा नाम पठाइने कमिटीका सदस्यहरु बताउँछन् । 

 

त्यस्तै, नेकपा एकीकृत समाजवादीले गठबन्धनसँग प्रतिनिधिसभातर्फ १ क्षेत्र पाउनुपर्ने अडान राखेकाले सम्भवतः उसले क्षेत्र नम्बर २ वा ३ नै माग्ने सम्भावना छ । यस्तोमा यस क्षेत्रबाट कसलाई उठाउँदा जीत हात पार्न सकिन्छ सोही उम्मेदवारलाई फाइनल गर्न एमाले कास्कीलाई फलामको च्युरा चपाउन सरह हुनेछ । 

 

तरपनि एमाले बुद्धिजीवि सर्कलमा रहेका नेताकाअनुसार प्रतिष्पर्धी दल र गठबन्धनले जस्तोसुकै रणनीति अपनाए पनि कास्की २ बाट विद्या भट्टराईले टिकट पाउने र जित्ने निश्चित छ । 

 

उनी भन्छन्, ‘जगत र खगराज कमरेड यसपटक कमजोर छन्, पार्टीमा नयाँ पंक्ति सशक्त देखिएको छ ।

पोखरा:      पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ ।  मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यट...

थप पढ्नुहोस्

काठमाडौं:  मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बाराको सि...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा...

थप पढ्नुहोस्