दूरदराज हैन पोखराको पिएनकै विद्यार्थीले पाएनन् ‘पाठ्यपुस्तक’

पाेखरा | भदौ ३, २०७९

दूरदराज हैन पोखराको पिएनकै विद्यार्थीले पाएनन् ‘पाठ्यपुस्तक’

कास्की:  देशको दूरदराजमा रहेका विद्यालयमा पढाई सकिएर परीक्षा हुनलाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको समाचार बाराम्बार सुनिँदै आइएको छ । 

 

तर नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि त्यस्तै समस्या भोगिरहेका छन् भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर वास्तविकता यही हो । 
 

२५० रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् । प्राध्यापक र शिक्षकहरुको संख्या ६ सय बढी छ ।

 

क्याम्पसको पुस्तकालय भवन देख्दा त्यहाँ कुन पुस्तक नपाइएला र ! भन्न सकिन्छ । तर ४ वर्षे स्नातकतहको पठनपाठन सुरु भएपछि अधिकांश विषयका पाठ्यपुस्तक हालसम्म पाइएको छैन । 

 

पाठ्पुस्तक नपाइँदा विद्यार्थीहरु अलपत्र छन् । केही विद्यार्थी  भर्ना भएको महिना पनि बितेको छैन । नयाँ शैक्षिकसत्रबाट अध्यनरत  विद्यार्थीहरु पनि समस्यामा छन् । धेरै विषयको कोर्स सकिएको छ, प्राध्यापकहरुले निरन्तररुपमा अध्यापन गराइरहेका छन्, तर पुस्ताकलयमा पाठ्यक्रमानुसारको किताब नपाइने र बजारमा नआउने समस्याले विद्यार्थीहरु आजित छन् । 

 

 

अब विद्यार्थीले के गर्ने होला त ? प्राध्यापकहरुलाई सोधे सजिलो जवाफ ‘प्रशासनमा जाउँ’, प्रशासन गयो ‘आउँदैछ, काम हुँदैछ, भइरहेको छ’ भन्ने जवाफ आउँछ । यस्तै समस्याहरुबाट आजित विद्यार्थीहरुको गुनासोलाई समेट्दै  अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस प्रशासन र विभागीय प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ । 

 

मानविकी संकायका विद्यार्थीहरुसहित अनेरास्ववियु पृृथ्वीनारायण क्याम्पसका मानविकी संकायकै  उपाध्यक्ष अमृत अधिकारीको नेतृत्वमा अन्तरक्रिया भएकोे हो । 

 

अन्तरक्रियामा अनेरास्ववियुका अध्यक्ष विष्णु पोखरेलले विद्यार्थीका समस्यालाई प्रस्ट्याए । पुस्तकालयमा समयसापेक्ष र परिवर्तित पाठ्यपुस्तक हुनुपर्नेमा पोखरलले जोड दिए । उनले भने, ‘अब हामी आधुनिकीकरणमा लागिसकेका छौँ, विद्यार्थीहरुले पाठ्यक्रमको निम्ति  लाग्ने ‘फि’ बुझाईसकेका छन् सो बापत विद्यार्थीहरुको संख्याको आधारमा पुस्तकतालयमा पाठ्यपुस्तक ल्याइनुपर्छ ।’

 

क्याम्पसको पुस्तकालय सिंहदरबार भन्दा कम छैन । विशाल क्षेत्रमा फैलिएको भवनको दुबै तलामा पुस्तकले भरिभराउ छ । छानी–छानी पुस्तक पढ्न सकिन्छ । ईतिहासदेखि वर्तमानसम्म, राजनीतिदेखि संस्कार र संस्कृतिसम्म ।  तर पाठ्यक्रम अनुसारको समयसापेक्ष पुस्तक भने पाउन कठिन छ । 

 

केहि समय यता पुस्तकालयमा नयाँ पाठ्यक्रमको पुस्तक आउन सकेको छैन । यसैकारण पनि विद्यार्थीहरु पुरानै पुस्तक पढ्न बाध्य छन् । जसबाट उनीहरु परीक्षाको लागि चिन्तित छन् । 

 

‘बजारमा गयो पुस्तक पाइँदैन, सरले भनेको भरमा र लेखाइदिएको भरमा मात्र विद्यार्थीले कसरी पढ्ने ?’ मानविकी संकायकी छात्रा समीक्षा पौडेलले दुखेसो पोखिन् । 

 

हो, हाल बजारमा पाठ्यपुस्तक पाउन कठिन भएको छ । ‘पाठ्यक्रमअनुसारको पुस्तक आएको छैन’ पुस्तक पसलेको जवाफ छ । यसैमा भुगोल, पत्रकारिता, इतिहास, राजनीतिशास्त्रको पुस्तक मगाउँदासमेत पाउन कठिन छ । 

 

बगर क्याम्पस गेट छेउ रहेको एडभान्स बुक एण्ड स्टेशनरीका सञ्चालक भन्छन् ‘पढ्ने विद्यार्थीहरु कम हुन्छन्, पुस्तक बिक्री हुँदैन, पुस्तक मात्र ल्याएर के गर्ने  ?’ पुस्तक कम मात्रामा छापिएकाले पनि पाउन कठिन हुने उनी बताउँछन् । ‘विद्यार्थीहरु समुहमा आएर मगाए हामी मगाउन सक्छौं’ उनी भन्छन् । 

 

‘६० सालमा जन्मेको मान्छेले ६८ सालको पाठ्यपुस्तक पढ्न परेको छ  अलि गाह्रो पनि लाग्यो, ल अलि पछि नयाँ पाठ्यक्रमको पुस्तक आयो खुशी भइयो, परीक्षामा राम्रै नम्बर आउने भयो’ मानविकी संकायका अमन मगर भन्छन् ‘तर समस्या त निश्चित पाठ्यक्रमअनुसारको पुस्तक नै रहेनछ, अब के गर्ने होला ? ’ 

 

 

यसैबीच, क्याम्पसका सहप्रध्यापक यादवराज उपाध्यायले विद्यार्थीलाई सान्त्वना दिँदै पाठ्यक्रम अनुसारको पुस्तक ल्याउने बताए ।  ‘बुधबारसम्ममा पुस्तकको सम्पूर्ण विवरण तयार पारि तपाईहरुबाटै एक विद्यार्थी लिएर हामी काठमाडौँ जानेछौ ।’ उनले भने ।

 

पाठ्यपुस्तककैबारेमा पुस्तकालय प्रमुख किशोर सुवेदीले प्रशासनको आदेशविना आफुले केही गर्न नसक्ने बताए । ‘क्याम्पस प्रशासनको आदेशविना मैले केही गर्न सक्दिन, हाल क्याम्पस प्रशासनले पुस्तक ल्याएकोे छैन ।’ उनले भने ।

 

अन्तरक्रियामा पाठ्यक्रमअनुसारको पुस्तक ल्याउने विद्यार्थी र शिक्षकबीच सम्झौता भएको छ । तर निर्धारित समयमा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउँला ? त्यो भने हेर्न बाँकी छ । 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्