प्रसिद्ध भैरवस्थानमा हरेलो मेला
बाग्लुङ | साउन २८, २०७९

बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो ।
हरेलो मेला व्यवस्थापनका लागि स्थानीयको भेलाले राजु हमालको अध्यक्षतामा हरेलो मेला व्यवस्थापन समिति गठन गरेको छ । बलेवा क्षेत्रमा पर्ने छ वडाका सर्वसाधारणको भेलामा उपस्थिति थियो । आउँदो भदौ ६ र ७ गते मेला गर्ने तय भएको समितिका अध्यक्ष हमालले बताउनुभयो ।
“पहिलो पटक हामीले मेला आयोजना गर्दैछौँ । यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, उहाँले भन्नुभयो । मेलामा भजन प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, तीज गीत प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताउनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
“यो ऐतिहासिक मेला हो, हरेलो मेलाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने छ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो, “मेलालाई निरन्तरता दिनुपर्छ ।”
मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताउनुभयो ।
यो पर्वकाअवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले बताउनुभयो ।
बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ । कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरकी नानु बुढाथोकीले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताउनुभयो ।
कालभैरवमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्यूठान, अर्घाखाँची, काठमाडौँ, चितवनलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...