पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमालेको निष्कर्ष

विद्या भण्डारीलाई एमालेमा फर्कने बाटो बन्द

काठमाडाैं | साउन ७, २०८२

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमालेको निष्कर्ष

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपतिसमेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।


एमालेको यो निर्णयसँगै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो बन्द भएको छ ।
     

सो दलको आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।


बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान रहेको बताउनुभयो । “पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो”, गौतमले भन्नुभयो “यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ ।”


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै गरेको छ ।


बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।


पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन(८४ मा जानुपर्ने र त्यसका लागि केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो । पार्टी केन्द्रीय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन भने बाँकी छ ।


पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पार्नुभयो । यो एमालेको मात्र विषय नभएर सबै पार्टीको लागि गम्भीरताको विषय भएको उहाँले बताउनुभयो । “पूर्वराष्ट्रपतिप्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ”, उहाँले भन्नुभयो ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने उहाँले स्पष्ट पार्नुभयो । पार्टी केन्द्रीय कमिटी बैठकमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरिसक्नु भएको उहाँले स्मरण गराउनुभयो ।


प्रचार विभाग प्रमुख गौतमका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णवहादुर थापाले असहमति जनाउनुभएको थियो ।


बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि २६४  जनाले पोलिटब्युरोसहित केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो ।


बैठकले उपाध्यक्ष पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सोही बैठकले १५ जना पदाधिकारी र पोलिटब्युरोसहित २५१ केन्द्रीय सदस्य बनाउने बैठकले निर्णय गरेको छ ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्