'तलबमा हेपियौं' भन्दै नासुहरु शहीदचोकमा भेला भएपछि कार्यालयमा काम ठप्प
कास्की | साउन २४, २०७९
पोखराः सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्मचारीलाई वृद्धि गरेको तलबदर असमान भएको भन्दै कास्कीका सरकारी कार्यालयका नायब सुब्बा (नासु)हरुले आज काम गरेका छैनन् ।
जिल्लाभित्र केही कार्यालयमा नासुहरुले पेन डाउन गरेका छन् भने दिउँसो १२ बजेपछि कार्यालयबाट निस्केर शहीदचोकमा भेला भएका छन् ।
मालपोत कार्यालय लेखनाथमा नासुहरुले पेनडाउन गरेपछि सेवा प्रभावित भएको छ । लेखनाथका नासुहरु अहिले शहीदचोकतर्फ आइरहेका छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु पनि शहीदचोकतिर निस्कन सुरु गरेका छन् ।
नासुहरुले आज काम नगर्ने वा १२ बजेपछि बिदा (क्याबि) लिने जानकारी आफु मातहतका सिनियरलाई हिजै जानकारी गराएका थिए । सोही अनुरुप प्रशासन कार्यालयका कर्मचारी अहिले बाहिर निस्केका छन् ।
‘अहिलेसम्म त सबै काम भइरहेको छ तर अब साथीहरु विरोध कार्यक्रमतर्फ जाने तरखरमा हुनुहुन्छ’ प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए ।
यता, मालपोत कार्यालय कास्कीमा भने आज काम हुन सकेन । सेवाग्राहीका घुइँचो लागेपनि अहिले ठप्प भएको मालपोत कार्यालयले जानकारी दिएको छ । ‘हामी ३ जना हाकिममात्रै छौं’ एक कर्मचारीले भने ‘हामीलाई हिजै जानकारी थियो, ३ जनालेमात्रै सेवा दिन नसक्ने भएपछि हामीहरु यत्तिकै बसेका छौं ।’
तलबदार असमान भएको र सरकारले तोकेको प्रतिशतभन्दा फरक परेपछि आन्दोलनमा उत्रनुपरेको नासुहरुले बताएका छन् । चालू बजेटले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर, तलब लागू हुने समयमा भने शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब साढे २४ प्रतिशतसम्म बढाइएपछि आन्दोलित भएको उनीहरुको भनाई छ ।
कास्कीमा आन्दोलनको नेतृत्व गरिरहेका मालपोत कार्यालय कास्की नासु सूर्य तिवारीले विरोधस्वरुप शहीदचोकमा भेला भएको बताएका छन् । ‘सबै कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको भनियो’ तिवारीले भने ‘तर शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब भने २४ प्रतिशतले बढाइयो ।’
सरकारले असमान दरले तलब बढाएको विरुद्धमा आन्दोलन आजबाट सुरु भएको भन्दै उनले थपे, ‘सरकारले हामीलाई तलबमा हेप्यो ।’ सरकारले अन्यलाई भन्दा नासुलाई कम तलब बढाएर हेपेको तिवारीको ठहर छ ।
आज विरोधस्वरुप भेला भएको र भोलीदेखि कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने विषयमा केन्द्रको निर्णयको प्रतीक्षामा रहेको नासुहरुको भनाई छ । तलब दरको असमान वृद्धिमा आज राजधानी लगायत देशैभर नासुहरुको विरोध कार्यक्रम रहेको छ ।
शहीदचोकमा मालपोत, प्रशासन, नापी, अदालतलगायतका कर्मचारी सहभागी छन् । संघीय सरकारअन्तर्गत नायब सुब्बाको १४ हजार २५ जनाको दरबन्दी रहेको छ ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...
रसुवा: जिल्ला प्रहरी कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ । कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले गत १ ...