मानव–हात्ती द्वन्द्व: डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
झापा | असार १३, २०८२
सांकेतिक तस्वीर
झापा: झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ ।
डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् ।
विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ ।
जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका छन् । ‘फरेष्ट एक्सन नेपाल’का डा लिलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउनुहुन्छ ।
“तारबारले मात्र हात्तीलाई रोक्नरछेक्न सकिँदैन”, उहाँले भन्नुभयो, “वनमै सुधार जरुरी छ ।”
हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । खानाको खोजीमा जङ्गलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको हो ।
हात्तीले मकै मन पराउने भएकाले पनि मकैखेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको डिभिजन वन कार्यालय डा भलले बताउनुभयो । अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने उहाँको भनाइ छ ।
पच्चीस हात्तीको मृत्यु
झापामा २०६२ सालयता २५ हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ । विगतमा बर्सेनि एक÷दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको छ ।
विसं २०८० साउनदेखि २०८१ असार सम्ममा चार हात्ती मृत फेला परेका थिए भने चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेका डिभिजन वन कार्यालयले जनाएको छ ।
साढे नौ करोड राहत
जिल्लाका हात्तीपीडितलाई सरकारले आव २०६८/६९ देखि चालु आवको हालसम्ममा रु नौ करोड ६८ लाख ४७ हजार राहत प्रदान गरिसकेको छ ।
हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रु १० लाख, घाइतेलाई अधिकतम रु दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षति भएकाको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका डा भलले बताउनुभयो । जिल्लामा ५२५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा छन् ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

