पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील
म्याग्दी | चैत १, २०८१
म्याग्दी: मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ ।
हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो ।
मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गर्नुभएको छ ।
“हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए”, खड्काले भन्नुभयो, “जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।”
अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गर्नुभएको छ । खड्काको सातबिसेमा एक सय रोपनी पुख्र्यौली जग्गा छ ।
सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए ।
पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका सुशील सन् २०१५ मा नेपाल आउनुभएको थियो ।
कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उहाँलाई पुख्र्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थाल्नुभएको हो ।
केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाउनुभएको छ । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गर्नुभएका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा हुनुहुन्छ ।
आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उहाँको योजना छ ।
“देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो”, खड्काले भन्नुभयो, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।”
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

