जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ: मन्त्री भण्डारी

काठमाडाैं | माघ २८, २०८१

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ: मन्त्री भण्डारी

काठमाडौं:    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ ।

    
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताउनुभयो । 

    
“भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।” 

    
उहाँले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकामा जापान सरकारप्रति आभार प्रकट गर्नुभयो । 


उहाँले भन्नुभयो, “नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकामा खुसी व्यक्त गर्दछु ।” 

    
जापान नेपालको एक महत्वपूर्ण व्यापार साझेदार तथा नेपाली वस्तुको महत्वपूर्ण गन्तव्यका रुपमा रहँदै आएको उल्लेख गर्दै उहाँले जापानले अति कम विकसित मुलुकलाई दिएको सामान्य ग्राह्यता प्रणालीको सुविधाबाट नेपाल पनि लाभान्वित भइराखेको बताउनुभयो । 

    
“नेपालमा वैदेशिक लगानी प्राप्त भइरहेका मुलुकमध्ये जापान पनि एक रहेको छ, नेपालमा सूचना प्रविधि, जलविद्युत्, पर्यटन, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेका छन्, नेपाल सरकारले लगानीमैत्री तथा व्यावसायिक वातावरण प्रवद्र्धन गर्न नीतिगत तथा कानुनी सुधारलाई निरन्तरता दिइरहेको विषयसमेत म महामहिममार्फत सम्पूर्ण जापानी लगानीकर्तालाई जानकारी गराउन चाहन्छु”, मन्त्री भण्डारीले भन्नुभयो ।

    
जापानीहरुका लागि नेपाल महत्वपूर्ण गन्तव्य भइरहेको र नेपालमा जापानी पर्यटकको अलग्गै प्रतिष्ठा रहेको उल्लेख गर्दै उहाँले जापानी नागरिकलाई नेपाल भ्रमणका लागि थप प्रोत्साहित गर्न आग्रह गर्नुभयो । 

    
राजदूत तोरुले नेपाल र जापानबीच आगामी सन् २०२६ मा कुटनैतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै भविश्यका दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताउनुभयो । प्राकृतिक प्रकोप तथा विपद्मा दुई देशबीच आपसी सहयोग आदानप्रदान भएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि जलवायु परिवर्तन एवं विपद्जन्य अवस्थामा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    
तोरुले नेपाली जनताको मौलिकता अनुसार जापान सरकारले नेपालमा उद्योग स्थापनामा सघाउने बताउनुभयो । साथै उहाँले नेपाली वस्तुको जापानी बजारमा राम्रो माग रहेको उल्लेख गर्दै नेपाली उत्पादनको गुणस्तर र परिणाममा ध्यान दिए बजार विस्तारमा कुनै समस्या नहुने बताउनुभयो । उहाँले नेपाली वस्तुको जापान निर्यातमा जापान सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो । 

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...

थप पढ्नुहोस्

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

थप पढ्नुहोस्