विपन्न परिवारका लागि नि:शुल्क शववाहन र अन्त्येष्टि खर्च
कैलाली | माघ २६, २०८१
कैलाली: कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ ।
मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले नि:शुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।
यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भन्नुभयो, “विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।”
शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रू १० हजार उपलब्ध गराउने भएको छ ।
अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताउनुभयो । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भन्नुभयो, “त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।”
राहत रकम हस्तान्तरणअन्तर्गत शुक्रबार गाउँपालिकाले दुई परिवारलाई रू १० हजारका दरले रकम उपलब्ध गराएको छ । गाउँपालिकाको वडा नम्बर २ बौनियाका मृतकका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक छदिने शिशुका बाबु सुवास नेपालीलाई रकम वितरण गरेको छ ।
पहिलो दिन कालु लुहारलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र सुवास नेपालीलाई वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले घरमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । देहावसान सहानुभूति कार्यक्रमअन्तर्गत चाँडै नै शव चिस्यान सेवा सुरू गर्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
कुँवरका अनुसार यस क्षेत्रका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा भारतलगायत तेस्रो मुलुक जाने गर्छन् । घरमा रहेका परिवारका सदस्यको मृत्यु भएमा शव केही दिन राख्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा मृतकको छोराछोरी वा अन्य आफन्त नआइपुगुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न चिस्यान सेवाले सहयोग पुग्नेछ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

