पेट्रोलियम पदार्थ अन्वेषण: नमुना लिएर प्राविधिक टोली चीन फर्कियो
दैलेख | माघ ४, २०८१
दैलेख: दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमुना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमुना लिएर विज्ञ टोली चीन गएको हो ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विज्ञहरूले चार हजार एक सय तीन सय मिटर गहिराइसम्म खन्दा दुई÷दुई मिटरको फरकमा गहिराइबाट गिट्टी र बालुवाको नमुना सङ्कलन गरिएको थियो । प्राप्त नमुनालाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक थप अध्ययनका लागि मालवाहक गाडीमा ढुवानी गरेर टोली चीन फर्किएको ।”
पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्य सकिएपछि केसिङ र सिमेन्टको काम सकिएको भूगर्भविद् लुइँटेलले बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेका र अन्य सबै फर्किएको जानकारी दिनुभयो । तीन महिनापछि उत्खननका लागि ग्यास भण्डारण र प्रशोधनको काम अगाडि बढाउन सकिने उहाँले बताउनुभयो ।
भूगर्भविद् लुइँटेलले भन्नुभयो, “पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी काम सुरु भएको थियो । खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनको आवश्यक काम अगाडि बढ्ने छ ।”
दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग नेपाल सरकारले सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता गरेको थियो ।
सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्नेगरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताअनुसार काम हुन सकेको थिएन । चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण गरिएको हो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

