दाङमा तोरीको उत्पादन बढ्दै
दाङ | मंसिर १०, २०८१
फाइल तस्बिर
दाङ: शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।
“बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।”
उहाँले १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेकोे बताउनुभयो । तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उहाँले बताउनुभयो ।
घोराही उपमहानगरपालिका–१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफँै उत्पादन गर्दै आएको बताउनुहुन्छ । राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उहाँले बताउनुभयो ।
किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उहाँको अनुभव छ । जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो ।
त्यसबाट १६ हजार ३ सय ४३ दशमलव ३ मेट्रिक टन तोरी उत्पादन भएको उहाँ बताउनुहुन्छ ।गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । मौसम अनुकूल भएमा बढ्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने उहाँको भनाइ छ । यस वर्ष १६ हजार ४ सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार ८ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ ।
यस वर्ष गत वर्षभन्दा ५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ । तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।
तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्र दाङमार्फत विशेष सघन बाली उत्पादनअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि नौ क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको सूचना अधिकारी लामिछाने बताउनुहुन्छ ।
उक्त बीउ घोराही–७ घुस्रा र शान्तिनगर गाउँपालिका–१ र २ का किसानलाई वितरण गरिएको थियो ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

