मर्दी फलोअप: गाइडको शव निकाल्न समस्या, वडाध्यक्ष नेतृत्वको टोली जाँदै

मर्दीको तापक्रम माइनस १० डिग्री, उद्धारका लागि सामान जुटाउँदै

पाेखरा | कात्तिक २६, २०८१

मर्दी फलोअप: गाइडको शव निकाल्न समस्या, वडाध्यक्ष नेतृत्वको टोली जाँदै

पोखरा:   कास्कीको माछापुच्छ्रेगाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा हिजो (आइतबार) एक पर्यटक गाइडको मृत्यु भयो । 

 

नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहणको गराउन काठमाडौंको सनराइज कम्पन्नीबाट आएका ६२ वर्षीय लालबहादुर तामाङको आरोहणको क्रममै लडेर मृत्यु भएको हो । 
 

सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशीसहित टोलीमा ४ नेपाली रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । 

 

‘कात्तिक २३ गते काठमाडौंको सनराइज कम्पन्नीबाट नर्वेका एक नागरिकसहित ४ नेपालीको टोली मर्दी हिमाल आएका रहेका छन् ।

 

मुख्य गाइडसमेत रहेका लालबहादुर तामाङले नर्वेका नागरिकलाई हिमाल चढाउने र आफु पनि चढ्ने योजनामा आएका रहेछन्’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँगभने, ‘मर्दी हिमाल आरोहणकै क्रममा तामाङको आइतबार लडेर मृत्यु भएको हो, थप बुझ्दै छौं ।’
 

 

मर्दीको तापक्रम माइनस १० डिग्री, उद्धारका लागि जुटाउँदै 

 

तापक्रम र भौगौलिक अवस्थाका कारण मृतक लालबहादुर तामाङको शव निकाल्न ​कठिनाई भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले बताए । 

 

‘मर्दी हिमाल आरोहणको क्रममा मृत्यु भएका लालबहादुर तामाङको शव घटनास्थलबाट निकाल्न तापक्रम र भौगौलिक अवस्थाका कारण कठिनाई देखिएको छ, अहिले त्यहाँ माइनस १० डिग्री रहेको बुझ्नमा आएको छ । हामीसँग उद्धारका लागि पर्याप्त सामान छैन’, उनले भने, ‘अहिले मर्दीको मौसम चिसिएको छ, तामाङ लडेको स्थान ढुङ्गा नै ढुङ्गा भएको स्थानमा हो । हिडेर जान सकिदैन, रक क्लाइम्बिङ गर्नुपर्छ । त्यसका लागि आवश्यक सामान जुटाउन पर्छ । हामीले तयार गर्दैछौ ।’

उनले तामाङ लडेको स्थानमा रेकी गर्नका लागि सनराइज कम्पन्नीसँग समन्वय गरेर हेलीकप्टर मगाउन  संवाद भइरहेको जानकारी दिए । 

 

अहिले हाइक्यापमा रहेका पर्यटन व्यवसायी र मर्दी हिमाल आरोहणका लागि गएका विदेशीनागरिकसहितका टोलि तामाङ लडेको स्थानमा जान लागेको उनले बताए । 

 

सूचना पाएका छौं हाम्रो टोली जाँदै छ: डिएसपी शर्मा

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्तकुमार शर्माले मर्दी हिमाल आरोहणका क्रममा लडेर एक जना बेपत्ता भएको जानकारी आएको बताए । 

 

‘मर्दी हिमाल आरोहणको क्रममा एक जना मानिस लडेर बेपत्ता भएको भन्ने सूचना आएको छ । घटनास्थलतर्फ हाम्रो टोली जाँदै छ अहिले बाटोमा छ’, डिएसपी शर्माले भने, ‘अहिले बेपत्ता भएको भन्ने सूचना मात्र पाएका छौैं थप अपडेट हाम्रो टोली जाँदै छ । पुगे पछि थाहा होला ।’

 

उनले अस्थायी प्रहरी चौकी भेडाबारीबाट टोली घटनास्थल हिडेको बताउँदै थप टोली जिल्लाबाट पठाउने तयारी भइरहेको बताए ।

 

प्रहरीलाई बेपत्ता भन्ने सूचना आएपनि मुख्य गाइड तामाङको मृत्यु भइसकेको स्थानीयहरुले गएराती नै पुष्टि गरिसकेका छन् । 

 

२०७१ जेठ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५ हजार ८ सय मिटर उचाईको हिमाल आरोहण गर्न अनुमति नचाहिने निर्णय गरेको थियो ।

 

सोही निर्णयलाई नै आधार मानेर मृतक तामाङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि उक्त स्थानमा पुगेका थिए । मर्दी हिमालको उचाई ५  हजार ५ सय ८७ मिटर रहेको छ ।


 

यो पनि पढ्नुहोस

 

दमौली:    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...

थप पढ्नुहोस्

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...

थप पढ्नुहोस्