रुपाको स्वास्थ्य कार्यक्रम: गर्भ परीक्षण गराउनेलाई 'एक क्रेट अण्डा'
पाेखरा | भदौ २५, २०८१
कास्की: रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।
‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।”
अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताउनुभयो ।
“स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ”, अध्यक्ष ओझाले भन्नुभयो ।
गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ ।
कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।”
नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् ।
सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

