रुपाको स्वास्थ्य कार्यक्रम: गर्भ परीक्षण गराउनेलाई 'एक क्रेट अण्डा'
पाेखरा | भदौ २५, २०८१
कास्की: रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।
‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।”
अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताउनुभयो ।
“स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ”, अध्यक्ष ओझाले भन्नुभयो ।
गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ ।
कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।”
नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् ।
सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

