परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’

बाग्लुङ | असार २२, २०७९

परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’


बागलुङ्:   बलेवा   जिल्लाका अधिकांश खानेपानीका मुहानमा  ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गरिरहेको खानेपानीको मुहानदेखि जिल्लाका अधिकांश मुहानमा ‘कोलिफर्म’ भेटिएको कार्यालयले जनाएको छ । नगरमा वितरित पानीका धारामा भने ‘कोलिफर्म’को मात्रा शून्य छ । ट्याङ्कीमा पानीको उपचारका लागि क्लोरिन पाउडरको प्रयोग हुने भएकाले धारामा ‘कोलिफर्म’ नदेखिएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले बताउनुभयो । 

    

बागलुङ नगरपालिकाका १७ मुहानको पानी परीक्षण गर्दा १० वटा मुहानमा ‘कोलिफर्म’ देखिएको छ । जैमिनी नगरपालिकाका १० मुहानमध्ये सात, गलकोट नगरपालिकाका १२ मध्ये तीन, ढोरपाटन नगरपालिकाका सातमध्ये दुई, तमानखोला गाउँपालिकाका १६ मध्ये सात र बडिगाड गाउँपालिकाका नौमध्ये तीनवटा पानीको मुहानमै ‘कोलिफर्म’ भेटिएको हो । 

    

त्यस्तै निसीखोला गाउँपालिकाका आठमध्ये चार, तमानखोला गाउँपालिकाका ११ मध्ये चार र बरेङ गाउँपालिकाका १२ मध्ये चारवटा मुहानमा ‘कोलिफर्म’ भेटिएको आचार्यले बताए । स्वास्थ्य कार्यालयले स्थानीय तहको अनुरोधमा प्रतिनिधिमूलक हिसाबमा पानीका मुहानहरु परीक्षण गरेको थियो । “मुहानमा मात्रै होइन पाइपलाइन, ट्याङ्की र धारामा समेत ‘कोलिफर्म’को मिसावट पुग्न सक्छ,” आचार्यले भन्नुभयो, “कैयौँ ठाउँमा मुहानमा सफा रहेको पानी धारामा पुग्दा ‘कोलिफर्म’को मात्रा भएको भेटिन्छन् ।” उपभोक्ताको धारासम्म पुग्ने पाइपलाइन बीचमा टुटेफुटेर मिसावट हुने ठाउँ भएमा मुहान तथा ट्याङ्कीमा नभेटिएको ‘कोलिफर्म’ धारामा भेटिने जोखिम हुन्छ । खुल्लाचौरभन्दा तल्लो भागमा रहेका मुहान, मानव बस्तीको नजिकै रहेका मुहान र खोलामा बगेको पानीलाई एकीकृत गरेर ल्याइएका मुहानमा ‘कोलिफर्म’को मात्रा बढी देखिने गरेको छ । 

    

मानव दिशामा हुने ‘कोलिफर्म’युक्त पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपाटाइटिस रोगहरुको संक्रमण हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । ‘कोलिफर्म’ देखिएका मुहानको पानी उपभोग गर्ने उपभोक्तालाई सरसफाइ गर्न, पानी शुद्धीकरण गरेर र पानी उमालेर मात्रै पिउन आग्रह गर्ने गरिएको छ । ‘कोलिफर्म’को मात्रा देखिएका ठाउँहरुको पानीलाई तत्काल शुद्धीकरणका उपाय नअपनाए जुनसुकै बेला महामारी फैलिन सक्ने उहाँले बताउनुभयो ।

    

स्वास्थ्य कार्यालय:  जसले काम सक्न मसान्त कुरेन

    

बागलुङमा रहेको स्वास्थ्य कार्यालयमा असार मसान्तको चाप निख्रिएको छ ।  जिल्लामा नै पहिलो पटक कार्यालयले चालु आर्थिक वर्षमा विनियोजित कार्यक्रम समयमै सकेर फुर्सदिलो बनेको छ । कार्यालयले असार २१ गतेपछि कुनै पनि भुक्तानीका काम नगर्ने जनाएको छ । “हामीले आफ्नो काम निरन्तर गरिरहेका थियौँ र समयमै सक्यौँ, अब किन असार मसान्त कुर्नु,” कार्यालय प्रमुख सुरज गुरौले भन्नुभयो, “हामीले गरेका कामका विषयमा जानकारी गराएका छौँ, अब कुनै पनि कार्यक्रमको भुक्तानी गर्दैनौँ ।”

    

कार्यालयले आगामी आर्थिक बर्षको नियमित कामको थालनी गर्ने छ । वर्षभरिका काम कारबाही समयमै सकेर पत्रकार सम्मेलनमार्फत जानकारी गराउने स्वास्थ्य कार्यालय पहिलो हो । कोभिड–१९ विरुद्धको खोप, टाइफाइड बिरुद्धको खोप, नियमित खोप, हात्तीपाइले विरुद्धको खोप अभियान र अन्य कार्यालयले सम्पादन गर्ने नियमित तथा आकस्मिक तालिम र रोगहरुको खोजपड्ताल तथा नियन्त्रणका काम भएका गुरौले बताउनुभयो । यो वर्ष कार्यालय परिसरमा खोपहरुको सुरक्षणका लागि कोल्ड रुम स्थापना गरेको कार्यालयले जनाएको छ ।

    

चालु आर्थिक वर्षमा कार्यालयले प्रदेश सरकारबाट प्राप्त हुने चालुतर्फको रु दुई करोड ९९ लाख ६५ हजारमध्ये दुई करोड १५ लाख ५२ हजार खर्चेको छ । चालुतर्फ ९६ प्रतिशत भौतिक प्रगति गरेको कार्यालयले वित्तीय प्रगति भने ७२ प्रतिशत भएको जनाएको छ । त्यस्तै प्रदेशको पूँजीगततर्फ नौ लाख ५० हजारमध्ये रु नौ लाख ३५ हजार खर्चेको छ । सङ्घीय सरकारबाट प्राप्त भएको चालु खर्च चार करोड ८२ लाख ८१ हजारमध्ये तीन करोड एक लाख खर्च भएको कार्यालयले जनाएको छ ।

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

थप पढ्नुहोस्

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

थप पढ्नुहोस्

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

थप पढ्नुहोस्