एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
काठमाडाैं | बैशाख ७, २०८१
काठमाडौं: साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ औं ओभरमा पूरा गर्यो ।
फाइनल पुग्न असफल भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना भने सकिएको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि छनोट हुनेछन् । यता यूएई भने आइतबार हुने फाइनलमा ओमान र हङकङको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुँदैछ ।
यूएईको सहज जितमा आलिशान शराफुले अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ४ चौका र २ चक्का सहित ५५ रन जोडे । विष्णु सुकुमारनले २८ बलमा २८ रन जोड्दै रनगति घट्न दिएका थिएनन् । कप्तान मोहमद वासिमले ११ र आसिफ खानले १० रन जोडे । सायद हैदरले १४ तथा आयन खानले ३ रन बनाए ।
त्यसअघि नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए ।
इनिङको पहिलो बलमा नै कुशल भुर्तेल कट बिहाइन्ड भएपछि नेपाल दबाबमा पर्यो । जुनेद सिद्दिकी र ओमिद रहमानले उत्कृष्ट बलिङ गर्दै नेपाललाई पावरप्लेमा चल्न दिएनन् । ओमिदले आसिफ शेखलाई एलबीडब्लु धरापमा पार्दा नेपाल ११-२ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल विकेट जोगाउने धुनमा रक्षात्मक हुँदा १८ बलमा ५ रन जोड्दै कट बिहाइन्ड भए ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले इनिङ सम्हालेर रन जोड्दा अर्कोतर्फ भने निरन्तर विकेट पतन जारी रह्यो । कुशल मल्ल ३ रनमा बसिल हमिदबाट बोल्ड भए । दीपेन्द्र सिंह ऐरी पनि ५ रनमा आयान खानको एलबीडब्लू धरापमा परे ।
त्यसपछि सन्दीप जोरा लेग स्पिनर मोहमद फारुकको बलमा क्याच आउट भए । ५० रन जोडेका उनी आउट हुँदा नेपाल ८०-६ को स्थितिमा पुगेको थियो । सोमपाल कामी पनि २ रन जोड्दै बसिलको बलमा क्याचआउट भए ।
तल्लोक्रममा गुलशन झा र करण केसीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए । करण ११ बलमा २ छक्कासहित १७ रनमा बोल्ड भए । गुलशनले अन्तिम ओभरमा आउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे ।
यूएईका लागि प्रयोग भएका सबै ६ बलरले विकेट लिए । जुनेद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २/२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १/१ विकेट हात पारे ।
आज हुने अर्को सेमिफाइनलमा ओमान र हङकङ खेल्नेछन् । फाइनल जित्ने टोली एसिया कपमा छनोट हुनेछ । फाइनल आइतबार तथा तेस्रो स्थानको खेल शनिबार हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

