एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैं | बैशाख ७, २०८१

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।


अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ औं ओभरमा पूरा गर्यो ।


फाइनल पुग्न असफल भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना भने सकिएको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि छनोट हुनेछन् । यता यूएई भने आइतबार हुने फाइनलमा ओमान र हङकङको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुँदैछ ।


यूएईको सहज जितमा आलिशान शराफुले अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ४ चौका र २ चक्का सहित ५५ रन जोडे । विष्णु सुकुमारनले २८ बलमा २८ रन जोड्दै रनगति घट्न दिएका थिएनन् । कप्तान मोहमद वासिमले ११ र आसिफ खानले १० रन जोडे । सायद हैदरले १४ तथा आयन खानले ३ रन बनाए ।


त्यसअघि नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए ।


इनिङको पहिलो बलमा नै कुशल भुर्तेल कट बिहाइन्ड भएपछि नेपाल दबाबमा पर्यो । जुनेद सिद्दिकी र ओमिद रहमानले उत्कृष्ट बलिङ गर्दै नेपाललाई पावरप्लेमा चल्न दिएनन् । ओमिदले आसिफ शेखलाई एलबीडब्लु धरापमा पार्दा नेपाल ११-२ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल विकेट जोगाउने धुनमा रक्षात्मक हुँदा १८ बलमा ५ रन जोड्दै कट बिहाइन्ड भए ।


चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले इनिङ सम्हालेर रन जोड्दा अर्कोतर्फ भने निरन्तर विकेट पतन जारी रह्यो । कुशल मल्ल ३ रनमा बसिल हमिदबाट बोल्ड भए । दीपेन्द्र सिंह ऐरी पनि ५ रनमा आयान खानको एलबीडब्लू धरापमा परे ।


त्यसपछि सन्दीप जोरा लेग स्पिनर मोहमद फारुकको बलमा क्याच आउट भए । ५० रन जोडेका उनी आउट हुँदा नेपाल ८०-६ को स्थितिमा पुगेको थियो । सोमपाल कामी पनि २ रन जोड्दै बसिलको बलमा क्याचआउट भए ।


तल्लोक्रममा गुलशन झा र करण केसीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए । करण ११ बलमा २ छक्कासहित १७ रनमा बोल्ड भए । गुलशनले अन्तिम ओभरमा आउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे ।


यूएईका लागि प्रयोग भएका सबै ६ बलरले विकेट लिए । जुनेद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २/२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १/१ विकेट हात पारे ।


आज हुने अर्को सेमिफाइनलमा ओमान र हङकङ खेल्नेछन् । फाइनल जित्ने टोली एसिया कपमा छनोट हुनेछ । फाइनल आइतबार तथा तेस्रो स्थानको खेल शनिबार हुनेछ ।

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनुपर्ने सुझाव दिएको छ ।   महासंघले आयोजना महासंघले आयोजना गरेको संचा...

थप पढ्नुहोस्

पोखरा:   सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ ।  &...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्धा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रम्भा गाउँपालिका–४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाल रहेका छन् । ...

थप पढ्नुहोस्