काठमाडौं: नेपाल र माल्दिभ्सबीचको खेल आज हुदै छ । नेपाली युवा टोलीले आज साफ यू–२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो । प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुने बताइएको छ । टोलीमा को को छन् ? गोलकिपर – ईश्वर गुरुङ्ग, उनेश चौधरी, जियारथ शेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ्ग, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ्ग, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी ।
पोखरा: छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिएपनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यबिच एकताको भावना हुनुपर्नेमा उनको जोड थियो । मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न सूरुवातका संस्करणमा गाह्रो भएपनि अब भने सजिलो हुँदै गएको दावी गरे । मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिक रुपमा मञ्चलाई सजिलो हुने उनको भनाई थियो । मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड कार्यक्रम थप आर्कषक बनाउन पर्याप्त तयारी हुनुपर्ने बताए । काम गर्ने क्रममा जस र अपजस दुवै हुने भन्दै सबै मिलेर काम गरेको खण्डमा कार्यक्रमको आर्कषक बढ्ने भनाई राखे । खेलाडी छनोट समितिका सह–संयोजक तथा अवार्ड कार्यक्रमका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रम सहित अवार्ड सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । बजेटको सुनिश्चितता नहुँदा समस्या भएपनि आगामी वर्ष सहज हुने उनको विश्वास थियो । अवार्ड कार्यक्रम ब्राण्ड बनिसकेको भएपनि अब यसलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा उनको जोड थियो । नेपाल पत्रकार मञ्च गण्डकीका महासचिव गोविन्द सुवेदीले विटगत पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्न लायक संस्था भएको बताए । मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने उनले बताए । समिक्षा कार्यक्रमको आयोजना गरेर मञ्चले सातौं सस्करणको अवार्ड कार्यक्रमको तयारी सुरु गरेको भन्दै उनले प्रशंसा गरे । नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । उद्धेश्य अनुसारनै अवार्ड कार्यक्रम अगाडि बढिरहेको उनले बताए । कार्यक्रम गर्दा केही कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सुर्धादै जानुपर्नेमा उनको जोड थियो । अवार्ड कार्यक्रमको निरन्तरतामा चुनौती भने भएको उनले प्रष्ट पारे । मञ्चका अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदा नहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताए । यति हुँदाहुँदै पनि सबैको साथ सर्पोटका कारण अवार्ड कार्यक्रम सफल भएको उनको भनाई थियो । बजेटको सुनिश्चिचता भइसकेकोले अबको वर्ष भने सहज हुने उनको विश्वास छ । यो वर्ष विभिन्न कारणले असार मसान्तमा अवार्ड कार्यक्रम सम्पन्न गर्नुपरेपनि आगामी वर्षको सातौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड भने बैशाख महिनामा आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । समिक्षा कार्यक्रममा प्राप्त सुझाबलाई ध्यान दिएर आगामी कार्यक्रमलाई थप परिमार्जित परिस्कृत गरिने उनले जनाए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन सघाउने सबैलाई उनले आभार व्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्यहरु राजु गिरी, नारायण शाही, दीपक राज मुल्मी सहित मञ्चमा आवद्ध पत्रकारहरु दीपक परियार, गणेश बराल, रोसन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार, इन्द्र पौडेल लगायतले स्पोर्टस् अवार्डसँग सम्बन्धित विभिन्न पक्षको बारेमा आफ्नो भनाई तथा सुझाब राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेलले गरेका थिए । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
पोखरा: पोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच उक्त मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई हस्तान्तरण गरिएको हो । मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् । मिडिया सेन्टरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ग्रहण गर्दै मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्पुटर, ल्याप्टप सहितका जिन्सि सामाग्रिको उचित संरक्षण गर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रिपोटिङ गर्न पूग्ने संचारकर्मीहरुको लागि मिडिया सेन्टर चुस्त दुरुस्त अवस्थामा राख्ने उनको भनाइ थियो । मञ्चलाई मिडिया सेन्टर हस्तान्तरण गर्न सहयोग पुराउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहितका अन्य खेलकुदकर्मी तथा मञ्चका पूर्व अध्यक्ष समेत रहेका मिडिया सेन्टर व्यबस्थापन समितिका अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे । मिडिया सेन्टरमा रहेका जिन्सि सामाग्रि चुस्त दुरुस्त बनाउदै पोखरा रंगशालामा कुनै पनि जिल्ला तथा प्रदेश, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता हुँदा मिडिया सेन्टरको कार्यालय खुल्ला रहने मञ्चले जनाएको छ । उक्त मिडिया सेन्टरमा ११ थान डेल ब्राण्डको कम्युटर, २ थान ल्यापटप, स्टिल दराज इएक थान, १२ थान कम्पुटर टेवल, २ थान कार्यालय टेवल, एक सेट साउण्ड सिस्टम, ठुलो प्रिटर मेसिन एक थान, ६५ इन्चको एक थान टिभि, एक थान प्राजेक्टर लगायतका संचार सामाग्रि रहेको मञ्चका सचिव शशिकुमार पौडेलले जनाए । मिडिया सेन्टर हस्तान्तरण समारोहमा क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगी, कार्यालयका नायब सुब्बा डिबी नेपाली, इन्जिनियर अनिल अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि कुमार पौडेल, सदस्य सुर्दशन रन्जित, राजु गिरी, नारायण शाही, दीपक मुल्मी लगायतको सहभागिता रहेको मञ्चका महासचिव राजाराम पौडेलले बताए । मञ्चले गत असार १८ गते पोखरामा छेटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड सम्पन्न गरेको थियो । मञ्चले अब छिट्टै खेलकुद सम्बन्धि तालिम समेत आयोजना गर्ने भएको महासचिव पौडेलले जनाए ।
पोखरा: पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ हुने भएको छ । आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले ‘फाइभ ए साइड फुटसल प्रतियोगिता’ आयोजना गरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार हात पार्नेछ । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय, र सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले जनही २ हजार प्राप्त गर्नेछ । दुई दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले चाहेको खण्डमा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ । उक्त प्रतियोगिताको दर्ता शुल्क नगद रु ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।
बाँके: खेलकुदमा महिलाको अभिरुचि बढाउन नेपालगञ्जमा किशोरीलाई खेल प्रशिक्षण सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु गरिएको खेल प्रशिक्षणमा सहभागीलाई कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स, फुटबललगायत खेलको प्राविधिक र सैद्धान्तिक ज्ञानको बारेमा जानकारी गराउने बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार, तालिमका सहभागीलाई प्रशिक्षक कृष्णबहादुर चौधरीले कराते, चन्द्रप्रकाश श्रेष्ठले तेक्वान्दो, लालबहादुर मल्लले भलिबल, छबिलाल थापा मगरले एथलेटिक्स र रवीन्द्रकुमार श्रेष्ठले फुटबलको बारेमा प्रशिक्षण दिनुहुनेछ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा बाँके जिल्लाका विभिन्न विद्यालयका १५० जना किशोरीको सहभागिता रहेको छ । खेलकुदमा महिलाको अभिरुचि बढाउँदै आत्मरक्षाका सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको व्यवस्थापक बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शाहले जानकारी दिनुभयो । प्रशिक्षणको उद्घाटन समारोहमा सहभागी हुनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महिलाले आत्मरक्षाको लागि पनि यस्ता तालिम लिन जरुरी रहेको बताउनुभयो । महिला खेलाडीलाई अगाडि बढ्नको लागि केहि नयाँ सीप र ज्ञान प्रदान गर्ने भएकाले तालिम महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा बाँके जिल्ला खेलकुद विकास समितिसँग मिलेर नेपालगञ्ज उपमहानगरपालिकाले महिलालाई लक्षित गरेर खेलकुदका अन्य कार्यक्रम गर्ने समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा: पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न भएको छ । स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा तालिम दिएका हुन् । सिनियर खेलाडी तथा प्रशिक्षक रक्षा लामाका अनुसार उक्त तालिममा महिला र पुरुष गरी २० जना बढिको सहभागिता रहेको थियो । प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गर्दै समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले खेलकुद आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने धारणा राखे । ‘खेलकुदको कुनै सीमाक्षेत्र हुदैंन । जसले हामीलाई सजिलै जोड्न मद्दत गर्दछ, उनले भने, ‘त्यसैले खेलकुद एउटा त्यस्तो पावर हो ।’ उनले उक्त विदेशी प्रशिक्षकको उपस्थितिले खेलाडीहरु प्रेरित भएको बताउदै उक्त तालिम खेलाडीका लागि समापन नभई सुरुवात भएको बताए । ‘तालिम सकिएपनि यो तपाइहरुको समापन होइन । यो त बल्ल सुरुवात हो ।’ उनले भने । उनले खेलकुदसँगै स्क्वास विकासका लागि प्रदेश खेलकुद परिषद सदैब लाग्ने बताउदै स्क्वासको अत्याधिक सम्भावना रहेको उल्लेख गरेका थिए । यसैगरी स्क्वास खेलाडी प्रयाग जोशीले धेरै पहिलेदेखि स्क्वास खेल्दै आएको बताउदै प्रशिक्षणपश्चात थप हौसला बढेको बताए । ‘खेल्न त धेरै पहिलेदेखि खेल्दै आएको हो, उनले भने, ‘यो ट्रेनिङपछि मात्रै बेसिक कुराहरु जान्न पाइयो । त्यसले गर्दापनि आफ्नो खेल बढेको जस्तो लागेको छ र थप साहस बढेको छ ।’ स्क्वास र्याकेट्स एशोसियसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले सो तालिमपश्चात खेलाडीहरुको क्षमता अभिवृद्धि भएको बताए । उनले विविध पक्षलाई तालिममा समेटेको बताउदै प्रतियोगितामा खेलाडीहरुले प्रतिस्पर्धा गर्दा सिकेको कुरालाई प्रयोग गर्नसक्ने गरी तालिम प्रदान गरेको बताएका थिए । यसैगरी विदेशी प्रशिक्षक ह्यारी हेथककले नेपालमा स्क्वास कोर्ट कम भएका कारण खेलाडीहरुको स्क्वासमा अत्याधिक सम्भावना रहेको बताए । उनले नेपालमा काठमाडौं र पोखरामा मात्रै कोर्ट रहेको बताउदै अन्यत्र शहरमा पनि कोर्ट निर्माण गर्नुपर्ने बताएका थिए । उक्त समापन कार्यक्रममा प्रशिक्षक ह्यारी हेथककलाई ढाका टोपी ओढाएर सम्मान समेत गरिएको थियो ।
काठमाण्डौं: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि बसेको पहिलो मुल आयोजक समितिको बैठकले प्रतियोगिताका लागि विजेताले पाउने नयाँ मुख्य ट्रफि निर्माण गर्ने निर्णय गरेको छ । काठमाण्डौंमा आज बसेको मुल आयोजक समितिको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट लागु हुने गरी मुख्य ट्रफि निर्माण गर्ने लगायत ६ वटा निर्णयहरु गरेको हो । समितिको निर्णय अनुसार उक्त मुख्य ट्रफि लगातार तीन संस्करणको उपाधि विजेता टोलीले प्राप्त गर्नेछ । तर रनिङ्ग ट्रफिको रुपमा रहेको उक्त मुख्य ट्रफि कति लागत र कस्तो निर्माण गर्ने भन्ने विषयमा समितिले आधिकारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यसबाहेक समितिको पहिलो बैठकले प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने, प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने, प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिमलाई सहभागी गराउने निर्णय गरेको छ । त्यस्तै प्रतियोगितामा विभिन्न ३६ खेल विधामा प्रतिष्पर्धा गराउने,नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी निर्माण गरिने भनिएको मुख्य ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा डुलाउने निर्णय गरेको छ । यस्तै बैठकले आर्थिक वर्ष २०७८–७९ मा सरकारले छुट्याएको ६० करोडको बजेट स्विकृत भएको जानकारी गराएको छ । प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुनेछ ।
मुस्ताङ: उपल्लो मुस्ताङको लोवाथाङमा गल्फको सफल परिक्षण भएको छ । गण्डकी प्रदेश सभा सदस्य तथा गल्फर इन्द्रधारा विष्टले पहिलो ड्राइभ प्रहार गरेपछि औपचारिक रुपमा सुरुवात भएको हो । कोर्समा गल्फर भुबहादुुर गुरुङ, बलराम थापा, भक्तराज गुरुङ र राजु थकालीले गल्फको परिक्षणसँगै शुरुवात गरेको सांसद विष्टले बताए । सफल परिक्षणसँगै लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स रहेको सुनाए ‘यो समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो गल्फ कोर्स त नेपालकै बेष्ट कोर्स हो, उनले भने, ‘हामी औपचारिक गेम नै खेल्यौं । गल्फरहरुले यसको प्रचुर सम्भावना छ भन्नुभाछ । नेपालको भएको हाई अल्टिच्युडको कोर्स भनेकै यति एउटै हो । यसको सफल परिक्षण भएको छ । त्यसैले मेरो एउटा सपना पुरा हुदैँछ ।’ सांसद विष्टका अनुसार पोखरामा १ चितवनमा १ धरानमा १, काठमाडौंमा ३ र अहिले थपिएको उपल्लो मुस्ताङको गरि कुन नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । गण्डकी प्रदेश सांसद तथा गल्फर इन्द्रधारा विष्टले वर्षौ देखि त्यहाँ गल्फ कोर्स बनाउने योजना बनाउदै आएका थिए । उक्त कोर्स बनाउनका लागि विष्टले ८ लाख बढि लगानी गरिसेकेका छन् । भने लोमान्थाङ गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरेको छ । सांसद विष्टले मौसमको अनुकुलता अनुसार प्रतियोगिताको तयारी गर्ने बताए । ‘अब सम्भव भएसम्म छिटै गल्फ प्रतियोगिता आयोजना गर्ने सोच बनाएको छु, उनले भने, ‘बाह्रखरीले आयोजना गर्दै आएको राष्ट्रिय गल्फ च्याम्पियनसिपलाई यही कोर्समा गर्ने गरि कसरत गरिरहेको छु । यो कोर्स नेपालकै बेस्ट कोर्स बनाउने गरि लाग्नेछु ।’
पोखरा |: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ नेपाल महिला भलिबल टिमका क्याप्टेन अरुणा शाही र उत्कृष्ट वर्ष खेलाडी ( पुरुष ) अवार्ड टेनिस खेलाडी प्रदिप खड्काले प्राप्त गरेका छन् । शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ महिला भलिबलका टिम क्याप्टेन अरुणा शाही र पुरुष तर्फ टेनिसका खेलाडी प्रदिप खड्काले अवार्ड सँगैै ट्रफी र इलेक्ट्रिक स्कुटर प्राप्त गरे । यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, उदियमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ र उत्कृष्ट खेल संघ (गण्डकी तेक्वान्दो संघ) ले अवार्ड सँगै नगद ३५ हजार र ट्रफी प्राप्त गरे । ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड गणेश बहादुुर भट्टराईलाई प्रदान गरिएको छ । यस्तै वर्ष उत्कृष्ट खेलकुद पत्रकार अवार्ड पत्रकार दिपक परियारले पाए । यस्तै उदियमान खेलाडी अवार्डको मनोनयनमा परेका श्रृष्टि जैसी ( क्रिकेट), शाहिल लिम्बु ( बक्सिङ), वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड मनोनयनमा परेका रेकमाया गुरुङ ( तेक्वान्दो ), रिजन प्रजु (क्रिकेट), उत्कृष्ट वर्ष खेलाडी ( पुरुष तर्फ) बुद्ध लामा ( कराते), विधान अधिकारी ( व्याडमिन्टन) र उत्कृष्ट वर्ष खेलाडी ( महिला तर्फ ) मनिषा उपाध्याय ( क्रिकेट ), सरगम कुमाल ( कराते ) का खेलाडीले ट्रफी प्राप्त गरे ।

