काठमाण्डौँः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ८ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
म्याग्दी: तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो । कुनै पनि विषादी र भिटामिनको प्रयोग नगरिकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खे बाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । प्राङ्गारिक तरकारी मात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’ को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो । जलवायु परिवर्तनका कारण माटोको उर्बरा शक्तिमा ह्रास आउँदै गएपछि प्राङ्गारिक रैथाने कृषि उत्पादन अब तीव्ररुपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौंदेखि गर्दै आएको ‘खेती गरौँ की छोडौँ’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो । “मैले सुरुदेखि नै प्राङ्गारिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडेँ”, कार्कीले भन्नुभयो, “विगत पाँच÷छ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने विऊबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो”, उहाँले भन्नुभयो । “अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुक्खै छैन”, कार्कीले भन्नुभयो । कृषिमा जलवायु परिवर्तनले पारेको असरका कारण यस्तो समस्या उत्पन्न भएको अगुवा कृषक कार्कीको बुझाइ छ । कृषक कार्कीको बुझाइसँग कृषि विज्ञहरु पनि सहमत छन् । उनीहरुका अनुसार कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूल ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन बिग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको कृषि विज्ञहरुले बताएका छन् । कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन जताततै देखिन थालेका छन् । कृषि वैज्ञानिक कार्की भन्नुहुन्छ, “जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउ त लोप पनि भइसकेका छन् ।” जलवायु परिवर्तनले रैथाने जातका बीउ हराउने मात्रै होइन कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको उहाँको भनाइ छ । परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ रहेको छ । किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् । नेपालका प्रायः सबै किसान प्राकृतिक हावापानीमा नै भर पर्ने हुनाले कृषिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्न थालेको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । त्यस्तै अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौँलाजस्ता तरकारीको गुणस्तर र रङ र स्वाद पनि बदलिएको कृषकको भनाइ छ । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको बेनी नगरपालिका–२ सानालेकका कृषक धु्रव थापाले बताउनुभयो । बालीनालीमा मात्रै होइन पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । कृषि प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् ।
काठमाण्डौँः पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ । आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो । एकदिन अघि पनि सोही ठाउँनजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो । हेटौंँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएकोे छ
रुकुमपूर्वमा : रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो । रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पुर्याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उहाँले बताउनुभयो । कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ । रुकुमपूर्वमा विद्यार्थी सङ्ख्या २० हजारको हारहारीमा छ । तर, किताब भने न्यून मात्रामा आएको छ । आएको किताब पनि अपुरो आएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मङ्गलसिंह बुढाले बताउनुभयो । अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ । नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो । भूमे गाउँपालिकामा पुरानै किताबाट पठनपाठन भइरहेको शिक्षा शाखा प्राविधिक सहायक टेकबहादुर बुढाले बताउनुभयो । कक्षा ४, ७ र ९ को भने पाठ्यपुस्सतक नै चेन्ज भएको कारण पठनपाठन हुन नसकेको उहाँले बताउनुभयो । विद्यार्थीहरू भने विद्यालयमा आइरहेका छन् । गाउँपालिकामा पनि केहि विद्यालयमा पुरानै किताबबाट पठनपाठन सञ्चालन भइरहेको छ भने कतिपय विद्यालयमा किताब आको छैनन् भनेर शिक्षक घरतिर बसेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो ।
हेमजा: आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई हेमजामा रहेका आमा समुहले साथ दिने भएको छ । हेम्जा युनाइटेडको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई सभ्य र भब्य रुपमा सफल बनाउन हेम्जामा रहेका आमा समुहले सहयोग गर्ने भएका हुन्। शुक्रवार बसेको आमा समुह र हेम्जा युनाइटेडको बैठकमा आमा समुहले सहयोग गर्ने बताएका हुन् । बैठकमा बोल्ने वक्ताहरुले पहिला पनि यो संस्थालाई सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउन साथै संचालनमा रहेको हेम्जा युनाईटेड एकेडेमीलाई निरन्तरता दिई नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ए डिभिजनका ६ टीम, १ अन्तराष्ट्रिय टीम र आयोजक सहित आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: अभिनेत्री मिरुना मगरले अभद्र व्यवहार गरेकाआरोपी फुर्वा लामालाई झापड हानेको विषयमा मगर संघले मिलापत्रपछी आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेपाल मगर संघका महासचिव टेक बहादुर नाम्जाली मगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै संघको धारणा सार्वजनिक गरेको हो । ‘कुनै पनि असल नागरिकले एक नारीमाथी हुने दुव्र्यवहार सहन सक्दैन । त्यसको परिणाम यस घटना हुन पुगेको सर्वविदितै छ । यस्तो संवेदनशिल सवालमा नेपाल मगर संघ र मगर समुदाय अत्यन्त गम्भीर हुदाहुदै सामाजिक सञ्जालमा मगर समुदाय र नायिका मिरुना मगरमाथी आँच आउने गरि भईरहेको गतिविधिप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । जारी विज्ञप्तीमा लेखिएको छ, ‘मगर समुदायको चेली मिरुना मगरमाथी गरिएको अभद्र व्यवहारमा गल्ती स्वीकार गरि माफी मागेर दुवै पक्षको विचमा सहमति भइसकेको अवस्थामा जातिय सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पुग्ने खालको कुनै धर्म र जातिको विरुद्धमा नेपाल मगर संघ र मगर संघ संस्थाहरुले कुनै प्रकारको आन्दोलन तथा जुलुसका कार्यक्रम आयोजना नगरिएको जानकारी गराइन्छ । घटना घटेर एक आपसमा सहमति भइसकेको स्थितिमा पनि यस्ता सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल आउने खालको गतिविधिहरु कुनै पनि पक्षले नगर्न नगराउन हार्दिक अपिल र अनुरोध गर्दै गम्भीरतापूवर्क सचेत गराउन चाहान्छौं अन्यथा यसको प्रतिवाद गर्न संघ बाध्य हुने यसै विज्ञप्ती मार्फत जानकारी गरिन्छ ।’ विज्ञप्ती:
काठमाण्डौँः नेपाली सेनाले उडान समयावधि पूरा गरी रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तान्तरण गरेको छ । मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश–१ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष २०७८/७९ बाट सञ्चालन गरेको उक्त तहका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि एनए–०३९ चेतक हेलिकप्टर र त्यससँग सम्बन्धित ४७ वटा पार्टपूर्जा आज हस्तान्तरण गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको एयर वेशमा एक समारोहका बीच सैनिक वायु सेवाका महानिर्देशक पाइलट आशिष नरसिंह राणाले प्रदेश–१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गर्नु भएको नेपाली सेनाले जनाएको छ । भारतको बैङ्लोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारतबाट विसं २०५८ मङ्सिर २६ गते सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराएको थियो । हाल निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी हेलिकप्टर ग्राउन्डेड रहेको थियो । मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्री प्राप्त गरे पश्चात् अध्ययनरत विद्यार्थीको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मरमत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्री हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ । हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेललगायतको सहभागिता थियो ।
पोखरा: हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरपालिका १४ चाउँथेमा सेवाकेन्द्र विस्तार गरेको छ । पोखरा ९ पृथ्वीचोकस्थित पोखरा मलमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आज (शुक्रबार) देखि चाउँथेमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयको उद्घाटन पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले सहकारी वित्तिय क्षेत्रको मेरुडण्ड रहेको धारणा राखे । उनले विधानमा उल्लेख भए अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरे । ‘तपाइहरुको विधान अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्ने कुरामा तपाईहरु सफल हुनुहोस्, उनले भने, ‘यो अफिसले पनि हेड अफिसले जस्तै सेवाहरु प्रवाह गर्न सकोस सबैलाई शुभकामना ।’ मेयर आचार्यले आगामी दिनमा हरेक वडामा दुइवटा सहकारीसगँ समन्वय गरेर उत्पादनको प्रवर्द्धन गर्न कोसेली घर निर्माण गर्रे बताए । ‘हामीले आउने दिनमा हरेका वडाको एउटा वा दुइटा सहकारीसँग मिलेर उत्पादनमा जनसमुदायलाई जोड्ने उद्देश्यसहित कोसेली घर बनाउने गरि हामीले योजनामा राखेका छौ, उनले भने, ‘त्यसकारण सहकारी पनि हाम्रो कामको एउटा क्षेत्र बन्दैछ । आउने १० गते बजेट ल्याउदै छौ । त्यसको नीति तथा कार्यक्रममा समावेश गरेपछि राम्रोसँग हेर्न र बुझ्न पाउँनुहुनेछ । र पोखरा महानगरपालिका सहकारीसँग सहकार्य गरेरै अगाडी बढ्ने नीति रहेको छ ।’ त्यसैगरि वडा १४ का अध्यक्ष बोधराज कार्कीले उक्त सहकारीसँग पुराने सम्बन्ध रहेको बताउदै वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीयबासीलाई आफ्नै टोलमा सहकारी आएकोले बचत गर्ने बानीको विकास गर्न सुझाव दिए । उनले वैंकले भन्दा सहकारीले सेवा दिने बताउदै सेवाको सदुपयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीले फरक प्रसंगमा बोल्दै आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्न लागिपरेको बताए । ‘हाम्रो वडालाई नमुना वडा बनाउने योजनामा छौ, उनले भने, ‘त्यसको लागि प्रत्येक टोल र क्लबहरुको सहयोग चाहिन्छ । त्यसैले हामीले ५ वर्षमा यस वडालाई नमुना र स्मार्ट बनाएर मात्रै जानेछौ ।’ उक्त कार्यक्रममा पोखरा महानगरपालिका १७ वडाध्यक्ष राधिका शाही योगी, मादी गाउँपालिका ४ का वडाध्यक्ष शिव सापकोटा, गण्डकी चेम्बर्स अफ कमर्सका गण्डकी अध्यक्ष किसान सुनार, सहकारी व्यवस्थापन क्लबका अध्यक्ष अपिल कोईराला, शुन्दर टोल विकास संस्थाका अध्यक्ष बलराम लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिक कारोबार कति? सहकारी संस्थाका कोषाध्यक्ष सिर्जन श्रेष्ठका अनुसार उक्त संस्थामा वार्षिक (कुल पुँजी) ४५ करोड ५० लाख बढिको आर्थिक कारोबार हुदै आएको छ । भने संस्थाको सेयर पुँजी ८ करोड ६० लाख ८ सय रुपैयां रहेको छ । यसैगरि कर्जा लगानी ३३ करोड ४ लाख ३ सय ४६ रुपैयां रहेको छ । गत २०६६ साल कात्तिक ६ गते संस्था स्थापना गरेपनि ४ वर्षपछि मात्रै वित्तिय काम तथा सेवा सुरु गरिएको थियो । कुल १ हजार १ सय ५८ जना सेयर सदस्य रहेको उक्त संस्थामा हाल १६ जना कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीदेखि वडाध्यक्षसम्म सम्मान हाम्रो सहयोगी सहकारी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाको निर्वतमान अध्यक्ष समेत रहेका शिव सापकोटा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरिएको हो । पोखरा महानगरपालिका १७ को वडाध्यक्षमा निर्वाचित तथा संस्थाका पूर्व उपाध्यक्ष समेत रहेकी राधिका शाही योगीलाई सम्मान गरिएको सहकारी संस्थाका व्यवस्थापक जिवन अधिकारीले बताए । उनका अुनसार पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीलाई समेत सम्मान गरिएको थियो । यसैगरि कर्मचारीहरु तर्फबाट उत्कृष्ट कारोबार गरेको भन्दै संस्थाका कर्मचारी हरि न्यौपाने र भोलानाथ ओझालाई पुरस्कृत गरिएको थियो । भने उत्कृष्ट भेषभुषा सहित कार्यक्रममा उपस्थित भएका नवरत्न आमा समुहलाई समेत सम्मान गरिएको व्यवस्थापक अधिकारीले जानकारी दिए । रक्तदानमा ५१ यूनिट संकलन संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कुल ५१ यूनिट संकलन भएको छ । ‘रत्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित कार्यक्रममा ५१ यूनिट संकलन भएको हो । पहिलो रक्तदातालाई पोखरा १४ का वडाअध्यक्ष बोधराज कार्कीले व्लडब्याग हस्तान्तरण गरेर रक्तदान शुभारम्भ गरेको थिए । वार्षिकोत्सव समारोहमा सहभागीहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की र रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा कार्यक्रममा सहभागीहरुलाई निशुल्क सुगर परिक्षण गर्ने व्यवस्था समेत गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष शुक्रराज कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रुद्र बहादुर विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव कृष्णप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाण्डौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले विभिन्न माग राख्दै गत माघ ७ गतेदेखि ताला लगाएका थियो । यस्तै आंशिक शिक्षकले पनि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरुलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नुपर्ने माग गर्दै माघ २० गतेदेखि ताला लगाएका थिए । नेविसङ्घ र आंशिक शिक्षकले लगाएको ताला यही जेठ १८ गते नेकपा (क्रान्तिकारी)ले फोडे पनि फेरि उनीहरुले हिजो संयुक्तरुपमा ताला लगाएका छन् । नेविसङ्घ त्रिवि समितिका सचिव योगेन्द्र रावलले त्रिविले आफूसँग गरिएको सम्झौता कार्यान्वयन नगरेकाले ताला लगाएको बताउनुभयो । उहाँका अनुसार नेविसङ्घले पाठ्यक्रम परिवर्तन नगरेको, शैक्षिक क्यालेण्डर लागू नगरेको जनकपुरस्थित युथ क्याम्पसलाई ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) का सम्बन्धमा आर्थिक लेनदेन गरेकाले ताला लगाइएको हो । नेविसङ्घले उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको बर्खास्त वा राजीनामा माग गरेको छ । त्रिविले नेविसङ्घसँग वार्ता गर्नका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरेको छ । वार्ता टोलीका संयोजक अधिकारीले नेविसङ्घसँग सात–आठ पटक वार्ता गरे पनि निष्कर्षमा नपुगेको बताउनुभयो । “हामी सात–आठ पटक वार्तामा बस्यौँ, नेविसङ्घको मागअनुसार बर्खास्ती वा राजीनामा असम्भव कुरा हो”, उहाँले भन्नुभयो, “त्यही भएर वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।”