भरतपुर : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्तिम तयारीमा रहेको छ । उहाँले भन्नुभयो, “हामी रु छ अर्ब हाराहारीको बजेट ल्याउँदैछौँ ।” बजेट पूर्व महानगरपालिकाले सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशकहरूसँग छलफल र सुझावसमेत लिएको थियो । छलफलमा पूर्वप्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका विशिष्ठ अधिकारीहरू पनि सहभागी रहनुभएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा जोड दिइएको बताउनुभयो । गत पाँच वर्ष भौतिक पूर्वाधारअन्तर्गत सडकमा जोड दिएको महानगरपालिकाले आउँदो बजेटमा भौतिक पूर्वाधारअन्तर्गत ढलमा बढी जोड दिन लागेको उहाँले जानकारी दिनुभयो । महानगर क्षेत्रलाई सुन्दर बनाउने योजना अघि सारिएको छ । खाल्डाखुल्डी सडकलाई मर्मतसम्भार कार्यलाई प्रथामिकता दिन लागिएको छ । बजेटमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ । महानगरभित्रका सबै टोल सुधार समितिहरूलाई टोल सुरक्षा, जनसङ्ख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहर सङ्कलन र रु एक लाख बराबरको टोल सुधार तथा विविध मर्मत कार्यक्रमहरूको कार्यविधि बनाई टोल सुधार समितिहरूलाई सशक्तीकरण गर्ने योजना महानगरको रहेको छ । उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आम्दानी बढोत्तरी गर्न कर शिक्षा, कर सचेतनाजस्ता कार्यक्रममा टोल सुधार समितिहरूलाई परिचालन गरी करको दायरामा ल्याउन लागिएको बताउनुभयो । सहकारीलाई उत्पादन र बजारसँग जोड्न लागिएको छ । चालु आर्थिक वर्षमा आन्तरिक राजस्वको लक्ष्य रु एक अर्ब २५ करोड रहेकामा आउँदो आव रु एक अर्ब ५० करोड पु¥याउने लक्ष्य राखिएको अधिकारीले बताउनुभयो । सङ्घ र प्रदेशको सशर्त बजेटसमेत थप भएकाले बजेटको सिलिङ बढेको अधिकारीले जानकारी दिनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सङ्घ, प्रदेशको राजनीतिक र प्रशासनिक शीर्ष व्यक्तित्वहरूका अतिरिक्त जिल्लाका क्षेत्रगत विज्ञहरूसँग बृहत् छलफल गरेर बजेट निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महानगरकै पहलमा सङ्घ र प्रदेशबाट विभिन्न आयोजनामा बजेट परेका छन् । नारायणी नदी तटबन्ध, सिटीहल निर्माण, पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण, चक्रपथ निर्माणजस्ता ठूला आयोजना सञ्चालनमा रहेका छन् । महानगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुन लागेको छ । सङ्घ र प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिसकेको छ । महानगरपालिकाभित्र शिक्षक अस्पताल बन्दै छ । भरतपुर विमानस्थल विस्तारको गृहकार्य थालिएको छ भने मेघौली विमानस्थलमा कालोपत्र गर्ने तयारी गरिँदै छ । नारायणी नदीमा सिग्नेचार पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने विभिन्न पुलहरू बनाउने योजना अघि सारिएको छ । महानगरको आन्तरिक बजेट कम भए पनि सङ्घ र प्रदेशको ठूलो रकम यहाँका आयोजनामा परेका छन् । यसका कारण महानगरपालिकाले छोटो समयमा विकासमा फड्को मारेको छ ।
दैलेख : ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ । विसं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो । दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई आज गढीमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले गढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने गरी हस्तान्तरण गर्न लागिएको बताउनुभयो । गुल्मपति चौलागाईँले सुन्दरी तोप यहाँको ऐतिहासिक कोतगढीमा पुनःस्थापना गरेपछि दैलेखको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । विसं २०२८ मा कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन । सङ्घीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार र नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदा ल्याउनुपर्ने माग राख्दै आएका थिए । स्थानीय प्रशासन र कालीदत्त गुल्मको पहलमा तोप दैलेख ल्याइएको हो । विजया दशमीमा टीकाको साइत तोप पड्काएर गरिने र नागरिकले तोपको साइतअनुसार दशैँको टीका लगाउने गर्दछन् । कोतगढी किल्ला बहादुर शाहको शासनकालमा १८४६ सालतिर निर्माण गरेको बताइन्छ ।
नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो । विपक्षी बीमा कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ता इद्रजित तिवारी, भोलासिंह हमाल र अधिवक्ता ईश्वरी ज्ञवालीले बहस गर्नुभएको थियो । कोरोना सङ्क्रमणको बीमा गरेका बीमितले बीमा रकम पाउन नसकेको विषयमा नेपालगञ्जका सात अधिवक्ता र अधिकारकर्मीले २०७८ कात्तिक १५ गते उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा बीमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गर्नुभएको थियो । बाँकेमा रहेका राष्ट्रिय बीमा संस्थानलगायतका २० बीमा कम्पनीले कोरोना बीमा गराए पनि सम्झौताअनुसार बीमा रकम उपलब्ध नगराएपछि मर्कामा परेका बीमितको हकमा एडभोकेसी फोरम नेपालका प्रदेश संयोजकसमेत रहनुभएका अधिवक्ता वसन्त गौतम, नेपाल बार एशोसिएशनका निर्वतमान उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र अधिकारकर्मी इन्सेकका भोला महतले संयुक्तरुपमा रिट दायर गर्नुभएको थियो । कोरोना सङ्क्रमणको सुरुआती अवस्थामा सम्भावित कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर बीमा गरेका बीमितले दाबी गरेको लामो समयसम्म पनि बीमाबापतको रकम पाउन नसकेपछि रिट दायर गरिएको अधिवक्ता सुनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिलो कोरोना सङ्क्रमणको बेला बीमा गराएका सीमित बीमितले रकम पाए पनि अधिकांश बीमितले बीमाबापतको रकम पाउन सकेका छैनन् । बीमा कम्पनीको बदमासी र गैरजिम्मेवारी कार्यले सम्झौताअनुसारको बीमा रकम उपलब्ध नगराएपछि नेपालगञ्जका अधिकारकर्मी र कानुन व्यवसायी कानुनी उपचारमा जानुपरेको रिट निवेदक अधिवक्ता लोकबहादुर शाहले बताउनुभयो । बीमा कम्पनीले शर्तबमोजिमको कानुनी दायित्व पूरा नगर्दा बीमित मर्कामा परेका छन् । कोरोना सङ्क्रमणको पुष्टि भएको कागजात, आइसोलेसनमा बसेर उपचार गराएको प्रमाण र बीमा सम्झौताको कागजात पेश गर्दा पनि धेरै बीमितले न्याय नपाएकाले रिट दायर गर्नुपरेको रिट निवेदकले बताएका छन् । भुक्तानीका निम्ति माग दाबी गरेको वर्ष दिनभन्दा बढी समय हुँदासमेत बीमा कम्पनीले आलटाल गरी सरकारबाट रकम प्राप्त भएपछि भुक्तानी गरिनेछ भनेर बीमित झुक्याउने कार्य गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो ।
काठमाण्डौँ : भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । ले जनाएको छ । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताउनुभयो । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौँ : नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिनुभयो । सिफारिस भएकामध्ये पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली हुनुहुन्छ । यस्तै, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको छ ।
स्याङ्जा : स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो । दैनिक सयौँको सङ्ख्यामा साना ठूला सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्य हुने गरेको थियो । सडक कालोपत्र हुन नसकेकोमा भने स्थानीयले पटक–पटक आवाज उठाउँदै आएका छन् । मन्त्रालयले विनियोजन गरेको रु १३ करोड ३४ लाखमध्ये लामा कान्तिपुर जेभी काठमाडौँले रु आठ करोड ८१ लाख ४८ हजारमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाका इञ्जिनियर सुजन पोखरेलले जानकारी दिनुभयो । कोभिडलगायतका कारण समयमै काम सुरु गर्न नसकेको उहाँले बताउनुभयो । सिद्धार्थ राजमार्गको गल्याङदेखि जिल्लाकै समथर भूभाग रहेको चापाकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्नका लागि खोलिएको ट्रयाकको स्तरोन्नति हुन नसकेपछि प्रदेशसभामा पटक–पटक आवाज उठाएर काम सुरु भएको गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले बताउनुभयो । यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै सदनमा आवाज उठाएपछि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । कूल २१ किलोमिटरमध्ये अब बाँकी रहेको १६ किलोमिटर सडक पनि क्रमागतरुपमा रहेकाले कालोपत्र हुँदै जाने उहाँले जानकारी दिनुभयो । “गल्याङ–चापाकोट सडकलाई कालोपत्र गर्नका लागि डिपिआर गरिसकिएको छ”, उहाँले भन्नुभयो, “अब दुई खोलामा पुल÷कल्भर्ट बनाईने छ भने बाँकी रहेको सडकलाई कालोपत्र गर्दै अगाडि बढिने छ ।” गल्याङ नगरपालिकाको केन्द्रदेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म अर्थात् दुई पालिकालाई सडक सञ्जालमार्फत जोडिने भएकाले पनि उक्त सडकको स्तरोन्नतिमा चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ट्रयाक खोलिएको लामो समय हुँदा पनि सडक कालोपत्र नहुँदा यात्रुले सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०७७ फागुनमा ठेक्का सम्झौता भएको उक्त सडक २०७९ भदौसम्ममा सम्पन्न गर्नुपर्ने थियो ।
म्याग्दी : ढिलासुस्तीका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एउटा सडक निर्माण भने लक्ष्यअघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ । बेनी नगरपालिका–९ काउलेगौडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सञ्चालन भएको योजना सम्झौता भन्दा दुई महिनाअघिनै सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । “गत मङ्सिरमा ठेक्का सम्झौता भएको योजनाको काम २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले २०७८ चैतमै काम सकेर हस्तान्तरण गर्नुभयो ।” रु दुई करोड ३० लाख विनियोजन गरिएको सो सडक निर्माण गर्न पर्वतको बुद्ध निर्माण सेवाले २०७८ मङ्सिर २६ गते रु एक करोड ४३ लाख ५९ हजारमा ठेक्का सम्झौता गरेको थियो । बेनी नगरपालिकाका सवइञ्जिनियर चन्द्रबहादुर थापाले पाँच मिटर चौडाइका दरले ५५० मिटर ढलान, ६७० घनमिटर ग्याविन जाली र ६६० घनमिटर स्टोन मेसिनरी पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो । काउलेगौडा क्षेत्रमा १६० मिटर पक्की नाली निर्माणका साथै माटो कटिङ र फिलिङ गरिएको छ । काउलेगौडाका विदुर विक सडक स्तरोन्नतिपछि सवारीसाधन सञ्चालन, आवतजावतमा सहजता र जोखिम घटेको बताउनुहुन्छ । निर्माण कम्पनीका सञ्चालक सागर श्रेष्ठले पर्याप्त निर्माण सामग्री जुटाएर मजदुर र उपकरण परिचालन गरी लक्ष्यअघिनै सम्झौताअनुसारको काम सकेको बताउनुभयो । साँघुरो, कच्ची, नाली नभएको र ग्रेड तथा घुम्ती नमिलेको सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षदेखि क्रमागत योजना सुरु गरेको थियो । गत वर्ष दुई किलोमिटर क्षेत्रमा एक हजार ५५९ घनमिटर ग्याविन पर्खाल, ९६१ मिटर पक्की पर्खाल, पाँच स्थानमा क्रस ड्रेन, ३०४ मिटर सडक ढलान र २६१ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको थियो । बेनी नगरपालिका–९ र १०, रघुगङ्गा गाउँपालिका–५, ६ र ८ वडावासीले जिल्ला सदरमुकाम बेनी आवतजावतका लागि उक्त सडक प्रयोग गर्छन् । काउलेगौडा, पात्लेखेत, झिँ, पाखापानी र कुइनेका बासिन्दा लाभान्वित हुने उक्त सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
धनुषा : धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किनुभयो । “धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु ।” धानको याममा मल नपाएपछि कसरी खेती गर्ने भन्ने चिन्तामा डुबेको पण्डितको दुःखेसो छ । धान छर्ने तयारीमा रहेका धनुषाधाम नगरपालिका–४ का श्याम यादव पनि मल नपाएपछि निरास बन्नुभएको छ । “गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ, तर मल पाउन सकिन”, उहाँले भन्नुभयो, “कृषि सामग्री कार्यालयमा जाँदा गाउँको डिलरमा जानुभन्छ, डिलरमा जाँदा मल छैन भन्छन् ।” मल नपाएपछि बाली लगाउनै समस्या भएको उहाँको भनाइ छ । धनुषा र महोत्तरीका किसानलाई मल अभाव भएको छ । धानबाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त डिएपी मल नपाउँदा निरास बनेका छन् । धानबाली लगाउने बेला मल नपाउँदा किसान बर्सेनि मार खेप्दै आएका छन् । कूल ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी राजेन्द्रप्रसाद यादवले बताउनुभयो । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी र युरिया मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएपछि किसान मार खेप्दै आएका छन् । धनुषामा बर्सेनि रासायनिक मलको माग बढ्दै जाँदा आपूर्ति भने घट्दै गएपछि यस्तो अवस्था आएको प्रमुख बेचन साहले बताउनुभयो । चालु आर्थिक वर्ष २०७८÷७९ मा केन्द्रले धनुषा र महोत्तरीका लागि युरिया पाँच हजार मेट्रिक टन र डिएपी चार हजार ५०० मेट्रिक टन माग गरेपनि हालसम्म डिएपी दुई हजार ४९५ मेट्रिक टन र युरिया चार हजार ११४ मेट्रिक टन मात्र प्राप्त भएको प्रमुख साहले बताउनुभयो । “डिएपी सबै बिक्री भइसकेको छ, युरिया ५५ मेट्रिक टन गोदाममा मौज्दात छ”, उहाँले भन्नुभयो । गत आवमा ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल माग गरेकामा युरिया तीन हजार २०० मेट्रिक टन र डिएपी चार हजार ५०० मात्र आपूर्ति भएको थियो । यस वर्ष ६०० मेट्रिक टन मल ढुवानी समस्याका कारण आउन नसकेको प्रमुख साह बताउनुहुन्छ ।
सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् । मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताउनुभयो । “मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके”, उहाँले भन्नुभयो, “दिनभरको घामले बोट सुक्न थालेका छन् ।” छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउनुहुन्छ । “रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन”, उहाँले भन्नुभयो । खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेको उहाँको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।