कञ्चनपुर: बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाउनु भएको छ । ससुरालीमा बस्दै आउनुभएका उहाँले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ । “जग्गा घर केही छैन मजदुरी गरेर जीविका चलाउँदै आएको छु”, डगौराले भन्नुभयो, “जीब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा देखाउन जान भने पनि आर्थिक अभावले पीडा सहेर बस्दै आएको छु ।” उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा उहाँ मर्नु र बाँच्नुको दोसाँधमा पुग्नुभएको छ । “पहिला जिब्रो दुख्ने मात्रै गर्दथ्यो”, डगौराले भन्नुभयो, “अहिले खाना मुखभित्र राख्न नै गाह्रो हुन थालेको छ । पुरै मुख दुख्छ खाना खानसक्ने अवस्था पनि छैन । विस्तारै बोले पनि मुख दुख्ने भएकाले धेरै बोल्नसमेत सक्दिन । आफ्नो कोही छैन । उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको छ । उपचारका लागि सहयोग गरिदिनका लागि उहाँले सबैसँग आग्रह गर्नुभयो । भारतमा छँदा गुटखाको अम्मली भएको र त्यसकै कारण जिब्रोमा क्यान्सर भएको डगौराले बताउनुभयो । “भारतमा रोजगारीका लागि आमाबुवासँगै जाँदा उनीहरुले अलपत्र छाडेर कहाँ गए पत्तो नै लागेन । केही वर्ष भारतको मुम्बाइमा छ वर्षको उमेरदेखि नै होटेलमा भाँडा माँझ्ने कार्य गरेँ, ’’उहाँले भन्नुभयो, “त्यही होटेलमा काम गर्ने नेपालीसँग चिनजान गरी उनीहरुसँगै नेपाल फर्किए । त्यतिबेला मेरो उमेर १९ वर्ष जतिको थियो । सानैमा भारत गएकाले यहाँ फर्केपछि परिवार भेटाउन सकिन । थातथलो कहाँ थियो । ठम्याउन पनि सकिन ।” “यहाँ फर्केपछि मजदुरी गरेर जीविका चलाउँदै आएकाले परिवार पाल्नसक्ने आँट भएको ठिटो भनेर धेरैले तारिफ गर्थे । विवाह गरेँ । केही वर्षमै दुई छोरी एक छोराको बुवा पनि बने । जिब्रोमा क्यान्सर भएको कुरा श्रीमतीलाई सुनाए”, डगौराले भन्नुभयो, “घरको एक्लो कमाउने व्यक्तिलाई नै क्यान्सर भएपछि हाम्रो पालनपोषण कसले गर्ला भन्ने सोचेर होला श्रीमतीले एक वर्षको छोरासहित आत्महत्या गरिन् । माइली छोरीलाई पनि झुण्याएकी थिइन् । तर खुट्टाले भुइँमा छुनपुग्दा उनी जोगिइन यो गत चैत १७ गतेको घटना हो ।” आमाबुवाले पहिला नै छाडिसकेका थिए । एक्लो सहाराका रुपमा रहेकी श्रीमतीले पनि यो संसार छाडेर गएपछि तनावपूर्ण जीन्दगी जिउनु परेको उहाँले बताउनुभयो । डगौराका दुई छोरी माइतीमा छन् । ससुरालीकोसमेत आर्थिक अवस्था निकै दयनीय भएकाले उपचार खर्च माग्नसक्ने अवस्था नरहेको उहाँको दुखेसो थियो ।
रुपन्देही: रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गत वर्ष रु २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो । उहाँले प्राकृतिक प्रकोप, बेमौसमी वर्षात्का साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इँटा उद्योगलाई असर पारेको जानकारी दिनुभयो । महासचिव गुप्ताले भन्नुभयो, “इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन् ।” जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नाका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो । त्यस्तै लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाउनुभयो । उहाँले कोइला आयतमा नेपाल सरकारले सहजीकरण गर्नाका साथै जिल्लामा उत्पादित इँटाको माग बढाउनुपर्नेमा जोड दिनुभयो । रुपन्देहीमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौँ, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि इँटा व्यवसायीले इँटा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँटा उद्योग बन्द गर्ने अखिल भारतीय इँटा एवं टायल व्यवसायी महासङ्घले घोषणा गरेको र यसको असर नेपालमा समेत पर्ने अनुमान गरिएको छ ।
काठमाडौं: गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् । यस्तो दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन् । विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन् ।
दमक: झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न थालेको पाईएको छ । विशेष गरेर झापाको दमकमा रहेको स्थानीय सरकारी दमक अस्पतालमा कन्काईपु्लको वारी क्षेत्र अर्थात दमक शिवसताक्षी नगरपालिका, कमल गाँउपालिका, गौरीगन्ज गाँउपालिका लगायतका पालिकाहरुका विरामी आउने अवस्था रहेको छ । यहाँ दैनिक एक हजारभन्दा बढी विरामीको चाप रहने गरेको छ । स्थानीय तहहरुले विपन्न समुदायको स्वास्थ्य विमालाई प्राथमिकतामा राख्दै उपचारका लागि आफ्नै पालिकामा अस्पताल बनाउने कार्य अघि बढाएको पाइएको हो । हामीले आर्थिक वर्षको शुरुवातदेखि नै कम्तिमा पाँच बेडका लागि आवश्यक विशेषज्ञसहितको अस्पताल शुरु गर्दैछौँ, गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले भन्नुभयो । बीमाको उपचारका लागि आवश्यक स्वीकृति पनि गाँउपालिकाले पाइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनुभएको छ । यहाँ अस्पतालबाट सेवा शुरु भएपछि अन्यत्र राम्रो अस्पताल रेफर भएर जाने विरामीका लागि दमक अस्पताल जानु पर्ने बाध्यता टर्नेछ । गौरादह नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा आगामी एक वर्षभित्रमा नै कम्तिमा पनि पाँच बेडको अस्पताल शुचारु गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । तीन जना विशेषज्ञ चिकित्सक सुविधासहितको अस्पताल शुरु गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनुभयो । गौरादहको स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सुचारु गरिने भएको हो । यहाँ ल्याव, एक्स–रेलगायतका आधारभूत स्वास्थ्य उपकरणहरु तत्कालै व्यवस्थापन गरिने पनि जनाइएको छ । अस्पतालमा उपचार हुन नसक्ने र बाहिर ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको सुवेदीको भनाइ छ । यसैगरी, गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछीमा रहेको गौरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको रूपमा सञ्चालन गरिने र यसका लागि आवश्यक प्रक्रिया सकिएको गाउँपालिका उपाध्यक्ष पुजन कुँवरले बताउनुभएको छ । आर्थिक वर्ष २०७९÷८० को साउन १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको गौरीगंज अस्पतालको रूपमा स्वीकृति पाएर सञ्चालन हुने उहाँका भनाइ रहेको छ । बीमाका विरामीहरुले यही उपचार पाउने अवस्था रहनेछ, उहाँले भन्नुभयो । अस्पतालका लागि डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्सको व्यवस्थापन हुने जनाइएको छ । गाँउपालिकाले अति विपन्नहरुको स्वास्थ्य बीमालाई आफ्नो नीति तथा कार्यक्रममा महत्वका साथ स्थान दिएको छ ।
काठमाण्डौँ: चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताउनुभयो । हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मारेको छ । भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत नरोकिएको हात्ती संरक्षणकर्ता शङ्कर लुइँटेलको भनाइ छ । बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएको सहायक वन अधिकृत खत्रीले जानकारी दिनुभयो । अर्जुनधारामा मृत भेटिएको हात्तीको वरिपरि विद्युतीय तारबार भेटिएको हुँदा सो हात्तीलाई स्थानीयवासीले नै करेन्ट लगाएर मारेको हुनसक्ने आशङ्का गरिएको उहाँको भनाइ छ ।
काठमाण्डौँ: खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातीत उत्पादनले विस्थापित गरेको किसानको पीडा छ । सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरुको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका–७ का किसान विजयसिंह केवट बताउनुहुन्छ । आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ । भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत्लगायतमा सहयोग पुर्याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका–१४ का किसान पन्नेलाल केवट गुनासो गर्नुहुन्छ । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका–१२ का किसान राधेश्याम लोध बताउनुहुन्छ । सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताउनुभएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । ६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरीचौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्र्याक्टर ‘लोडपिन’ अचानक भाँचिन गई रोडको बायाँतर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौँ: आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
काठमाण्डौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताउनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तालिम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र भूगोलालाई एकीकृत र प्रोत्साहन गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको रोजाई बन्नुपर्ने बताउनुभयो । “अहिले रेडियो सबैको पहुँचमा छ, सबैको पहुँचमा मात्रै होइन, यसलाई स्वदेश र विदेशमा रहेका सबै नेपालीको रोजाई बनाउँदै हरेक भाषामा बज्ने समाचार, गीत र कार्यक्रम सबैको लागि लोकप्रिय बनोस्, त्यस उद्देश्यका साथ अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री कार्कीले रेडियो नेपालले प्रकाशन गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक’को विमोचन गर्दै नेपालको आर्थिक र सामाजिक, धरातलीय यर्थातलाई मनन गर्दै रेडियो नेपालको गरिमालाई अझै अभिवृद्धि गर्ने उद्देश्य र समर्पणका साथ लाग्न निर्देशनसमेत दिनुभयो । सरकारका प्रवक्ता कार्कीले नेपालको विविध भाषाभाषी, जातजाती, पहाड, हिमाल र तराई सबै भू–भागलाई राष्ट्रिय पूँजीको रुपमा विकास गरेर मधेश, पहाडबीचमा भएको अन्तरसम्वन्धलाई अझ सुदृढ गरेर मुलुकलाई जतिसक्दो चाँडो विकासको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुलुक भूगोलका हिसाबले हिमाल, पहाड र तराई मधेसमा विभाजन छ, जातजातीको, भाषाको हिसाबले विविधतामा छ, यो हाम्रो मुलुकको विशिष्ट पहिचान हो, विश्वमा नै यस किसिमको भौगोलिक विविधता भएको र यती धेरै भाषाभाषि भएको देश धोरै छन्, नेपालको जातीय सद्भावलाई अझ समृद्ध गर्दै लैजानुपर्छ । सबै भाषाभाषीको संरक्षण गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्छ ।” सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले रेडियो नेपालले स्रोताको मन जित्ने गरी समाचार तथा कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । तीन दिनसम्म सञ्चालित सो तालिममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, पत्रकार टिकाराम यात्री र विज्ञ अनिता गुरुङले प्रशिक्षण दिनुभएको थियो ।