धनुषा:    मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गर...

काठमाडौँ  :  गृहमन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ ।    पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो ।    त्यसरी जाँदा समस्यामा परी अलपत्र पर्ने क्रम बढेको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ । यसरी गैरकानुनी रुपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरहने पनि मन्त्रालयले जानकारी गराएको छ ।     विज्ञप्तिमा त्यसरी जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरिएको छ । साथै, स्थानीय तहले समेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । भ्रमण भिसामा विदेश जानेले पर्यटकको रुपमा मात्र प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

म्याग्दी   :  म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको  बर्खेनाच सुरु भएको छ । वि.सं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएका थिए । त्यतिबेलादेखि नै बेनीमा बर्खेनाच देखाउने परम्परा बसेको हो ।     प्राचीन समयमा समाजमा खलपात्रका रुपमा चिनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतीक बनाई त्यसलाई बध गरेर (मारेर) कालीगण्डकीमा विसर्जन गरेसँगै एकमहिने बर्खे नाच सुरु भएको हो । नेपाल भाषा मंकाः खलको आयोजनामा मङ्गलबार सङ्गमचोकबाट तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई बध गरेर कालीगण्डकी नदीमा विसर्जन गरिएको थियो ।      घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सुरु हुने नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । “हिजो घण्टाकर्णको बध गरी कालीगण्डकीमा विसर्जन गरियो, आजदेखि बर्खेनाच सुरु भएको छ”, उहाँले भन्नुभयो ।     बर्खेनाचअन्तर्गत लाखेनाच, रोपाइँ नाच, घोडा नाच, नागानागिनी नाच, श्रीकृष्ण र रथयात्रा, हनुमान नाच आदि पर्दछन् । तर पछिल्लो समय कलाकारहरुको अभावमा हनुमान नाच देखाउन छाडिएको छ ।  बर्खे नाचमा मंकाः खल अन्तर्गतको युवा सङ्गठन ल्याम्हपुचले आवश्यक तयारीसहित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।      जनशक्तिको अभावका कारण हनुमान नाच, रोपाइँ लगायतका केही नाचहरु सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात् नागानागिनी नाच निकाल्ने चलन छ ।     समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको विसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने मंकाः खलका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।     घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ ।      बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसाबास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन् ।     सदरमुकाम बेनीबजारमा तीनसय वर्षपहिले मानव बस्तीको विस्तार भएदेखि नै बर्खे नाच सुरु गरिएको बताइन्छ । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ ।

काठमाडौँ:     अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५ दशमलव ९४ किलोमिटर सडकको मार्ग खोलिएको पूर्वाधार शाखाले जनाएको छ ।       गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले तीन सय २० मिटर सडकमा ग्राभेल, पाँच सय ४२ दशमलव ५३ मिटर सोलिङ, दुई सय ३४ मिटर सडकमा आरसिसी ढलान र कजवे निर्माण, छ वटा कल्भर्ट, ५७ दशमलव चार मिटर नाली निर्माण भएको जानकारी दिनुभयो । खिवाङ–घराम्दी र राम्चे–घोडेपानी जोड्ने सडकको मार्ग निर्माण तथा महभिर–हिस्तान–राम्चे सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको थियो । घोडेपानीबाट फूलबारी र राम्चेबाट आहालडाँडाबाट सडक निर्माण थालिएको छ । खिवाङतर्फबाट घराम्दी जोड्ने सडकको मार्ग खोल्ने उद्देश्यले सडक निर्माण गरिएको छ ।       दुई हजार आठ सय ७४ दशमलव आठ घनमिटर ग्यावियन पर्खाल र एक सय ३२ दशमलव ५३ घनमिटर रिटेनिङ पर्खाल निर्माण भएको छ । वडा नं ४ र ५ मा दुई/दुई र १ मा एकवटा झोलुङ्ग पुल निर्माण गरिएको छ ।       गाउँपालिकाको कार्यक्रमबाट एक हजार दुई सय २४ दशमलव पाँच मिटर नयाँ पदमार्ग निर्माण र दुई हजार आठ सय ९६ दशमलव ७५ मिटर पदमार्ग स्तरोन्नति भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । यस वर्ष १९ घरमा नयाँ धारा जडान, ११ हजार चार सय ४७ दशमलव छ मिटर खानेपानी लाइन विस्तार, ३३ हजार लिटर क्षमताका ट्याङ्की निर्माण, ढल निकासका लागि सात सय २६ मिटर पाइपलाइन विस्तार र १२ वटा च्याम्बर बनाइएको छ ।       सामुदायिक तथा विद्यालय, मन्दिर, सभाहल र शौचालय २४ वटा निर्माण गरिएका तथा १३ वटाको मर्मत भएको छ । सरकारी अनुदानमा मनसुनजन्य विपद् प्रभावितका आठ घर निर्माण गरिएका छन् । दुईवटा प्रवेशद्वार र एकवटा पार्क निर्माण गरिएको छ । पूर्वाधारसम्बन्धी एक सय ६४ वटा योजना रहेकामा एक सय ६१ वटा सम्पन्न भएका गाउँपालिकाका सूचना अधिकारी हरिकृष्ण आचार्यले बताउनुभयो ।       उहाँका अनुसार निर्माण व्यवसायीले काम नगरेपछि रु ५० लाख विनियोजन भएको खिवाङ खानेपानी आयोजनाको ठेक्का रद्द गरिएको छ । तीन योजनाको ठेक्का सम्झौता गरिएको थियो । लेखापाल प्रेम पराजुलीले गत आर्थिक वर्षमा चालुतर्फ ७७ दशमलव ९६ र पूँजीगततर्फ ७८ दशमलव शुन्य छ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । 

  काठमाडौँ:    नेपालभरि ९४ प्रतिशत जनतामा खानेपानीको सुविधा पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाले गरेको अध्ययनमा उक्त तथ्याङ्क देखिएको हो । सरकारको खानेपानीको प्रतिवेदनमा पनि सोही तथ्याङ्क छ ।       नेवाले खानेपानीमा काम थालेको ३० वर्ष पुगेको अवसरमा आयोजित एक अन्तरक्रियामा संस्थाका क्षेत्रीय प्रबन्धक कुमार सिलवालले नेपालभरि ९४ प्रतिशत, गण्डकी प्रदेशमा ९० प्रतिशत र बागलुङमा ९२ प्रतिशत खानेपानी पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।      नेपालभर सम्पन्न भएका ४२ हजार ३९ आयोजनाबाट उक्त सफलता मिलेको बताइएको हो । नेवाले पनि ३० वर्षमा ४० हजार धारा बनाएको बताइएको छ । दुई हजार ५३८ योजना सम्पन्न गरेर २२ लाख जनतालाई खानेपानीको व्यवस्था गरेको नेवाका केन्द्रीय कार्यालयका प्रतिनिधि महेश्वरप्रसाद यादवले बताउनुभयो ।       नेवाले नेपालका ६ सय ८५ विद्यालयमा पनि खानेपानीका योजना बनाएको हो । ६२१ विद्यालयमा शौचालय बनाएको र आमजनताको घरघरमा गरी एक लाख ४५ हजार ९६२ शौचालय बनेको यादवले बताउनुभयो । कतिपय जिल्लाका तत्कालीन गाविसहरु खुला दिसामुक्त घोषणामा पनि संस्थाले काम गरेको थियो । हाल खानेपानीको सुविधा पुगे पनि शुद्ध पानी अभाव भएकाले संस्थाले अबका दिनमा शुद्धता र गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाले आग्रह गरेका छन् ।      जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले शुद्ध खानेपानी जनताको मौलिक हक भएको जनाउँदै हिजोका दिनमा पानी लैजानु मात्रै ठूलो कुरा हुन सक्ने भए पनि अब भने शुद्ध पानी वितरणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जनतालाई कम भार पर्ने गरी पानीका योजना निर्माण गर्न स्थानीय पालिकासँग समन्वय सहकार्य बढाउनुपर्ने सुझाव पनि दिनुभयो ।       कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले वित्तीय समानीकरण लगायतका बजेट परिचालन गर्न खानेपानी निर्माणमा जनताले धेरै लगानी गर्नु परेको बताए । नेवाको सहकार्यमा तमानखोलामा सयौँ धारा निर्माण भएको जनाउँदै अझै पनि धेरै योजना बनाउने काममा अन्य पालिका पनि लाग्नुपर्ने बताउनुभयो । 

  गण्डकी:  कृषिप्रधान देश नेपालमा आधुनिक प्रविधिसँगै भित्रिएका कृषि उपकरणको बढ्दो क्रमले यतिखेर अधिकांश स्थानमा हलोको प्रयोग हुन छाडेको छ ।    नेपालका अधिकांश ग्रामीण भेगमा पछिल्ला समयमा किसान हलो छाडेर हाते मिनि टेलर प्रयोग गर्न थालेका छन् भने समथर भू–भागमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ । ग्रामीण भेगका टारी खेतमा अग्ला कान्ला तथा साँघुरा गरा हुने भएकाले केही स्थानमा भने अझै पनि गोरुको प्रयोग हुने गरेको स्थानीय किसान बताउँछन् ।   समथर ठाउँका लागि ट्याक्टरको प्रयोग बरदान नै भए पनि राम्रा मलिला खेतमा भने यसको प्रयोगले जमिनको भित्री रुखो माटो बाहिर ल्याउने हुँदा उत्पादनमा प्रत्यक्ष असर पार्ने गरेको अगुवा किसान हरिप्रसाद आचार्य बताउनुहुन्छ । “कास्कीको दक्षिणभेगस्थित सुरौदी फाँटका मलिला खेतमा ट्याक्टरको प्रयोगले भित्री रुखो माटो निकाल्ने गरेको मेरो अनुभव छ”, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहनुभएका आचार्यले भन्नुभयो, “अन्य गेग्रानयुक्त ढुङ्गे खेतका लागि भने यसको प्रयोगले खेती गर्न सजिलोका साथै उत्पादन बढाएको छ ।”    खनजोतका लागि आधुनिक उपकरणको बढ्दो प्रयोगसँगै ती उपकरण सजिलै लैजान नसकिने ठाउँमा खेतबारी बाँझै रहन थालेको किसान बताउँछन् । पछिल्ला वर्षमा त स्थानीय जातका गाई पाल्न छाडिएका कारण जोत्नका लागि गोरु पाउन पनि मुस्किल छ ।    विगतमा कास्की र आसपासमा सिक्लेस, गोर्जे, हङ्शपुर, माझठाना, बाबियाडाँडा, भरतपोखरी लगायतका स्थानमा गोरुको राम्रै खरिदबिक्री हुने गरेकामा अहिले भने ती ठाउँमा पनि अधिकांशले गाई पाल्न छाडेका छन् । यस क्षेत्रमा विकासी जातका गाईका बाच्छालाई गोरुका रुपमा प्रयोग गरिदैन । ग्रामीण भेगमा दाइ हाल्नका लागि गोरुको अभाव हुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । एउटा गोरु किन्न सामान्यतः रु २० देखि ३० हजारसम्म खर्चनुपर्ने किसान बताउँछन् ।   गोरुको अभावसँगै पछिल्ला वर्षमा परम्परागत काठे हलो बनाउने व्यक्तिको पनि अभाव खड्कँदै गएको छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्नुका साथै त्यसबाट निर्वाहसमेत नहुने भएपछि हलो किन्नका लागि पाउन पनि मुस्किल हुने गरेको अर्का किसान टीकाराम तिवारीले बताउनुभयो । “हलो बनाउनका लागि सीप उत्तिकै आवश्यक छ, पछिल्ला पुस्तामा यसतर्फ चासो नदेखिएका कारण अहिले हलो सहज रुपमा किन्नका लागि पाउन सकिँदैन”, उहाँले भन्नुभयो ।    नयाँ प्रविधिका टेक्टर भित्रिए पनि त्यसलाई चलाउन सक्ने सीपका साथै सामान्य विग्रदा मर्मत गर्न समेत समस्या हुँदा कतिपय स्थानमा हलोको प्रयोग चाहेर पनि चटक्क छोड्न नसकिएको किसानको अनुभव छ । गाउँका टारीखेतमा मिनि टेलर बोकेर तलमाथि गर्नुका साथै चलाउने सीपको अभाव र मर्मतको अज्ञानता आदि समस्याका रुपमा रहेको तिवारीको भनाइ छ ।    पछिल्लो समयमा बढ्दै गएको ट्याक्टर एवं मिनि टेलरको प्रयोग किसान लागि बरदान सावित भएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाएको जनाउँदै उहाँले विगत सात वर्ष यता यी उपकरणको खरिदमा सरकारका तर्फबाट अनुदान सहयोग उपलब्ध गराउन थालिएको बताउनुभयो ।   गोरुका लागि घाँस काट्ने, खुवाउने र चराउने गर्नुपर्ने भए पनि ट्याक्टर, मिनिटेलरको प्रयोग गर्दा उक्त समस्या समाधान भएको किसान बताउँछन् । छोटो समयमा धेरै काम गर्न सकिने भएकोे पनि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । 

  काठमाडौँ:    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ ।    विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षकोे अवधिमा एक हजार ३३१ व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो । यसबाट रु एक करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिनुभयो ।   उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको बतायनुभयो । यसअवधिमा विभागले तीन हजार १४७ फर्मको अनुगमन गर्दा ३१२ फर्ममात्र सामान्य अवस्थामा रहेको पाइएको थियो ।   एक हजार ७३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, ६८५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन, साधनसहित तीन जना प्रक्राउ र १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।   यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकाले रु ५४ लाख लाख ८२ हजार ७११ मूल्य बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सबैभन्दा धेरै कारवाही खाद्यान्न तथा किराना पसललाई गरिएको छ । एक वर्षको अवधिमा ८३८ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा ४२९ फर्मलाई आर्थिक जरिवाना गरिएकोे हो ।   यस्तै, ११९ फार्मेसी पसलको अनुगमन गर्दा ३९, २३३ कस्मेटिक तथा कपडा पसलको अनुगमन गर्दा २५ पसललाई कारवाहीस्वरुप आर्थिक जरिवाना गरिएको उल्लेख छ । यस्तैगरी, ४ स्टेशनरी, तीन सर्जिकल हाउस, २९ वटा अण्डा तथा मासु पसल, पाँच वटा मार्ट, छ वटा फ्युल तथा कोइला पसल, १७ वटा ग्यास, नौ वटा चस्मा पसल, ११ वटा डिर्पाटमेन्ट स्टोर, १४ वटा पानी उद्योग, १७ वटा मदिरा तथा पेय पदार्थ, ४३ वटा फलफूल तथा तरकारी पसल, १८ वटा दुग्धजन्य पदार्थ तथा बेकरी उद्योग र ६६० अन्य फर्मलाई कारवाही गरिएको निर्देशक पङ्गेनीले जानकारी दिनुभयो ।   उहाँका अनुसार विभागले नियमितरुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, तरकारी तथा पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ ।   विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर दैनिक बजार अनुगमन गर्ने गरेको जनाइएको छ । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

हुम्ला:   हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ ।    सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गर्नुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा किसानलाई अनुदानमा भेडा वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।       गाउँपालिकाको पशु शाखा प्रमुख महेन्द्र शाहीका अनुसार सिमकोट–१ का जैधन भण्डारी, कुञ्ज्याक लामा र सोनाम जामो लामा तथा वडा नं २ का रुपसिंह बोहरा, धनसुर कामी, सिलदेवी दमाई, नर बोहरा, बाक्ली बोहरा, काली भण्डारी र बालकृष्ण बोहरालाई भेडा वितरण गरिएको हो ।    अध्यक्ष भण्डारीले किसानलाई थप सेवा सुविधा उपलब्ध गराइने बताउनुभयो । ऊन उत्पादनमा जोड दिन आगामी दिनमा पनि भेडा वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । ऊन प्रशोधनका लागि गाउँपालिकाले आधुनिक चर्खा सहयोग गर्ने भएको छ । 

रुपन्देही:    बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर बिटालु राम्रोसँग ननिदाएको धरै दिन भयो । पहिराका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उहाँ निदाउन सक्नुहुन्न । पानी पर्ने बित्तिकै घर छोडेर हिँड्ने बिटालु दम्पती बेलवास आफन्तको घरमा बास बस्नुहुन्छ ।       गत वर्ष चार कोठा पहिराले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरो पसेको छ । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरोभित्र पसेपछि उहाँहरुले एउटा कोठामा खाने बस्ने गर्दै आउनुभएको छ । “आकाश गर्जिन थाल्यो कि मन तर्सिन्छ दिउँसोमा त बरु देखिन्छ तर रातिमा आयो भने गुहार नपाई मरिन्छ कि भन्ने डर लाग्छ”, आँखाभरि आँशु पार्दै बिटालु दुःखेसो पोख्नुहुन्छ ।       तेह्र जनाको विटालुको परिवारमा छोरा बुहारीहरु अलग्गै बस्छन् । घरअगाडि सानो टङ्की पसल गरेर गुजारा गर्दै आएका बिटालु दम्पती पहिराका कारण व्यापार पनि नभएको गुनासो गर्नुहुन्छ । यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका बिटालुको परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् ।       स्थानीय तहको निर्वाचनमा हामीले पहिराबाट बचाउँछौ भनी राजनीतिक दलका प्रतिनिधिहरु घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग तथा पहिरो नियन्त्रणका लागि पहल नगरेको बिटालुकी श्रीमती उजेली गुनासो गर्नुहुन्छ । “पानी पर्ने बित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ ? त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ”, उजेली भन्नुहुन्छ ।      बुटवल–३ कै सति कुमारी श्रेष्ठ पनि आका गजिर्ने बित्तिकै घर छाडेर हिँड्नुहुन्छ । चुरे पहिराका कारण घर जोखिममा रहेकाले पहिराले च्याप्ने डरले उहाँ रातिमा घरमा सुत्न सक्नुहुन्न । गतवर्षको पहिराले घरको भूईँतला पुरेपछि लामो समय सरसफाइ गर्दा श्रेष्ठलाई धेरै पैसा खर्चिनुपरेको थियो । “गतवर्षको पहिरो बल्लबल्ल सफा गरे अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, रातिमा थाहै नपाई मरिन्छ कि भनेर अरुको घरमा गएर बस्छु” श्रेष्ठ दुःखेसो गर्नुहन्छ ।       श्रीमान र छोराको निधनपछि घरमा एक्लै बस्दै आउनुभएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उहाँको गुनासो छ । “पहिरोका कारण गत वर्षदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन”, गहभरि आँशु झार्दै श्रेष्ठले भन्नुभयो ।      अहिले पानी पर्नासाथ उपमहानगरको वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदोसहितको माटो र पानी बग्न शुरु हुन्छ । यसले गर्दा यहाँका स्थानीयबासी घर छोडेर हिँड्न बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारि पहिरोका कारण छियाछिया परेका चुरे क्षेत्रबाट पहिरो जान थाल्छ, अनि स्थानीयबासी आत्तिन थाल्छन् । गतवर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने वाध्यता यहाँका वासिन्दालाई छ । खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट प्रभावित छन् ।       अहिले वर्षा शुरु भएसँगै यो क्षेत्रका वासिन्दाहरु रातिमा घर छाड्न बाध्य छन् । वडा नं ३ का स्थानीय केशवराज पन्थीका अनुसार चुरे पहिराको जोखिमका कारण यो क्षेत्रका बासिन्दा अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने बित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उहाँको भनाइ छ । असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी आधा दर्जन स्थानीयबासीको घरमा पसेपछि उनीहरु घर छोडेर हिँडेका थिए ।       गतवर्ष पहिरोका कारण करीब दुई दर्जन दर्जन स्थानीय वासिन्दाका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन गर्यो । चुरे क्षेत्रमा पहिरोका कारण थप जोखिम बढेपछि विज्ञको टोलीले अध्ययन गरेर पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर गरे ।      यहाँको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवललाई प्रतिवेदन बुझाइएको थियो । पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलहरुबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीहरुहरुमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए । एक वर्षमा भएका अनुगमन, वुक्षरोपण र सामान्य पर्खाल लगाउने कामले पहिरो नियन्त्रण हुने देखिँदैन ।     गत वर्षको भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।       गतवर्ष पहिरो र दोस्रो चरणमा गरेर विज्ञको टोलीले चुरे पहिरो क्षेत्रको अवलोकन गरी दिएको सुझावका आधारमा ज्योतिनगर र लक्ष्मीनगरमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको सो कार्यालयका सूचना अधिकारी निर्मल थापा भन्नुहुन्छ, “हामीले गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाखको काम गरेका छौँ तर, प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लाग्दैन ।”     गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करीब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । “जुनसुकै समयमा खस्न सक्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा गतवर्षको पहिराका कारण घर वरिपरि ढुङ्गा माटोसहितको पहिराले लथालिङ्ग अवस्था छ, अहिले त झन पहिराले बाँच्न दिँदैन कि जस्तो लाग्छ”, स्थानीयबासी तुलसा सुवेदी दुःखेसो पोख्नुहुन्छ ।      चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि गत वर्ष स्थानीय तहले केही पहल गरेपनि सङ्घ र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो प्रभावित क्षेत्रमा अनुगमनका लागि गए पनि ठोस कदम चाल्न नसकेको स्थानीय तुलसा सुवेदीको गुनासो छ । “अनुगमनले मात्रै केही हुँदैन मात्र होइन, पहिरो नियन्त्रणका लागि ठोस योजना ल्याउनुपर्छ ”, सुवेदी भन्नुहुन्छ ।     वर्षभरि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि समस्या झेल्नुपर्ने अवस्था आएको चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउनुहुन्छ । अझै पनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने होे बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उहाँको भनाइ छ । चुरे–तिनाउ संरक्षण समितिका संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख, बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिएको भएपनि यो वर्ष पहिराको खतरा टरेको छैन ।      अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगरतर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोलातर्फ सोझ्याउने काम भएको थियो । “वडा नं ३ को सिरान बाँसघारीमा १९ फिट जमीन भासिएको छ, स्थानीय युवाले क्षति हुन नदिन स्काभेटरले माटो फालेर बगेको पानीलाई चिडियाखोलातर्फ सोझ्याइदिए । यसका लागि उपमहानगरले डिजेल सहयोग गरेको थियो”,  संयोजक गौतमले भन्नुभयो ।      विज्ञको प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । तर, यो विषय सबैलाई थाहा थिएन । तत्कालीन राजा वीरेन्द्रले २०३४÷३५ सालमा यस क्षेत्रमा चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो । सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीकै नाममा नै रहिरह्यो ।      बुटवलको शहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो । विस्तारै बस्ती बस्यो । विभिन्न जिल्लाबाट बसाइसराइ गरी आएकाहरुका घरहरु पहिरामा परेर पुरिए । विसं २०५५ को पहिरोमा यस क्षेत्रमा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित भएका थिए र यो क्रम गत वर्ष पनि दोहोरियो । गतवर्ष करिब डेढ दर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गा, माटोसहितको लेदो पस्यो ।      यो क्षेत्रमा २०५५ सालको पहिरोपछि जाइका समूहले सर्भे गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै पूरा भएको छैन । चुरे पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले वृक्षरोपणबाहेक कुनै काम गरेको छैन । गत असार १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिएको र थप कामका लागि समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउनुहुन्छ ।       पहिरो नियन्त्रणका लागि बाँसको बिरुवा काटेर राइजोन रोप्ने र ब्याम्बो वाल्टरिङ्ग अर्थात् बाँसको कप्टेराको जाली बनाएर लगाउने तयारी गरिएको उहाँको भनाइ छ । “यो वर्ष यहाँको चुरो पहिरो नियन्त्रणका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । प्राविधिकको सल्लाहअनुसार काम गर्छौं”, उहाँले भन्नुभयो, “वन मन्त्रालय भएकाले हाम्रो मुख्य काम वृक्षरोपण गर्ने हो । अहिले बाँस र अम्रिसो रोपेका छौँ ।” ज्योतिनगर क्षेत्रमा पानी पर्ने बित्तिकै पहिरो जान सुरु हुने भएकाले तत्काल पहिरो नियन्त्रण तथा व्यवस्थापनकै लागि वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र बुटवल उपमहानगरबीच समन्वय हुन नसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईको भनाइ छ ।      बुटवल उपमहानगरले पनि बिरुवा रोप्ने र तारजाली लगाउने काम सो क्षेत्रमा गरेको छ । तर यतिले पहिरो नथामिने भएकाले स्थानीयवासी यसबाट ढुक्क हुन सकेका छैनन् । “आवश्यकताअनुसार तारजाली भरेर खोलाको पानी बस्तीमा आउन नदिने गरी स्थानीयवासीको सहयोगमा काम गरेका छौँ । थप कामका लागि बैठक बसेर निर्णय गर्छौं”, बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनाल भन्नुहुन्छ ।       चुरे पहिरो व्यवस्थापनका लागि यो वर्ष गृह मन्त्रालयले रु ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । यस वर्षको मनसुनमा यस क्षेत्रमा धेरै पानी नपरेकाले पहिरो रोकिन्छ कि भन्ने आशा लागेको संयोजक खनालको भनाइ छ । 

तनहुँ:  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०ः१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।    बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।    दुईतर्फी रुपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका थिए । एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।