काठमाण्डौ: पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्यमा झरेको हो । थप दुई जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ जनामा झरेको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट मात्रै १० लाख नौ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट एक लाख ५२ हजार दुई सय १५ मा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नौ लाख ८८ हजार नौ सय १६ जना कोरोना सङ्क्रमण भइ मुक्त भएका छन् ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।
काठमाण्डौं: चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो चार महिनामा नेपालीले वैदेशिक शिक्षाको नाममा साढे २२ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक शिक्षाका लागि नेपालबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक शिक्षाका लागि जम्मा १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको खुद सेवा आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च भने १ सय ३७ प्रतिशतले बढेको छ । साउनदेखि कात्तिकसम्म नेपालमा सेवा आयबापत १७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा सेवा आय जम्मा सात अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । यस्तै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि ६४ प्रतिशतले बढेको छ । चार महिनामा नेपालीले विदेशमा ३३ अर्ब छ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको चार महिनामा २० अर्ब १९ करोड रुपैयाँ खर्च भएको थियो ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ । बिहान १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १ः२५ बजेदेखि सडक सुचारु भएको छ । भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी कार्यालय तनहुँले बताए । यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ । सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौं: फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करणको फाइनल खेल आज राति हुँदैछ । एक महिना चलेको महाकुम्भमा ६३ खेलपछि आज लुसेस आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फाइनल भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । फाइनल खेलअघि भने समापन समारोह आयोजना गरिनेछ । जहाँ विभिन्न सांगितिक प्रस्तुति दिइनेछ । ८८ हजार दर्शक क्षमता रहेको लुसेल स्टेडियममा समापन समारोह १५ मिनेटको हुने पिफाले जनाएको छ । ‘अ नाइट टु रिमेम्बर’ अर्थात यादगार रात नाम दिइएको समापन समारोहमा भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका नोरा फतेहीको प्रस्तुति रहनेछ । मोरक्न नागरिक फतेही भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका हुन् । नोरासँगै बाल्किस, रहमा रियाद र मानालको ‘लाइट दी स्काई’ लाइनअपले प्रस्तुति दिनेछन् । यस्तै डेभिडो र आइशाले (हाया हाया) सँगै गाउनेछन् भने ओजुना र गिम्सले पनि गाउनेछन् । प्रतियोगिताको विभिन्न क्षणहरु समेटर तयार पारिएको अफिसियल साउण्ड ट्रयाकको मसुप पनि प्रस्तुत गरिने फिफाले जनाएको छ ।
गण्डकी: पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । स्वदेशी एवं विदेशी पर्यटकका साथै उच्चपदस्थ अधिकारी, चर्चित अभिनेता तथा कलाकारको पनि पोखरामा साहसिक पर्यटनका गतिविधिले आकर्षित गर्ने गरेको छ । हालै नेपालको भ्रमणमा रहनुभएका बलिउड अभिनेता विवेक ओबरायले पोखरामा साहसिक पर्यटनका जिपलाइन, स्वीङ आदिमा रमाएका तस्वीर यतिखेर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका छन् । पोखराको यही साहसिक पर्यटन प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन क्षेत्रका लगानीकर्ता पनि यसतर्फको लगानीमा हौसिएको देखिन्छ । पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताउनुभयो । “पछिल्ला समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका छन्”, उहाँले भन्नुभयो, “हालै नेपाल भ्रमणका क्रममा पोखरामा बलिउड अभिनेता बिबेक ओभरायले जिपलाइन, स्वीङ लगायतका साहसिक पर्यटनका गतिविधि गर्दा त्यसले पोखराको साहसिक पर्यटनलाई थप चर्चामा ल्याएको छ ।” पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ । कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउनुहुन्छ । फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो । “नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्टड्राइभ गराउँछौँ”, निर्देशक महर्जनले भन्नुभयो, “टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका छौँ ।” अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ । यस मार्ग पार गर्न करिब दुई घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ । कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उहाँले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताउनुभयो । नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको बताउनुभयो।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको प्रहरी कार्यालयले बताएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।
पोखरा: पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण पूरा भएको हो । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक सजावटमा अझै कम्तीमा एक करोड लाग्ने अनुमान छ । पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउने उद्देश्यले पाल्पा हाउस प्रालिले यो संचालनमा ल्याउन लागेको हो । कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाली उत्पादनहरु अब यहाँबाट एकैथलोमा उचित मूल्यमा उपलब्ध गराइने बताए । यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने उनको विश्वास छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहल थालनी गरेका हुन् । पाल्पा हाउस सम्भवत आगामी माघ पहिलो सातादेखि औपचारिक संचालन गर्ने लक्ष्य रहेको समाजका पूर्व अध्यक्षसमेत रहेका कम्पनी अध्यक्ष घिमिरेले बताए । समाजका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउँछन् । पाल्पाली समाज पोखराले बिस्तारै बृहत् रुप लिंदै गएको उनको भनाइ छ । समाजले नै सहकारी जन्मायो, साथै पाल्पा हाउससँगसँगै पाल्पाली कोलोनी पनि छिट्टै संचालनमा ल्याउने थापाले बताए । न्यूरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । यहाँ १७ ओटा सटरमध्ये ९ ओटा बुकिङ भइसकेको संचालकमध्येका एक जगदीश गौतमले बताए । पाल्पाली ढाका, करुवा, तरकारी, फलफूलका अलावा पाल्पाली स्वाद हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक समेत यहाँ संचालन हुने रेष्टुरेन्टका परिकार हुने छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मन बहादुर गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको छ ।’ –उनले भने । स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकार तथा कोदोको परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङले बताए । महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ । सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।

