पोखराः राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश भेला शनिबार पोखरामा हुँदैछ । पोखराको सभागृहमा आयोजित कार्यक्रममा पार्टीका सभापति रवि लामिछानेलगायत अन्य केन्द्रीय सदस्यहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस विषयमा जानकारी दिँदै गण्डकी डा. संयोजक ढाकाकुमार श्रेष्ठले पार्टीलाई यस क्षेत्रमा विस्तार गर्ने उद्देश्यले भेला आयोजना गरेको जानकारी दिएका छन् । भेलापश्चात् पर्वत, तनहुँ र स्याङ्जामा पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने श्रेष्ठले बताए । पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि आज प्रतिनिधिसभाले पारित गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । त्यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले ज्येष्ठ नागरिकको अवस्था जटिल हुँदै गएकाले उनीहरुलाई राज्यका तर्फबाट संस्थागत रुपमा सहयोग उपलब्ध गराउने प्रयास गरिएको बताउनुभएको छ । नेपाली समाजमा प्रचलित ‘मातृ देवोः भव, पितृ देवोः भवको अवस्था’ मा क्रमशः खण्डित हुँदै गएको उल्लेख गर्दै उहाँले घरमै बस्ने वातावरण बनाउनका लागि सरकारले प्रयास गरेको बताउनुभयो । स्थानीय तहको सरकारलाई जिम्मेवार बनाउनका लागि ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ लाई द्रुतगतिमा पारित गरेर कार्यान्वयन गर्न खोजिएको मन्त्री रेग्मीको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई मुलुकको विकास र समृद्धिका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । ज्येष्ठ नागरिकका बारेमा अन्य देशमा राज्यले नै जिम्मेवारी लिएको तथ्य पेस गर्दै उहाँले सकारात्मक सोच राख्ने छोराछोरी पनि साथमा नहुन सक्ने अवस्था रहेकाले पनि समस्या बढेर गएको उल्लेख गर्नुभयो । ढल्कँदो उमेरमा ज्येष्ठ नागरिकलाई चाहिने स्याहारसुसार प्राप्त हुन नसकेको तथा सँगै रहेका सन्तानले पनि अपहेलना गरेको पाइएकाले सरकारले ‘केयर गिभर’को तालिम दिएर जनशक्तिको प्रबन्ध गर्ने व्यवस्था चालु आवको बजेटमा गरेको मन्त्री रेग्मीको भनाइ छ ।
काठमाण्डौँ: राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बबाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा उहाँले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भन्नुभयो । अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सुशासनका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउनुभएको थियो सदस्य उदयबहादुर बोहराले कृषि प्रधान देश नेपालले केही दशक अगाडि खाद्य वस्तु निर्यात गर्ने गरेकामा अहिले अधिकांश वस्तु आयात गर्नुपर्ने स्थिति दुःखद भएको भएको बताउनुभयो । सदस्य विमला राईले बजेट निर्माणका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । सदस्य महेश महराले अर्थतन्त्रमा सङ्कुचन आइरहेको बेला विशिष्ट व्यक्ति तथा उच्च तहका कर्मचारीहरुको सरकारी सुविधा कटौती गर्न माग गर्नुभयो । बैठकको शून्य समयमा सदस्य नरबहादुर विष्ट काठमाडौँ महानगरपालिकाको फुटपाथका व्यापारीलाई करको दायरामा ल्याएर व्यवसाय गर्न दिनुपर्ने विचार व्यक्त गर्नुभयो । बैठकको शून्य समयमा सदस्यहरु भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर लगायतले बेरुजुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
धनुषा: नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभयो । “अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो”, उहाँले भन्नुभयो, “ लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ ।” स्थानीय तहको निर्वाचनमा भएको कमी–कमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुहुँदै आपस–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने नेता पाण्डेले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा एमालेका सचिव तथा मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठले स्थनीय तहको निर्वाचनको समीक्षा गर्दै संघीय तथा प्रदेश निर्वाचनका लागि तयार रहन कार्यकर्तासंग आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य प्रभु साह र पुरुषोत्तम पौडेलले मधेस प्रदेशको शक्ति सन्तुलन र एमालेको भूमिका, आन्दोलनमा एमाले र प्रचार कामलगायतका विषयमा प्रशिक्षण दिनुभयो । एमाले मधेस प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम प्रदेशका आठवटै जिल्लाका अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेका छन् । प्रेस चौतारी गण्डकी प्रदेश समितिले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै महासचिव िपोखरेलले कालो धन राखेर छट्पटाएकाहरुले गभर्नर अधिकारीलाई हटाउ अनेक प्रपञ्च गरेको दाबी गरे । ‘कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेका गर्भनरलाई हटाउन अनेक प्रयास भइरहेको छ’ पोखरेलले भने ‘स्वार्थी समूहको योजना अधिकारी रहुञ्जेल सफल नहुने भएपछि उनलाई हटाउँन खोजिएको छ ।’ एमालेलाई 'एम अधिकारी को हुन् ?' भनेर सोधिएपछि पार्टीले विज्ञप्तीमार्फत स्पष्टरुमा व्यक्ति खुलाइसकेको भन्दै सोही भनाइ नै आधिकारिक भएको उनले प्रष्ट्याए । लुम्विनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालको अर्थतन्त्र सुधान गर्न खोज्दा गर्भनरमाथि चौतर्फी आक्रमण भएको धारण राखेका छन् । सोहीक्रममा उनले गठबन्धनकै कारण मुलुक संकटको भुँमरीमा फँस्दै गएको धारणा राखे ।
काठमाण्डौँ: नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद मोहन आचार्यले जनसरोकारका विषयलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाद्वारा स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न धुन्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहभागितामै आयोजनाहरू अगाडि बढाउन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “स्थानीय सरकारसँग जनताका धैरै अपेक्षा हुन्छन् । गाउँको विकासलाई केन्द्रविन्दुमा राखेर योजना बनाउनुपर्छ । ” कार्यक्रममा पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेशसभा सदस्यद्वय प्रभात तामाङ र प्रेम तामाङ, लामा कार्पु तामाङ र उपेन्द्र लम्सालसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा उपस्थित नेताहरुले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्ठन विस्तारलाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो ।
काठमाडौं: भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए । प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं: प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल १४८ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । भने प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। प्रतिनिधिसभाको एउटै पदमा भुसालले दोस्रोपटकको प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्। यसअघि भुसालले २०७४ साल चैत २ गते उपसभामुखको उम्मेद्वारमा दाबेदारि दिएका थिइन् । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवारसँग भुसाल पराजित भएकी थिइन्। वाम गठबन्धनबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्। तुम्बाहाम्फेले २०१ मत ल्याउँदा भुसालले ५८ मतमात्रै पाएकी थिइन्। यो बीचमा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बन्यो। साथै सभामुख कृष्णबहादुर महराले मुद्दा लागेर पदबाट राजीनामा दिए। एकै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने कानुन र सभामुख महरा पूर्वमाओवादीबाट भएकाले पूर्वमाओवादीबाट अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाम्फेलाई २०७६ साल माघ ६ गते राजीनामा गराइयो। तुम्बाहाम्फेको राजीनामापछि खाली भएको उपसभामुख पद नेकपाभित्रको किचलो, संसद विघटन, नयाँ सत्ता गठबन्धनको निर्माण, बजेट निर्माण र स्थानीय निर्वाचनले करिब तीन वर्षसम्म रिक्त रहिरह्यो। मंसिरमा संघीय निर्वाचन गर्ने तयारी रहेका बेला सत्ता गठबन्धनले अकस्मात उपसभामुख चयनको प्रक्रिया अगाडि बढायो। गठबन्धनभित्र आफ्नो भागमा परेपछि कांग्रेसले भुसाललाई नै फेरि उम्मेदवार बनायो। चार वर्षअघि वाम गठबन्धनका कारण १४३ मतान्तरले उपसभामुखमा असफल भुसाल अहिले सत्ता गठबन्धनको बलमा ५५ मतान्तरले विजयी भइन्। पाँचै वर्ष उपसभामुख बन्ने प्रयास असफल भए पनि भुसाललाई चार महिनाका लागि संसदले उपसभामुखको कुर्सीमा सदन चलाउन अनुमोदन गरेको छ।
काठमाण्डौँ: गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताउनुभएको हो । उहाँले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताउनुभयो । राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । यस्तै हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।