काठमाडौंः प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको हो। संघीय संसद् सचिवालयले विशेषकारण बैठक स्थगित भएको जनाएको छ । राष्ट्रपति निर्वाचन फागुन २५ मा र उपराष्ट्रपति निर्वाचन चैत्र ३ गतेका लागि तय भएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट सन्देशसहित प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची थियो। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक,२०७८ माथि विचार गरियोस्’भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)विधेयक,२०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ता प्रस्तुत गर्ने कार्यसूची थियो। ‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्ने कार्यसूची तय भएपनि आजको बैठक स्थगित भएको हो।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहनु भएको छ । मुख्यमन्त्रीले फागुन २१ गते विश्वासको मत लिनु हुने नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । ‘हाम्रो पार्टी नेतृत्वको सरकारले सम्भवतः फागुन २१ गते विश्वासको मत लिन्छ’, उहाँले भन्नुभयो । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठुलो पार्टीको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका उहाँले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । गठबन्धनको साथले मुख्यमन्त्रीले दुई तिहाइ बहुमत प्राप्त गर्न सक्नेमा आफूहरू विश्वस्त रहेको प्रदेश सभा सदस्य बमले बताउनुभयो । उहाँलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी पार्टी) र स्वतन्त्रको मत प्राप्त हुने बमको भनाइ छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ । मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्नुहुँदै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो । प्रधानमन्त्रीले सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ । आउने दिनमा यो क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुनेकुरा र सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने कुरा हो । यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेभन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’’ च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।
काठमाडौं: नेकपा एमालेका मन्त्रीले राजीनामा दिएसँगै थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मामा आएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी हुन्। सोमबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो। एमालेले अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएकोमा मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको थियो। उक्त मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्री प्रचण्डलाई आएको हो। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सरकारबाट बाहिरिने निर्णय गरेको थियो। राप्रपाले ऊर्जा, सहरी विकास र कानून मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता भइसकेका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ। लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको थियो। त्यसपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पनि मन्त्री फिर्ता बोलाएको थियो। रास्वपाले सरकारलाई दिएको समर्थन भने अझै कायमै राखेको छ। प्रधानमन्त्री प्रचण्डले गत माघ ३ गते मन्त्रिपरिषद विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका थिए। जनता समाजवादी पार्टीलाई दिन भन्दै उक्त मन्त्रालय खालि राखिए पनि जसपा सरकारमा सहभागी नै भएको थिएन। गत शुक्रबार राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई सहयोग गर्ने ८ दलबीच सहमति बनेको थियो। गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा राष्ट्रपति एमालेलाई दिने समझदारी बनेको थियो। तर प्रचण्ड उक्त सहमतिबाट पछि हटेको भन्दै आज एमालेले सरकार छाडेको हो। राष्ट्रपति चुनावका लागि बनेको गठबन्धनमा रहेका दलहरूलाई समेटेर अब प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना छ। गत पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएकामध्ये एमाले र राप्रपाले सरकार छाडेका छन्। अब एक महिनाभित्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। उनले विश्वासको मत लिएर वा नलिईकन नै सरकारमा कांग्रेसलगायत दललाई मन्त्री बनाउने सम्भावना पनि छ। प्रधानमन्त्रीको सचिवालयले भने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने बताएका छन्।
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गर्नुभएको पत्र सोमबार पठाउनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे । यही फागुन १३ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको थियो । यसैगरी, नेकपा (एमाले)का तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ ।
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही ढिला गरेर भए पनि चुनावमा व्यक्त भएको जनमतअनुसारको सरकार बन्न लागेकाले आशा जागेको बताएका छन् । उनले केन्द्र र सातै प्रदेशमा कांग्रेससहित आठ दलको गठबन्धनको सरकार बन्ने भन्दै अब छिटोभन्दा छिटो सरकारले केही गर्दै छ भनेर जनतामा भरोसा जगाउन सक्नुपर्ने बताए । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै महामन्त्री थापाले अब सबै दलहरू गठबन्धनमा भएको सहमतिअनुरुप इमानदार भएर अघि बढ्नुपर्ने बताए । ‘हामीले चुनावमा गर्न नमिल्ने गठबन्धन गर्यौँ, धेरैले असहमति पनि जनाउनुभयो । तैपनि कलममा भोट हाल्ने साथीहरूले रुखमा भोट हाल्नुभयो, रुखमा भोट हाल्नुपर्ने मैले कलममा पनि भोट हालेँ, फरक-फरक उद्देश्य भएका दलले गठबन्धन गरे पनि स्थायी सरकार दिन्छौँ, पाँच वर्षसम्म यो-यो काम गर्छौं भनेर जनताको बीचमा वाचा गर्यौँ,’ थापाले अघि भने, ‘त्यहीअनुसार चुनावमा जनमत व्यक्त भयो, तर पुस १० मा देशमा दुर्घटना भयो । हामीले चुनावमा गरेको वाचामा कायम रहेनौँ । अहिले ढिलो भए पनि हामी निर्वाचनका बेलाको गठबन्धनलाई एक ठाउँमा उभ्याउन सफल भएका छौँ ।’ उनले अबको गठबन्धन सरकारलाई काम गर्ने र जनताको अपेक्षाअनुसारको प्रतिफल दिनुको विकल्प नरहेको बताए । ‘जे भएको छ, त्यो हुनैपर्ने थियो । तर अब अगाडिको बाटोचाहिँ सजिलो छैन,’ उनले भने, ‘काम, काम र काम । र कामले परिणाम । अब हामीसँग ५/६ महिनामात्रै छ, त्यो अवधिमा हामीले जनतालाई हिजोभन्दा राम्रो गर्दै छौँ भनेर सन्देश दिन सकेनौँ भने फेरि अप्ठ्यारो आइहाल्छ । हामीले समय लगाएर भए पनि भरोसा गर्न सक्ने आधार दिनुपर्ने हुन्छ ।’ उनले सरकारले संख्यामा मात्रै बलियो भएर नहुने बताए । ‘अब संघमा र प्रदेशमा हाम्रो गठबन्धनको सरकार हुन्छ । स्थानीय तहमा हाम्रो सरकार छ,’ उनले भने, ‘तर यो हुनुको अर्थ तब हुन्छ, जब जनताले सरकार हुनुको अर्थ महसुस गर्न थाल्नेछन् । नभए हामीसँग संख्या त रहला, तर जनताको साथ रहँदैन । जनताको साथ नभएपछि फेरि प्रश्न गर्नेहरू नै माथि पर्नेछन् ।’
काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलि (बुधबार) देखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिनुभयो । उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको आयोगले जनाएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । ‘‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।,’’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘उक्त आचारसंहिता, २०७९ मिति २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।’’ आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली आज (मङ्गलबार) प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’ प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।
काठमाडौं: नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिनुभएको हो । आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।