जनकपुरधाम : बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका-२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाण्डौँ: अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुनसकेको जनाइएको छ । समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिनुभयो । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्गामा धान रोपाइँ भएको उहाँले बताउनुभयो । गत असारको दोस्रो सातायता वर्षा नहुँदा पनि वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसानहरूले धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार बारामा ६०, सिरहा र सर्लाहीमा ५५ , रौतटहमा ५० , महोत्तरीमा ४५ र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५०० हेक्टरमा, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ३८ हजार १०० हेक्टरमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७०० हेक्टरमा धान रोपाइँ हुन्छ । तर यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्ति र समयमा वर्षा हुनुको कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा अपेक्षाकृत धान रोपाइँ हुन नसकेको अधिकृत पालले जानकारी दिनुभयो । लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षमा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुदाँ रोपो सुक्न थोलेको छ । ‘‘पान्नी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ”, धनुषाधाम नगरपालिका–४ का किसान सुगम्बर यादवले भन्नुभयो, “वर्षा ठयाप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।” अब पनि केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुन्छ”, उहाँको चिन्ता छ । ठूलो मूल्य र परिश्रम गरेर रोपाइँ गरिएको धानबालीमा पानीकै अभावमा डढेलो लाग्दा आफूहरु चिन्तामा डुबेको किसानको भनाइ छ । सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएका कारण किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । “साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ, तर अहिले नदीमा पानी नै छैन”, उहाँले भन्नुभयो, “पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।” सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइ अभाव अर्कातिर आवश्यकतानुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुर आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा भोकमरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ । मधेसका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।
काठमाण्डौँ: मधेस प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन हस्तान्तरण गर्नुभयो । उक्त मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार महोत्तरीस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय, धनुषाधामस्थित इलाका प्रहरी कार्यालय, धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय, महोत्तरीको गौशालास्थित इलाका प्रहरी कार्यालय, बर्दिबासस्थित इलाका प्रहरी कार्यालय, सप्तरीको हनुमाननगरस्थित इलाका प्रहरी कार्यालय, बाराको सिमरास्थित इलाका प्रहरी कार्यालय र महोत्तरीको सम्सीस्थित प्रहरी चौकीलाई चारपाङ्ग्र्रे सवारी साधन हस्तान्तरण गरिएको हो । यसैगरी जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय, पथलैयास्थित प्रदेश प्रहरी ट्राफिक कार्यालय, महोत्तरी जिल्ला प्रहरी कार्यालय, बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय, सिरहाको गोलबजारस्थित इलाका प्रहरी कार्यालय, सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय, सप्तरीको कडरबोनास्थित इलाका प्रहरी कार्यालय, सप्तरीको कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयलगायत ३८ प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरिएको सचिव महतोले बताउनुभयो । यस्तै सुरक्षा निकायहरुलाई विपद्को समयमा सूचना दिन ब्यान्ड बाजासमेत हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । ती सामग्री हस्तान्तरण गर्दै मन्त्री साहले नागरिकको सुरक्षाका लागि दिनरात खटिरहने सुरक्षा निकायलाई साधन सम्पन्न बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । सुरक्षा निकायसँग स्रोत र साधन नहुँदा जनतामा शान्तिसुरक्षा प्रदान गर्न कठिनाइ भइरहेकाले प्रदेश सरकारले सवारी साधन उपलब्ध गराएको जानकारी दिँदै उहाँले आगामी दिनमा पनि सुरक्षा निकायलाई सवारी साधनहरु उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्ण, जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँ, बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरलगायतको उपस्थिति थियो ।
काठमाण्डौँ: मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिनुभयो । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उहाँले बताउनुभयो । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४५७ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गर्नुभएको थियो ।
काठमाण्डौँ : मधेस प्रदेश सरकारले प्रदेशका ४०० महिलालाई लोक सेवा परीक्षाको तयारी गराउन थालेका छन् । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालित लोकसेवा तयारी कक्षामा प्रदेश भरिमा खरिदार सुब्बाको गरी ४०० महिलाले तालिम लिइ रहेको कार्यक्रमका संयोजक प्रियंका यादवले जानकारी दिनुभयो । लोकसेवा कक्षामा प्रत्येक जिल्लामा २५ खरिदार र २५ सुब्बाको तयारी कक्षामा सहभागी भएका छन् । जेठ १९ गतेदेखि सुरु भएको लोकसेवा तयारी कक्षा सप्तरीको राठाजो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको विणाविद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलङ्गवा, रौतहटको गौरीशङ्कर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्या मावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्यामावि वीरगञ्जमा कक्षा सञ्चालन हुँदैछ । लोकसेवा तयारी कक्षाले लोकसेवाको परीक्षामा सहभागी हुने विद्यार्थीको मनोबल उच्च पार्नुका साथै परीक्षाको राम्रो तयारी गराउने विश्वास लिइएको छ । मधेस प्रदेश सरकारले प्रदेश लोक सेवामा ५० प्रतिशत महिलाकोे लागि गरेको आरक्षणमा योग्य महिला प्रवेश गराउन लोकसेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको छ । यसअघि सरकारले आव २०७५र७६ मा १००, आव २०७६र७७ मा ३५० महिलालाई लोकसेवाको तयारी कक्षा गराइ सकेका छन् ।
महोत्तरी : नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको पत्रकार कल्याण कोषलाई महोत्तरीको मटिहानी नगरपालिकाले रु एक लाख प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रबार महासङ्घ मधेस प्रदेश अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । महासङ्घ मधेस प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पुर्याउने उद्देश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा पनि सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम समेटेको छ ।